भिल्ला रियललाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको छ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित भिल्ला रियललाई २–० ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा बलियो पकड बनाएको हो।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ४ अंकको दुरी कायम गरेको हो।
१८ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ४२ अंक भएको रियल दोस्रो स्थानमा छ।
खेलको १२ औँ मिनेटमा राफिन्हाको पेनाल्टी गोलमा बार्साले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ३९ औँ मिनेटमा भिल्लारियल १० खेलाडीमा सिमित भयो। रेनाटो भेइजाले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि भिल्ला रियल १० खेलाडीमा समेटिएको थियो।
खेलको ६३ औँ मिनेटमा लामिन यामलको गोलमा बार्सिलोनाले अग्रता दोब्बर पार्यो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्साले जित हात पारेको हो।
गएराति भएको खेलमा एथलेटिको मड्रिडले जिरोनालाई ३–० गोलले पराजित गरेको छ। इल्चेले रायो भालेकानोलाई र रियल बेटिसले गेटाफेलाई समान ४–० को फराकिलो अन्तरले पाखा लगाए।
Shares

प्रतिक्रिया