ग्लोबल


भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन

नेपालखबर
साउन १०, २०८३ आइतबार ५:३६, काठमाडौँ

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि ककरोच जनता पार्टी (सिजेपी) ले शनिबार आन्दोलनलाई फिर्ता लिएको छ।

सिजेपीले सरकारबाट अन्य माग पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिएको हो।

भारतको राजधानी दिल्लीस्थित संविधान क्लबमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले भने, ‘हामी सहमति भएका सर्तहरू समयसीमाभित्र कार्यान्वयन हुनेछन् भन्ने बुझाइका साथ सिजेपीले सद्‌भावनामा आन्दोलन फिर्ता लिन्छ।’

संविधान क्लबमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँगको तेस्रो चरणको वार्तापछि सीजेपीले भनेको छ, ‘केन्द्रीय सरकारले आत्महत्या गरेका निट परीक्षाका आकांक्षीहरूका परिवारलाई उपयुक्त क्षतिपूर्ति दिने सहमति जनाएको छ र भारतभरका प्रदर्शनकारीहरूविरुद्ध दर्ता भएका मुद्दा (एफआईआर) फिर्ता लिने आश्वासन दिएको छ।’

सीजेपीले सरकारसमक्ष पाँच बुँदे मागपत्र प्रस्तुत गरेको छ र चार हप्तापछि अर्को चरणको वार्ता गर्नेछ।

सीजेपीका अर्का प्रवक्ता आशुतोष राङ्काले भने, ‘हामीले नीट परीक्षामा पीडित परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति मागेका थियौँ। सरकारले यसमा सहमति जनाएको छ र भनेको छ कि नियम र विनियमअनुसार ती परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिइनेछ।’

उनले थपे, ‘यसबाहेक हामीले सरकारसमक्ष पाँच बुँदे मागपत्र पनि राखेका थियौँ, जसमा व्यापक शैक्षिक सुधार र परीक्षा सुधारको कुरा थियो। त्यो मागपत्रका बारेमा हामी करिब चार हप्तापछि फेरि सरकारसँग भेट्नेछौं ताकि व्यापक सुधारमा सँगै काम गर्न सकियोस्। यदि यी सबै माग सरकारलाई स्वीकार्य भएपछि हामी आन्दोलन पनि फिर्ता लिनेछौँ।’

‘हाम्रा सबै माग स्वीकारिएका छन्, त्यसैले हामी प्रदर्शनकारीहरूलाई तुरुन्तै आन्दोलन फिर्ता लिएर शान्तिपूर्वक घर फर्कने अनुरोध गर्दछौँ। हामी भविष्यको रणनीति वा अन्य मुद्दाहरूबारे जानकारी दिनेछौँ। तर हामी प्रदर्शनकारीहरूलाई आन्दोलनबाट तुरुन्तै फिर्ता हुन अनुरोध गर्दछौँ,’ उनले भने।

उनका अनुसार जुलाई २० मा जन्तर मन्तरमा भएको ‘चलो संसद्’ मार्चपछि भारतभर प्रदर्शनकारीहरूविरुद्ध धेरै ‘एफआईआर’ दर्ता भएका छन्। सीजेपीले एफआईआर फिर्ता लिने र भविष्यमा कुनै कानुनी कारबाही नहुने माग गरेको थियो। सरकारले यो माग स्वीकारेको छ।

दासले भने, ‘हाम्रो दोस्रो माग प्रदर्शनकारीहरूविरुद्ध दर्ता भएका सबै एफआईआर, केवल दिल्लीमा मात्र होइन, सबै भाजपा शासित र भाजपा गठबन्धन राज्यहरूमा पनि फिर्ता लिनुपर्छ। यो पनि हाम्रो दोस्रो माग थियो। सरकारले यो माग पनि स्वीकारेको छ। साथै, फिर्ता चाँडै गरिनेछ। सरकारले आश्वासन दिएको छ कि दर्ता भएका सबै एफआईआरका प्रतिलिपिहरू साझा गर्नेछ। हाम्रो पछिल्लो जानकारीअनुसार दिल्लीमा १५ देखि २० एफआईआर दर्ता भएका थिए र कुनै पनि हालतमा तीनदेखि चार दिनभित्र ती प्रतिलिपिहरू हामीले पाउनेछौँ। सरकारले ती मुद्दा फिर्ता चाँडै गर्ने पनि आश्वासन दिएको छ।’

शनिबारै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाएका छन्। 

धर्मेन्द्र प्रधान

देशका युवा ‘भ्रमको जालमा नफसून्’ भन्ने सुनिश्चित गर्न विद्यार्थीहरूको हितमा आफूले राजीनामा दिएको प्रधानले बताएका छन्। 

ककरोच जनता पार्टी (सीजेपी) को सुरुवात सामाजिक सञ्जालबाट भएको थियो।

भारतका नागरिक अभियन्ता सोनम वाङचुकसँगै विद्यार्थी तथा युवाको ठुलो जमातले राजधानीको जन्तर मन्तरमा आन्दोलनको नेतृत्व गर्दै प्रधानको राजीनामा मागेको थियो।

यो विवाद मे महिनामा ‘निट–यूजी’ को प्रश्नपत्र बाहिरिएपछि सुरु भएको थियो भने पुनः परीक्षा जुन २१ मा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad