खेल


महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल, टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित*

महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल, टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित*

लक्ष्मी जि.सी
असार २१, २०८२ शनिबार २३:३६, काठमाडौँ

टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट चरणबाटै बाहिरिएको छ। 

निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नेपाल उज्बेकिस्तानसँग ४–२ ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो।

नेपालका लागि गीता राना, सविता रानामगरको प्रहार सफल भए पनि कप्तान सावित्रा भण्डारी साम्बा र गोलरक्षक अञ्जना राना मगरले गोल गर्न सकेनन्। त्योसँगै नेपालविरुद्ध जित हात पारेको उज्बेकिस्तान सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट भएको छ।  

पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो। निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो। 

खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्। त्यसको दुई मिनेटमा नै गीता रानाले गोल गर्दा नेपाल ३–३ को स्थितिमा आएको थियो।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो। उज्बेकिस्तानले नेपालको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो।

उज्बेकिस्तानकी कप्तानको प्रहार नेपालकी गोलरक्षक अञ्जनालाई बिट गर्दै अघि बढेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लाग्दै गोलमा परिणत भएको थियो। 

खेलको १६औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाको पासमा रश्मी कुमारी घिसिङको प्रहार सिधै उज्बेकिस्तानकी गोलरक्षकको हातमा पुग्यो। 

सुरुवातदेखि नै दबाबमा परेको नेपालका लागि खेलको २४औँ मिनेटमा साम्बाले गोल गरिन्। उज्बेकिस्तानका डिफेन्डरलाई छक्याउँदै डिबक्स बाहिरबाट साम्बाले गरेको सशक्त प्रहारले सिधै पोष्टको जाली चुमेको थियो। 

खेलको ३८औँ मिनेटमा उज्बेकिस्तानले पेनाल्टी गोलमा नेपालविरुद्ध अग्रता फराकिलो पारेको थियो।

डिबक्सभित्र नेपालकी डिफेन्डर सरस्वती हमालको ह्यान्ड भएपछि उज्बेकिस्तानले पेनाल्टी मौका पाएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयमा उज्बेकिस्तानकी इग्रासेभाले साम्बामाथि खराब ट्याकल गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाएका थिए।रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिँदा उज्बेकिस्तान १० खेलाडीमा सीमित बनेको थियो।

यसमा फ्रिकिक पाएको नेपालका लागि साम्बाको प्रहार सिधै गोलरक्षकको हातमा पुगेको थियो।

(*७३औँ मिनेटको गोलकर्ता संशोधन गरिएको - सं.)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad