सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाका हकमा उच्च अदालत, पाटनले गरेको आदेशबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको निवेदनमा प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।
उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, थापाको निवेदनमाथिको सुनुवाइपछि थप कागजात मगाउने आदेश गरिएको जानकारी दिए।
यस प्रकरणको अनुसन्धानका क्रममा फरार रहेका थापालाई गत असार १४ गते प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला अदालत, काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उच्च अदालतले पनि जिल्लाकै आदेशलाई सदर गरेपछि तारेखमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
यस प्रकरणका मुख्य अभियुक्तमध्येका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा छाडिसकेको छ। उच्च अदालतको त्यस आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन नै दिएन।
Shares

प्रतिक्रिया