खेल


फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सदभाव, प्रकृत, सिद्धान्त र अभानी छनोट

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सदभाव, प्रकृत, सिद्धान्त र अभानी छनोट

नेपालखबर
फागुन १, २०८१ बिहिबार १७:५७, काठमाडौँ

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको समग्र र पुरुष १७-२१ वर्ष उमेर समूहको उपाधि नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले जितेका छन्।

उपाधि विजेता सदभाव प्रतियोगिता अगाडि नै भियतनामको ला-लगुना मा आयोजना हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्वत: छनोट भैसकेका थिए। गत नोभेम्बरमा यूएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको उपाधि जितेका कारण उनी सिधै छनोट भएका हुन्।

१७-२१ वर्ष उमेर समूहमा दोस्रो भएका प्रकृत तामाङ पनि छनोट हुन सफल भए। ब्वाइज १२-१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा र महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राई आ-आफ्नो उमेर समुहको विजेता बन्दै एसिया ग्रान्ड फाइनलमा स्थान बनाउन सफल रहे‌।

पुरुष १७-२१ वर्ष उमेर समूहमा स्वर्ण विजेता सदभावले आज रोयल नेपाल गल्फ क्लबमा २-अन्डर ६६ स्कोर जोड्दै समग्रमा २-अन्डर २०२ को नतिजा निकाले। उनले प्रकृत तामाङलाई २१ स्ट्रोकले माथ दिए।

सदभावले चौथो र आठौं होलमा बर्डी प्रहार गर्दा तेस्रो र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १०औं र १७औं होलको बर्डीको सहयोगले ब्याक नाइन २-अन्डर ३२ मा सकाए।

प्रकृत आज १०-ओभर ७८ को स्कोरमा समग्रमा १९-ओभर २२३ सहित दोस्रो भए। यो सँगै उनी छनोट हुन सफल रहे।  उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ६-ओभर ४० मा पुरा गरे। स्वप्निल भट्टराईले तेस्रो स्थान प्राप्त गरे। उनले आज ११-ओभर ७९ स्कोर जोडे। समग्रमा भने २५-ओभर २२९ को प्रदर्शन गरे।

पुरुष १२-१६ वर्ष उमेर समूहतर्फ सिद्धान्त सापकोटाले स्वर्ण जिते। आज ५-ओभर ७३ को स्कोर कार्ड बनाएका उनले समग्रमा भने ३५-ओभर २३९ को स्कोरमा सोहम अग्रवाल र इधान्त सिंह साउदलाई १० स्ट्रोकले हराए। इधान्तलाई काउन्ट ब्याकमा हराएका सोहमले कुल २४९ स्कोर गरे। आज उनले ७-ओभर ७५ को स्कोर निकाले। सोहमले जतिकै २४९ स्कोर गरेका इधान्तले आज १४-ओभर ८२ को खराब प्रदर्शन गरे।

गल्स १२-२१ वर्ष उमेर समूहमा अभानी राई पहिलो भइन्। आज १३-ओभर ८१ सहित समग्रमा २५४ स्कोर गरेकी उनले अनभद्धया मल्ललाई २८ स्ट्रोकको फराकिलो अन्तरमा हराइन्। दोस्रो भएकी अनभद्धयाले कुल २८२ स्कोर गरिन्।

प्रतियोगिता अन्तर्गत जुनियर ब्वाइजतर्फको नौ होलको प्रतियोगितामा आर्यभ शाह पहिलो, देव जलान दोस्रो र सम्योग खनाल तेस्रो भए। गल्सतर्फ रिजु राई, आद्रीती थापा र श्रीषा कडाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।

तीन दिने प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरहरूको सहभागीता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad