जोस इङ्लिसको सतकमा अस्ट्रेलियाले आईसीसी च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ।
शनिबार राति सम्पन्न खेलमा इङल्यान्डलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले समूह बी मा विजय सुरुवात गरेको हो।
इङ्ल्यान्डले दिएको ३ सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।
अस्ट्रेलियाको जितमा जोसले १ सय २० रनको अविजित पारी खेले। करियरको पहिलो शतक पूरा गरेका जोसले ८६ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। एलेक्स क्यारीले ६९ र म्याथु सर्टले ६३ रन थपे।
त्यसअघि पाकिस्तानको लाहोरस्थ्ति गद्दाफी स्टेडियममा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५१ रनको योगफल तयार पारेको थियो।
इङ्ल्यान्डका वेन डुकेटले १ सय ६५ रनको महत्वपूर्ण योगदान गरेपनि टोलीको हार टार्न सकेनन्। च्याम्पियन्स ट्रफीमा उनले बनाएको यो अहिलेसम्म कै सर्वाधिक व्यक्तीगत स्कोर हो।
यो सँगै उनी च्याम्पियन्स ट्रफीमा सर्वाधिक व्यक्तिगत रन बनाउने पहिलो खेलाडीसमेत बने। उनले १ सय ४३ बलमा १७ चौका र ३ छक्का हान्दै १ सय ६५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। जो रुटले ६८ रन बनाए।
च्याम्पियन्स ट्रफीमा आज चिर प्रतिद्धन्दी भारत र पाकिस्तान भिड्दैछन्। यूएईमा हुने सो खेल दिउँसो पौने तीन बजेदेखि सुरु हुनेछ।
च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान जान नमानेपछि उसले खेल्ने सबै खेल युएईमा हुनेछ। जसका लागि पाकिस्तान युएई पुगेको हो।
Shares

प्रतिक्रिया