खेल


मुम्बईको वानखेडे स्टेडियममा २० वर्षपछि सोमपालको दोस्रो ‘इनिङ’

मुम्बईको वानखेडे स्टेडियममा २० वर्षपछि सोमपालको दोस्रो ‘इनिङ’

लक्ष्मी जि.सी
माघ १४, २०८२ बुधबार ११:३५, काठमाडौँ

असोज २९ गते विश्वकप छनोटअन्तर्गत सुपरसिक्सको दोस्रो खेलमा यूएईले सामोयामाथि ७७ रनको जित निकालेपछि नेपाल दुई खेलअगावै यही महिना भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगेको थियो।

त्यसपछि मंसिर ९ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले खेल तालिका सार्वजनिक गर्‍यो। जसले नेपालको सबै खेल मुम्बईमा हुने निश्चित हुँदा दंग परेका थिए नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी। 

उनी दंग पर्नाको कारण थियो– मुम्बई अनि वानखेडे स्टेडियम। ३३ हजार १ सय दर्शक क्षमताको स्टेडियमसँग सोमपालको वर्षौँको साइनो छ भने मुम्बईसँग उनको बाल्यकाल। सोमपाल भारतमै क्रिकेट सिकेर हुर्किएका नेपाली टोलीका भरपर्दा खेलाडी हुन्।

वानखेडेमा यही माघ २५ गते उनी २० वर्षपछि त्यही स्टेडियममा ब्याट र बलसँग उभिँदै छन्। यो त्यही मैदान हो जहाँ विश्वकपमा नेपालले खेल्ने समूह चरणका चारै खेल हुनेछन्। 

‘म पहिला पनि वानखेडे स्टेडियममा खेलेको थिएँ, सायद २० वर्ष पहिला हो’, बाल्यकाल सम्झिँदै उनले भने, ‘त्यो बेलामा म १२ वर्षको थिएँ। यू–१४ खेल्न गएको। अहिले फेरि त्यही मैदानमा विश्वकप खेल्न जाँदै छु, एकदम उत्साहित छु।’

तीन प्रशिक्षक, तीन विश्वकप 
नेपाली टोलीले समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्नलागेको हो। यसअघि पहिलो पटक सन् २०१४ र सन् २०२४ मा दोस्रोपटक खेलेको थियो।

तीनवटै विश्वकप खेल्ने पहिलो खेलाडी बन्दै गर्दा उनले फरक–फरक प्रशिक्षकसँग तीनवटा विश्वकप खेल्नेछन्।

सन् २०१४ मा पुबुदु दासानायकेको प्रशिक्षणमा बंगलादेशमा पहिलो पटक उनले विश्वकप खेलेका थिए। त्यसको एक दशकपछि सन् २०२४ मा मोन्टी देसाईको प्रशिक्षणमा वेष्ट इन्डिज र अमेरिकामा भएको विश्वकप खेले। अहिले २०२६ मा स्टुआर्ट लको प्रशिक्षणमा श्रीलंका र भारतमा हुने विश्वकप खेल्ने तयारीमा छन् सोमपाल। 

यो नेपाली टोलीले लगातार दोस्रो पटक विश्वकपमा सहभागिता जनाउन लागेको हो। पहिलो पटक विश्पकप खेल्ने समयका टोलीका धेरैजसो सदस्यहरु अहिले क्रिकेटवरिपरि नै छन् भने कति क्रिकेटबाट बाहिरिएका छन्। 

सन् २०१४ मा विश्वकप खेल्ने टोलीमा रहेका विकेटकिपर विनोद भण्डारी प्रारम्भिक चरणको प्रशिक्षणमा परे पनि अन्तिममा बाहिरिएका थिए। 

२०१४ को विश्वकपमा सोमपाल

त्यसपछि फर्केर हेर्नुपरेन
नेपालले पहिलो पटक विश्वकप खेल्दा सोमपाल भर्खरै टोलीमा परेका थिए। 

