एएफसी एसियन कप छनोटअन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल र उज्बेकिस्तानबीचको खेलको निर्णय टाइब्रेकरबाट हुने भएको छ।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो। निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट हुने भएको हो।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो।
खेलको ७१ औँ मिनेटमा कप्तान सावित्रा भण्डारी साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्।
त्यसको दुई मिनेटमा नै गीता रानाले गोल गर्दा नेपाल ३–३ को स्थितिमा आएको थियो।
त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११ औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो।
खेलको ११ औँ मिनेटमा उज्बेकिस्तानले नेपालको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो। उज्बेकिस्तानकी कप्तानको प्रहार नेपालकी गोलरक्षक अञ्जनालाई बिट गर्दै अघि बढेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लाग्दै गोलमा परिणत भयो।
खेलको १६ औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाको पासमा रश्मी कुमारी घिसिङको प्रहार सिधै उज्बेकिस्तानकी गोलरक्षकको हातमा पुग्यो।
सुरुवात देखि नै दबाबमा परेको नेपालका लागि खेलको २४ औँ मिनेटमा साम्बाको गोलमा नेपाल २–१ को अवस्थामा आयो। उज्बेकिस्तानका डिफेन्डरलाई छक्याउँदै डिबक्स बाहिरबाट साम्बाले गरेको सशक्त प्रहारले सिधै पोष्टको जाली चुम्यो।
खेलको ३८ औँ मिनेटमा उज्बेकिस्तानले पेनाल्टी गोलमा नेपालविरुद्ध अग्रता फराकिलो पारेको छ। डिबक्सभित्र नेपालकी डिफेन्डर सरस्वती हमालको ह्याण्ड भएपछि उज्बेकिस्तानले पेनाल्टी मौका पाएको थियो।
पहिलो हाफको इन्ज्युरी समयमा साम्बाको फ्रिकिक प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो।
पहिलो हाफको इन्ज्युरी समयमा उज्बेकिस्तान १० खेलाडीमा सीमित हुन पुग्यो। उज्बेकिस्तानकी इग्रासेभाले साम्बामाथि खराब ट्याकल गरेपछि रेफ्रिले रातो कार्ड देखाएपछि उज्बेकिस्तान १० खेलाडीमा सीमित बनेको थियो।
(*७३औँ मिनेटको गोलकर्ता संशोधन गरिएको- सं.)
Shares

प्रतिक्रिया