कारोबार


वाराणसीबाटै अन्तर्राष्ट्रिय ‘चेक–इन’ र अध्यागमन जाँच: बुद्ध एयरलाई के हुन्छ फाइदा?

वाराणसीबाटै अन्तर्राष्ट्रिय ‘चेक–इन’ र अध्यागमन जाँच: बुद्ध एयरलाई के हुन्छ फाइदा?

नेपालखबर
जेठ २७, २०८३ बुधबार १०:४४, काठमाडौँ

भारतको राष्ट्रिय ध्वजाबहाक वायुसेवा कम्पनी एयर इन्डियाले ‘इजी कनेक्ट’ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवाबाट अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुले अन्तिम गन्तव्यसम्मकै लागि वाराणसीको लालबाबु शास्त्री विमानस्थलबाट चेक–इन र अध्यागमनका सम्पूर्ण प्रक्रिया पूरा गर्न पाउनेछन्।

‘चेक इन’ भएका यात्रुले नयाँ दिल्लीको इन्दिरागान्धी वा अरु कुनै ट्रान्जिट विमानस्थलमा गएर अध्यागमन प्रक्रिया सुरु गर्नुपर्ने छैन। यसले दिल्लीमा कनेक्टिङ फ्लाइट समात्नुपर्ने यात्रुले फेरि ब्यागेज संकलन गर्नुपर्ने वा अध्यागमन प्रक्रियामा लाइन लाग्नुपर्ने झन्झट हट्नेछ।

‘इजी कनेक्ट’ कार्यक्रम मोदी सरकारको ‘हब एन्ड स्पोक्स’ उड्डयन रणनीतिको एक हिस्सा हो। 

उत्तर प्रदेशको धार्मिक सहरबाट यो सेवा जुन २५ देखि सुरु हुँदैछ। वाराणसी इजी कनेक्ट सञ्चालनमा आउन लागेको पहिलो भारतीय सहर हो। यसका लागि एयर इन्डियाले टिकट बिक्री खुला गरिसकेको छ।

कम्पनीका अनुसार यो सेवाबाट तत्कालका लागि यात्रुले लन्डन, फ्र्याङ्कफर्ट, मिलान, रोम, जुरिच, मनिला, सिंगापुर, फुकेट, क्वालालम्पुर, रियाद र दुबई लगायत १७ अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्न सक्नेछन्।

बुद्ध एयरलाई हुन सक्छ फाइदा

चरणबद्ध रुपमा अरु सहरमा सेवा विस्तार गर्ने एयर इन्डियाले जनाएको छ।

नेपालको बुद्ध एयरले काठमाडौं–वाराणसीको रूटमा सातामा तीन वटा उडान गर्दै आएको छ। भारतीय उड्डयन सेवामा भएको यो परिवर्तनबाट नेपालको प्रतिष्ठित वायुसेवा कम्पनीको व्यापार बढ्न पनि सक्ने देखिन्छ।

काठमाडौं–नयाँ दिल्लीभन्दा काठमाडौं–वाराणसीको टिकट मूल्य सस्तो भए दिल्ली हुँदै अन्तर्राष्ट्रिय उडानमा जाने भारतीय नागरिक वाराणसीतर्फ सोझिन सक्छन्। 

बुद्ध एयरले एटीआरको ७२ सिटे जहाजबाट यो उडान गर्छ। उडान समय बढीमा ५० मिनेट छ। काठमाडौंबाट नयाँ दिल्ली पुग्न एयर इन्डियाका एयरबस जहाजलाई कम्तिमा एक घण्टा २५ मिनेट लाग्छ।

१५ जुन सोमबारका लागि बुद्ध एयरको काठमाडौं—वाराणसी उडान छ। बुद्धको आधिकारिक एपअनुसार त्यो दिनको एकतर्फी टिकट मूल्य १४ हजार ९८२ नेपाली रुपैयाँ छ। भारतमा लोकप्रिय अनलाइन ट्राभल बुकिङ प्लाटफर्म मेकमाईट्रीपका अनुसार सही दिन काठमाडौ–नयाँ दिल्ली रुटमा सबैभन्दा सस्तो टिकटको मूल्य १८ हजार ४ सय ६१ रुपैयाँ छ। 

यसअनुसार टिकट मूल्य फरक पर्दा बुद्ध एयरले व्यापार अहिलेभन्दा बढ्न पनि सक्ने देखिन्छ। वाराणसीमार्फत् अन्तर्राष्ट्रिय यात्रामा जान चाहने नेपाली नागरिकलाई भने नयाँ दिल्लीस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन लेटर’ आवश्यक पर्नेछ।

एयर इन्डियाको प्रेस रिलिज:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad