रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित चार गोल गरेपछि एपीएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा वालिङ नगरपालिकामाथि सानदार जित दर्ता गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फ कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा एपीएफले वालिङमाथि ९–० को फराकिलो जित दर्ता गरेको हो।
एपीएफको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन्। गीता रानाले दुई, सरु लिम्बु र अनिता केसीले समान एक गोल गरे। एक गोल भने उपहार स्वरुप पायो।
खेलको पहिलो हाफमा नै सात गोल गरेको एपीएफले दोस्रो हाफमा २ गोल मात्र थप्यो।
लिगमा एपीएफले लगातार दोस्रो जित निकालेको हो। वालिङको भने लगातार दोस्रो हार हो।
लिगको पहिलो खेलमा एपीएफले बागमती युथ क्लबलाई ५–१ ले हराएको थियो। वालिङले भने पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ५–० को फराकिलो हार व्यहोरेको थियो।
लिगमा मगंलबार नेपाल पुलिस क्लब र बागमती युथ क्लब भिड्नेछन्। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ।
Shares

प्रतिक्रिया