सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो खेल जितेको विराटनगर किंग्सका खेलाडी प्रतिश ‘ड्रेसिङ रुम’को माहोल पनि राम्रो हुने गरेको बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ। बलिङ राम्रो भएकाले आजको खेल जित्न सजिलो भएको उनले बताएका छन्।
खेलपछि कुराकानी गर्दै जिसीले भने, ‘हाइस्कोर होला भन्ने थियो। बलिङ राम्रो भएकाले कमै भयो, जित्न सजिलो भयो।’
केही क्याच नछुटेको भए अझ काठमाडौँको स्कोर कम हुने उनको भनाइ थियो। त्यसपछि ब्याटिङमा पनि माथिल्लो क्रमका ब्याटरले राम्रो गर्दा सजिलै जित हासिल गरेको उनले बताए। ‘हाम्रो टप अर्डर त भरपर्दो छ नि। सबै जनाले राम्रो खेलेका छन्। सुरुवातका तीनै जनाले राम्रो खेलेकाले पछिका सबैलाई सजिलो भयो,’ प्रतिशले भने।
आजको खेलमा बलिङ नै राम्रो भएको उनको ठम्याइँ छ। ‘आज बलिङ नै राम्रो हो। धेरै रन बनाउन दिएन। विकेट गइरहँदा उनीहरूमा प्रेसर भइरह्यो,’ उनले भने।
एनपीएलको सुरुवात नै भए पनि अहिले खेल जित्दा पछिका लागि राम्रो हुने उनको भनाइ थियो। ‘यो जितले पछि राम्रो गर्छ। मानसिक रुपमा पनि जित्नु र हार्नुमा फरक त हुन्छ। जित्दा खेरी ड्रेसिङ रुमको माहोल राम्रो भएर आउँछ।’
यो पनि पढ्नुहोस् : विराटनगर लगातार विजयी, काठमाडौँको दोस्रो हार
Shares

प्रतिक्रिया