प्रेस काउन्सिल नेपालले पत्रकारलाई पनि वरिष्ठ उपाधि दिने भएको छ।
काउन्सिलले यसबारे कार्यदल गठन गरी प्रतिवेदन पनि तयार पारिसकेको छ।
काउन्सिलका सदस्य हरिप्रसाद जोशीको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले अध्ययन प्रतिवेदन दिइसकेको र अब सबै सरोकारवाला पक्षसँग छलफल गरी वरिष्ठ पत्रकारको उपाधिका लागि मापदण्ड तय गरिने अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए।
‘हामीले प्रारम्भिक छलफल सुरु गरेका छौँ। सबै पक्षको राय–सुझाव लिएर मापदण्ड र कार्यविधि बनाउँछौँ,’ काउन्सिलका अध्यक्ष बस्नेतले भने, ‘आज पनि हामीले छलफल गरेका छौँ।’
सर्वोच्च अदालतले कानुन व्यवसायीहरूको अनुभव, निष्ठा र निरन्तरतालाई आधार मानी वरिष्ठ अधिवक्ताको उपाधि दिने गरेको छ। तर, कानुन व्यवसायीको प्रमाणपत्र दिने, अभिलेख राख्ने, पेसागत आचरणको अनुगमन र नियमन गर्ने काम भने कानुन व्यवसायी परिषद्बाट हुन्छ।
पत्रकारहरूको पेसागत आचरणको अनुगमन प्रेस काउन्सिलले गर्ने भए पनि अभिलेख राख्ने र प्रेस प्रतिनिधि प्रमाणत्रपत्र जारी गर्ने काम सञ्चार मन्त्रालयमातहतको सूचना तथा प्रसारण विभागले गर्छ।
Shares

प्रतिक्रिया