एमाले नेता प्रदीप ज्ञवालीले महाधिवेशनमा पराजित ईश्वर पोखरेल समूहले फेरि पनि पार्टीमा पुरानो मुद्दा कायमै रहेको भनेर दिएको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् उनले महाधिवेशन सकिएलगत्तै ईश्वर पोखरेल समूहले गरेको छुट्टै भेला अपेक्षित नरहेको प्रतिक्रिया दिएका हुन्।
‘महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन वहस क्लबमा रूपान्तरित हुन्छ। यसो हुनुहुँदैन।’
‘एक वर्षअगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो– केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न,’ उनले अगाडि लेखेका छन्, ‘महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुन: अनुमोदित गरेको छ। अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिँदैन।’
उनले तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्याएको बताएका छन्। ‘तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ,’ ज्ञवालीले प्रश्न गरेका का छन्, ‘अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र?’
उनले पूर्व राष्ट्रपतिले ‘राजतन्त्र पुनर्स्थापना हुन सक्छ’ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको प्रतिक्रिया दिएका छन्।
‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो। आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला?’ ज्ञवालीले प्रश्न गरेका छन्।

Shares

प्रतिक्रिया