भलिबल खेलाडी हरि पाण्डेले आइतबार सन्न्यासको घोषणा गरेका छन्। पाचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा अन्तिम खेल खेलेका पाण्डेले सन्न्यासको घोषणा गरेका हुन्। उनको बिदाइ खेल भने सम्भझना लायक रहेन। उनको टिम नेपाल पुलस क्लबसँग ३-१ को सेटमा पराजित भयो।
पाण्डेले आगामी दिनमा पनि भलिबल क्षेत्रमै क्रियाशील रहने बताए। गण्डकी प्रदेशको भलिबल विकासमा आफ्नो आगामी समय खर्च गर्ने उनको योजना छ।
'म भलिबलमै लाग्छु गण्डकी प्रदेशका लागि। भलिबलमा लागेका खेलाडीलाई अहिले केही छैन। प्रदेश भलिबलको कुनै न कुनै नेतृत्वमा आउने चाह छ हेरौँ के हुन्छ' उनले भने,' आज मैले केही नपाए पनि भोलि भाइहरूलाई केही होस् भन्ने लागेको छ।'
उनले आफ्नो खेल जीवनबाट सन्तुष्ट रहेको पनि सुनाए।
उनले भने, 'मेरो खेल जीवनमा धेरै माया पाएँ, सन्तुष्ट भएँ। आठ वर्षको समयमा प्रदेशको सबै खेल खेलेँ। गुमाइनँ।'
गण्डकीको भलिबल माहोललाई कसरी सम्झना गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा पाण्डेले अहिले जस्तै माया सधैँ गरिराख्न आग्रह गरे।
'हामीले ट्राइगर कप हुँदै अरु प्रतियोगिता जित्दै आएपछि धेरै माया पाउन थाल्यौँ। अझै माया गरिदिनुहोला देशविदेशबाट पनि यसरी नै मायाँ गरिराख्नुहोला' उनले भने।
'भविष्य बनाउनका लागि खेलाडी विदेशीय। एक दुई खेल राम्रो हुँदा हाइहाइ हुन्छ खेल केही कमजोर भए केही पाउँदैनन्,' उनले भने, 'प्रदेश सरकारले माथिबाट बजेट आएको छैन भन्छ। भलिबल क्षेत्रमा गण्डकी ब्रान्ड भइसकेको छ। हाम्रा खेलाडीलाई रोक्न नसक्दा विदेशी खेलाडीलाई बोलाउनु परेको छ। राम्रो गर्यो भने गण्डकी बगिरहन्छ नि।'
उनले अहिलेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नाम लिएर पटकपटक आश्वासन पाए पनि खेलाडीको लागि केही नगरेको गुनासो गरे। त्यस्तै उनले हलमा अभ्यास गर्न नपाउँदा पनि गण्डकीका खेलाडीले धेरै खेलमा पराजित भोग्नु परेको बताए।
'इन्डोरमा खेल्न पायौँ भने हामीलाई जुनै तहको खेलमा पनि सहज हुन्छ। हल छ अब विस्तारै यसको प्रयोग होला' उनले भने। पाण्डेले आफ्नो सन्न्यासको निर्णयमा आफू खुसी रहेको पनि बताए।
Shares

प्रतिक्रिया