यही असार २१ गते मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीका खेलाडी सुशील रावलले आफूलाई स्वागत र सम्मान होइन, आर्थिक सहयोग गर्न अनुरोध गरेका छन्।
हाल काठमाडौँमा रहेका रावल आज दिउँसो गृहजिल्ला कञ्चनपुर फर्किंदै छन्।
त्यसअघि उनले सार्वजनिक रूपमा आफूलाई आर्थिक सहयोगको एकदमै जरुरी परेकाले सहायताका लागि अपिल गरेका हुन्।
‘म सुशील रावल। मलेसियामा भएको एसीसी यू-१६ इस्ट जोन कप उठाउन सफल खेलाडी। म आज घर फर्किंदै छु। दिउँसो २ बजे काठमाडौँदेखि धनगढीको टिकट छ’, उनले भनेका छन्, ‘बझाङबाट छनोट भएर खेले पनि दैनिकी बसाइ कञ्चनपुरको शुक्लाफाँटा-५ गर्जमुनीमा छ। अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाणपत्रभन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ।’
उनका अनुसार २/३ महिना यू-१९ नेसनल टिमका लागि छनोट हुँदै छ। त्यसका लागि तालिम गर्न उनी भारत जानुपर्ने भएको छ।
उनले अगाडि भनेका छन्, ‘करिब १ लाख खर्च लाग्ने छ। आर्थिक अवस्था कमजोर छ भनेर भन्दा मलाई गारो छैन। त्यही भएर मलाई सम्मानको खादा, माला र प्रमाणपत्रभन्दा आर्थिक कुरालाई महत्त्व दिनुहोला।’
यसको सुरुवात पनि भइसकेको उनले बताएका छन्।
उनको आग्रह छ, ‘सफल बनाउने पालो अब तपाईंकोहरूको। विशेष अनुरोध वा यसलाई जे भन्नुहुन्छ। साथ, सहयोग र मायाका लागि धेरैधेरै धन्यवाद छ।’

Shares

प्रतिक्रिया