म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड झण्डै ७ हप्ता मैदानबाहिर रहने भएका छन्।
आइतबार एफए कपको क्वार्टरफाइनलमा कुर्कुच्चामा चोट लागेपछि हालान्ड ७ हप्ता मैदानबाहिर रहने क्लबका प्रशिक्षक पेप ग्वार्डिवालाले बताए।
वर्नमाउथविरुद्धको खेलमा चोट लागेपछि हालान्डले ६१ औँ मिनेटमा मैदान छाडेका थिए। हालान्डको स्थान लिँदै ओमार मार्मोस मैदान छिरेका थिए।
पहिलो हाफको २१ औँ मिनेटमा पछि परेको सिटीका लागि हालान्डले ४९ औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको ६३ औँ मिनेटमा ओमारकै गोलमा सिटीले जित निकाल्यो र सेमिफाइनलमा स्थान बनायो।
सामाजिक सञ्जालमा देखिएको भिडिओमा हालान्ड दाहिने खुट्टाको कुर्कुच्चाको सुरक्षाका लागि प्रोटेक्टिभ बुट लगाएका थिए।
प्रशिक्षक ग्वार्डिवालाले भने, ‘हालान्ड अबको पाँचदेखि सात साता मैदानबाहिर रहनेछन्। हामीलाई विश्वास छ, उनी सिजनको अन्त्यसम्म र क्लब वर्ल्डकपका लागि तयार हुनेछन्।’
हालान्ड पाँच साता मैदानबाहिर रहँदा ६ खेल गुमाउनेछन्। जसमध्ये उनीले आगामी अप्रिल २६ मा नटिङ्घम फरेस्टविरुद्ध हुने एफए कपको सेमिफाइनलमा समेत मैदान बाहिर रहनेछन्।
१० मेमा साउथहेप्टनविरुद्ध हुने प्रिमियर लिगमा टोलीमा फर्कन सक्नेछन्।
यदि उनी सात साता मैदानहिर रहे एफए कपको फाइनल समेत गुमाउने सम्भावना छ। त्यसका लागि सिटीले फरेस्टलाई हराएर फाइनलमा स्थान बनाउनुपर्नेछ।
हालान्ड भने छिटै मैदान फर्कन चाहन्छन्। आगामी जुन-जुलाईमा हुने क्लब वर्ल्डकपअघि लिगको अन्तिम खेलमा टोलीमा समावेश हुने लक्ष्य हालान्डको छ।
Shares

प्रतिक्रिया