खेल


प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन

नेपालखबर
असार २६, २०८२ बिहिबार १९:४४, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइ पर्फमेन्स सेन्टरको उद्घाटन गरेका छन्। 

दुवै संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा राखेपले निर्माण गरेको हो। बिहीबार उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले केन्द्र र सेन्टरमा रहेका उपकरणका बारेमा पनि जानकारी लिएका थिए।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले परिसर हातामै रहेको आउटडोर पौडी पोखरी र हिटिङ पौडीको पनि अवलोकन गरेका थिए।

राखेपले नेपाली खेलकुद इतिहासमा पहिलोपटक खेलाडीका लागि उच्चस्तरको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र निर्माण गरेको हो। सेन्टरको निर्माणले नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पुर्ति गर्ने छ।

सेन्टरमा १ सय जनाले एकै पटक अभ्यास गर्न सक्ने छन्। सेन्टरको क्षेत्रफल ७ हजार ५ सय ७८ वर्ग फिट रहेको छ। सेन्टरमा जिम हलको पनि सुविधा छ। त्यसको क्षेत्रफल ४ हजार ९६ वर्ग फिट छ।

जिमहलमा १० वटा बाथरुम, ३० जनाले एकै पटक प्रयोग गर्न सक्ने चेन्जिङ रुम, लकर रुम, कार्यालय कक्ष, भण्डार कोठा, सुविधा सम्पन्न शौचालय, थेरापी रुम, स्टिम रुम, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, सिटेड रो, पुलडाउन, स्क्वाट स्टेन्ड, फङसनल ट्रेनिङ सिस्टम, एङगल्ड लेग प्रेस, लेग एक्सटेन्सन, लेग कर्ल, स्मिथ मसिन, पावर स्टेन्ड, एड्जस्टेबल डिक्लाइन स्टेन्ड, फ्लेट स्टेन्ड, ओलम्पिक फ्लेट स्टेन्ड, डिप-चिन एसिस्ट, सिटेड काल्फ, वेट प्लेट ट्रि, टु टायर डम्बेल स्टेन्ड, बारबेल र्‍याक स्ट्रेट, ब्याक एक्सटेन्सन लगायतका उपकरणहरू रहेका छन्।

त्यस्तै अध्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसान्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उदेश्यसहित राखेपले अनुसन्धान केन्द्र स्थापना गरेको छ।

केन्द्रमा पोर्टेबल भीओ, टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, सर्फेस इएमजी, मोसन ट्रेकिङ, बीएफआर, एसभीटी (इन ह्यान्ड को–ओर्डिनेसन टेस्ट, साइकल इर्गोमिटर, बायो मेकानिक्स फुल सिस्टम विथ सफ्टवेयर, टाइमिङ गेट, इसोकाइनेटेक, डुएल प्लेट र इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटरलगायतका उपकरण राखिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित श्रोत र साधानका बावजुद खेलाडीले प्रगति गर्नुका साथै देशको गौरव कायम गरेको बताउँदै सेन्टरले खेलाडीको खेल गुणस्तरमा परिवर्तन ल्याउने धारणा व्यक्त गरे। उनले सेन्टरको सक्दो सदुपयोग गर्न सुझाउँदै सेन्टरको प्रयोगले खेल र खेलाडी व्यवसायिक हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा २५ देखि ५० हजार दर्शक अट्ने रंगशाला बनाउने योजना रहेको बताउँदै कीर्तिपुर रंगशालाको क्षमता पनि दोश्रो चरणमा विस्तार गरिने बताए।

प्रधानमन्त्री ओलीले राखेप जुन ‘टिम स्पिरिट’ का साथ खेलकुदलाई अगाडि बढाइरहेको छ त्यसलाई अगामी दिनमा ‘टिम स्पिरिट’ लाई अगाडि बढाउन बताउदै राखेपकालाई बधाइ दिए। उनले मिसन– २०२६ को तयारीलाई भव्यताका साथ अगाडि बढाउन बताउदै खेलाडीहरूले जित्ने आत्मविश्वासका साथ अगाडि बढनु पर्ने बताए।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सेन्टर र केन्द्रबाट खेलाडीले थप लाभ लिने विश्वास व्यक्त गर्दै खेलाडीको क्षमता मापन गर्न पनि सहज हुने बताए। उनले यस्तो संरचनाको सातै प्रदेशमा आवश्यक रहेको बताए।

राखेपका उपाध्यक्ष ध्रुव आचार्यले खेलाडी देश बनाउने आधारभूत श्रोत र शक्ति भएको बताउदै खेलकुद दक्ष र स्वस्थ नागरिक निर्माण गर्ने महत्वपूर्ण माध्यममध्येको एक भएको बताए।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद खेलकुद विज्ञानको नयाँ युगमा प्रवेश गरेको बताउँदै खेलाडीको उच्च प्रदर्शनका लागि सेन्टर स्थापना गरिएको बताए। उनले खेल क्षेत्र उद्योग हो भन्ने विश्वासका साथ अगाडि बढेको बताउँदै राष्ट्रलाई खुशी र एकता बनाउने माध्यम खेलकुद पनि भएको धारणा व्यक्त गरे।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, राखेपका कार्यकारी समितिका सदस्य, राखेप बोर्ड सदस्य, राष्ट्रिय खेल संघका पदाधिकारी, ओलम्पियन, मिसन– २०२६ तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad