खेल


त्रिवि क्रिकेट रंगशालाको ढलान सकियो, प्यारापिट १० दिनमा तयार हुने

६ हजार कुर्सी जडान, बाँकी पनि आइसक्यो
त्रिवि क्रिकेट रंगशालाको ढलान सकियो, प्यारापिट १० दिनमा तयार हुने

लक्ष्मी जि.सी
साउन २२, २०८२ बिहिबार १८:२२, काठमाडौँ

काठमाडौँको कीर्तिपुरस्थित निमार्णाधीन त्रिवि क्रिकेट रंगशालाको प्यारापिटतर्फको काम १० दिनमा सकिने निर्माण कम्पनीले दाबी गरेको छ। 

प्यारापिट निमार्णको ठेक्का पाएको बीकेओआई-केसीडीसी-बीजी जेभीले बिहीबार (आज) बिहान मात्रै ढलानको सबै काम सकिएको जानकारी दिएको हो। 

'एउटा ब्लक बाँकी थियो, गएराति ८ बजेबाट सुरु गरेर बिहानसम्ममा ढलानको काम सकियो। अब मसिना कामहरू मात्र बाँकी छन्। १० हजार क्षमताको प्यारापिट हो। ६ हजार बढी कुर्सी फिट गरिसकेका छौँ। अरु पनि कुर्सीको कलर नमिलेर मात्र ढिलाइ भएको थियो, 'बीकेओआई-केसीडीगसी-बीजी जेभीका प्यारापिट निर्माण परियोजना निर्देशक भरत गिरीले भने, 'आज कुर्सी पनि सबै आइसक्यो। कलर मिलाएर बाँकी पनि फिट गर्न थाल्छौँ। रेलिङको काम पनि भइरहेको छ। अबको १० दिनमा काम सक्ने लक्ष्य हो।' 

प्यारापिटको इस्ट ब्लक अर्थात भीआईपीतर्फको ब्लकमा प्लास्टरको काम बाँकी छ। त्यो ४,५ दिनमा सकिने गिरीको भनाइ छ। प्यारापिट निमार्णका लागि बीकेओआई-केसीडीसी-बीजी जेभीले ४३ करोड ७७ लाख रूपैयाँमा ठेक्का पाएको थियो। 

फ्लड लाइड जडानको ठेक्का भने विशाण-ईश्वरी जोइन्ट भेन्चरले २७ करोड ४० लाख रूपैयाँमा पाएको छ। प्यारापिटको काम अन्तिम चरणमा पुग्दा फ्लड लाइटको काम भने सुस्त गतिमा छ। फ्लड लाइटको काम सम्पन्न गर्न अझै २ महिना समय आवश्यक पर्ने विशाण–ईश्वरी जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सौरभ शाहले जानकारी दिए। 

प्यारापिटपछाडि ६ वटा प्वाइन्ट राखेर फ्लड लाइटको काम भइरहेको छ। फ्लड लाइटका लागि ३ वटा पोलमात्र आएको छ। ३ वटा पोल आउन अझै बाँकी छ। 

गत साउन १२ गते शाहले नेपालखबरसँग कुरा गर्दै हप्ता १० दिनमा बाँकी पोलहरू ल्याइसक्ने बताएका थिए। तर ती पोल साउन २२ गते भइसक्दासमेत ल्याइएको छैन। ल्याइसकेका ३ वटा पोल ४५ फिटका छन्। अब ५५ फिटका ३ वटा पोल ल्याउन बाँकी छ। ल्याएका ३ वटा पोल पनि जडानको सुरसारै छैन।

२ वटा जेनेरेटर ल्याइसकिएको छ। तर, फ्लड लाइटका लागि महत्त्वपूर्ण ४२० वटा लाइट भने अझै ल्याइएको छैन। 

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीको पहिलो निर्णय नै ३०० दिनभित्रमा त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माण भन्ने थियो। 

तर, फागुन २० गते ९० दिनमा सक्ने गरी दुवै कामका लागि छुट्टाछुट्टै कम्पनीसँग सम्झौता भयो। त्यो अवधिमा काम सम्पन्न नभएपछि प्यारापिट र फ्लडलाइटका लागि वैशाख २४ गतेदेखि असार मसान्तसम्मको समय थप गरिएको थियो। यो अवधिमा दुवै कम्पनीले काम सकेनन्। 

निमार्ण कम्पनीले असार मसान्तसम्म पनि काम नसकेपछि अझै दुई महिना थप गर्न सरकारसँग माग गरेका थिए। तर, सरकारले म्याद थप नगरेर हर्जना लगाउने निर्णय गर्‍यो। योसँगै निर्माण कम्पनीले कुल सम्झौता रकमको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्ने गरी काम गरिरहेका छन्। यो भनेको करिब २ लाख रुपैयाँ दैनिक हर्जना हो। 

बीकेओआई-केसीडीसी-बीजी जेभीका प्यारापिट निर्माण परियोजना निर्देशक भरत गिरीले भने, 'हर्जनाको विषयमा सरकारले निर्णय गर्ला। हामीले सक्दो गर्दै आएका हौँ। नेपाल सरकारले लियो भने पनि यो काम गरेबापत यति जरिवाना लियो भनेर स्पष्ट भन्छौँ। नलिँदा पनि लिनु भएन भनेर भन्छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad