रुस र युक्रेनबीच जारी युद्ध रोक्न अमेरिकाले अघि सारेको शान्ति योजनाका विषयमा युक्रेनका सहयोगीहरूले छलफल गर्ने भएका छन्।
दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलनमा उनीहरूले अमेरिकाले तयार पारेको शान्ति योजनाबारे छलफल गर्ने भएका हुन्।
बेलायतका प्रधानमन्त्री किअर स्टारमरले युक्रेनका सहयोगीहरूले युद्ध अन्त्य गर्ने अमेरिकाको प्रयासलाई बलियो बनाइने बताए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी योजना स्वीकार गर्नुपर्ने दबाबका कारण युक्रेनले आफ्नो इतिहासको सबैभन्दा कठिन क्षणको सामना गरिरहेको बताएका छन्।
शुक्रबार जेलेन्स्कीले किअर स्टारमर, फ्रान्स र जर्मनीका नेताहरूसँग फोनमा कुरा गरेका छन्।
सञ्चारमाध्यममा चुहावट भएको उक्त अमरिकी शान्ति योजनामा तिनै सर्त छन्, जुन युक्रेनले पहिल्यै अस्वीकार गरिसकेको छ।
त्यो २८-बुँदे योजनामा युक्रेन पूर्वी डोनेट्स्क क्षेत्रबाट पछि हट्नुपर्ने, आफ्ना सेना घटाउनुपर्ने र नेटोमा कहिले सामेल नहुने ग्यारेन्टी गर्नेजस्ता सर्त छन्।
सन् २०२२ मा पूर्ण रूपमा आक्रमण सुरु गरेको रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको छ।
Shares

प्रतिक्रिया