उनी राम्रोसँग नेपाली बोल्न पनि जान्दैनथे। विश्वकप खेल्ने टोलीमा परे पनि प्लेइङ ११ मा स्थान बनाउँछु भनेर सोमपाललाई विश्वास थिएन। प्लेइङ सेटमा नै पर्ने आशा नगरेका सोमपालले आफ्नो ठाउँ बनाएका थिए। 

ड्रेसिङ रुमबाट बाहिर आउँदा समर्थकले सोमपालको नाम गुन्जाएका थिए। ‘सोमपाल.. सोमपाल.. गुल्मी एक्सप्रेस...’ यो सुनेपछि सोमपाल दंग परेका थिए। 

‘मेरो नाम पनि थाहा रहेछ भन्ने लाग्यो’, उनी सम्झिन्छन्। दोस्रो ओभरमै विकेट हात पारेपछि सोमपालले कहिल्यै पछि फर्केर हेर्नुपरेन।
‘पहिलो विश्वकपका लागि म आफैँ तयार थिइनँ। कसरी खेलेँ, थाहा पनि छैन’, उनी भन्छन्। 

त्यो विश्वकप सम्झाउने यो जर्सी
तर अहिले परिस्थिति फेरिएको छ। उनी नेपाली टोलीको अनुभवी र सिनियर खेलाडी हुन्। तेस्रोपटक विश्वकप खेल्दा सोमपाल उत्साहित छन्। एकपछि अर्को विश्वकप खेल्न पाइरहँदा उत्साहित रहेको उनी सुनाउँछन्। 

विश्वकपअघि नेपालले खेल्ने जर्सी सार्वजनिक गर्दा पहिलो विश्वकपको याद आएको सोमपाल बताउँछन्। 

उनले भने, ‘२०२६ को विश्वकपको जर्सी हेर्दा मलाई २०१४ को याद आयो। त्यो बेलामा एकदम उत्त्साहित थिएँ। विश्वकपमा मेरो पहिलो खेल थियो। आज फेरि यो जर्सी लगाउँदा फरक महसुस भएको छ।’

विश्वकपअघि नेपाली टोलीले श्रीलंकामा अभ्यास गरेर भारत पुगेको छ। मुम्बईमा स्थानीय टोलीसँग तीन अभ्यास खेल खेलेर नेपाली टोली अफिसियल वार्मअप खेलका लागि चेन्नई पुग्नेछ। चेन्नईमा नेपाली टोलीले युएई र क्यानडासँग अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली फेरि मुम्बई फर्कनेछ, जहाँ नेपालले समूह सीका टोलीसँग विश्वकप खेल्नेछ। 

समूह चरणमा नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इंग्ल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेल माघ २९ गते इटालीसँग तथा तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। समूह चरणको अन्तिम खेलमा फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ।

‘उत्साहित छु’
यसअघि अमेरिकामा खेल हुँदा विविध कारणले परिवारलाई लैजान नपाएका सोमपालको परिवार यो पटक भारत पुग्दै छ।

परिवार र नेपालका साथी मात्रै होइन, भारतका साथीहरु समेत सोमपालको खेल हेर्न वानखेडे पुग्दै छन्। त्यसैले उनी अझ धेरै उत्साहित भएको बताउँछन् उनी। 

अन्तर्रिष्ट्रिय मञ्चमा नेपालले लगातार उच्च प्रदर्शन गर्नुको श्रेय टोलीको मिहिनेत र समर्थकको साथलाई दिने सोमपाल यसपटक निकै आशावादी छन्। 

‘देश बाहिर जहाँँ पनि प्रतियोगिता हुन्छ, हाम्रा समर्थकहरु पुग्नुहुन्छ, हामीलाई माया दिनुहुन्छ’, उनले भने, ‘यो पटक भारतमा छ, अझ धेरै नेपाली समर्थक पुग्नुहुन्छ। उहाँहरुको माया र समर्थनले गर्दा नै यहाँ आइपुगेको हो। त्यसैले यहाँ पनि समर्थकलाई भेट्न एकदमै उत्साहित छु।’ 

यो पनि–

विश्वकपमा सोमपाल : लगातार दोस्रोपटक खेल्ने एक्ला नेपाली खेलाडी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad