अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया तत्काललाई रोक्न अदालतले आदेश दिएको छ।
निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै अमित खत्रीले दायर गरेको रिटका पक्षमा न्यायाधीश कृपासुर कार्कीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।
यस्तै अदालतले माघ ६ गते दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ। त्यो दिन दुवै पक्ष सहभागी भएपछि एन्फा निर्वाचनको प्रक्रिया अगाडि बढ्ने नबढ्ने टुंगो लाग्नेछ।
त्यो अवधिसम्म यसअघिको सूचना अनुसार उम्मेदवारी दर्ता फारम बुझ्ने लगायतका निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन अदालतले भनेको हो।
एन्फाले पुस २५ गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो। एन्फाको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी २०८३ को असार ५ गतेसम्म रहेको छ।
तर पुस १६ गते बसेको केन्द्रीय समितिको बैठकले बहुमतको आधारमा कार्यकाल बाँकी छँदै माघ २८ गते झापामा केन्द्रीय कार्यसमितिको मात्रै निर्वाचन गर्ने निर्णय र्गयो।
यही निर्णयका आधारमा एन्फाले जिल्लालाई प्रतिनिधि पठाउन पत्राचार गरिसकेको छ, सार्वजनिक सूचना निकालिसकेको छ र उम्मेदवारको मनोनयन फारमसमेत वितरण सुरु गरिसकेको छ।
यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तहगत निर्वाचन गराएर मात्र केन्द्रीय निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ।
Shares

प्रतिक्रिया