खेल


एनपीएल टिम प्रिभ्यु : कति बलियो छ शिखर धवन सम्मिलित कर्णाली याक्स?

मल्लको प्रशिक्षण, धवन मुख्य आकर्षण
एनपीएल टिम प्रिभ्यु : कति बलियो छ शिखर धवन सम्मिलित कर्णाली याक्स?

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १४:४०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारदेखि सुरु भइसकेको छ। लिगमा ८ फ्रेन्चाइज टोली छन्। 

तिनैमध्येको एक हो कर्णाली याक्स। जनकपुर बोल्ट्सविरुद्ध खेल्दै कर्णाली याक्सले सोमबार दिउँसो १ बजे नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवात गर्दै छ। 

विश्व क्रिकेटका चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेपछि कर्णालीको चर्चा चुलिएको छ। धवन एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम पनि हो। 

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले अक्सनमा सबैभन्दा कम रकम खर्च गरेको थियो। तर विदेशी खेलाडी भित्र्याउन भने कर्णालीले कुनै कन्जुस गरेन। चर्चित खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ।

कर्णालीले अक्सनमा १ करोड ११ लाख रुपैयाँ मात्र खर्च गरेको थियो। कर्णाली याक्सको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग छ। 

कर्णालीलाई एनपीएलको उपाधि दाबेदार टोलीको रुपमा हेरिएको छ। राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको कर्णालीले उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।

सोमपालसँगै कर्णालीमा राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्सन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन्। 

उनीहरुसँगै कर्णालीमा दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि रहेका छन्।

मल्लको प्रशिक्षण, धवन मुख्य आकर्षण 
नेपाल ए टोलीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लको मुख्य प्रशिक्षणमा रहेको कर्णालीले पाँच विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ।

चार जना विदेशी खेलाडीलाई मैदान उतार्न पाइने एनपीएलमा ६ जना विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाइने क्यानले बताएको छ। 

सोही नियमअनुसार कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गर्दै चर्चा बटुलेको थियो। धवनसँगै कर्णालीमा हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद अनुबन्ध भएका छन्। 

भारतीय टोलीका महत्वपूर्ण सदस्य रहेका धवन आइपीएलका अनुभवी खेलाडी समेत हुन्। भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि  धवन टोलीका महत्वपुर्ण सदस्य थिए। धवनले आइपीएलमा सनराइजर्स हैदराबादबाट उपाधि जितेका छन्।

धवनसँगै कर्णालीमा रहेको अर्को परिचित नाम हङकङका बाबर हायात हुन्। नेपालको विभिन्न लिग खेलिसकेका विष्फोटक ब्याटर हायातले एनपीएलमा पनि तहल्का मच्चाउने आशा गरिएको छ। हायातले यसअघि पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलिसकेका छन्। 

पाकिस्तानी अलराउण्डर तलातको प्रदर्शन एनपीएलमा सम्झनयोग्य हुने आशा गरिएको छ। दक्षिण अफ्रिकाको एमजान्सी सुपर लिग तथा पाकिस्तान सुपर लिग खेलेका तलातले यसअघि नेपालमा आएर टी २० क्रिकेट खेलिसकेका छन्। सन् २०२२ मा भएको नेपाल टी–२० लिगमा उनले विराटनगर सुपर किंग्सबाट खेलेका थिए। 

जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका वेष्ट इण्डिजका दायाँहाते ब्याटर वाल्टनसँग नेपाली मैदानसँग राम्रोसँग परिचित छन्।

वाल्टनले बङ्गलादेश प्रिमियर लिग, श्रीलङ्का प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टी २० लिग खेलेको अनुभव छ। 

कर्णालीले भित्र्याएको अर्को नाममा ओमानका पूर्वकप्तान तथा अलराउण्डर मक्सुद पनि हुन्। अनुभवी खेलाडी उनी नेपाली मैदानसँग राम्रोसँग परिचित छन्। उनको आगमनले कर्णालीको बलिङ र ब्याटिङलाईन बलियो हुने अपेक्षा गरिएको छ। कर्णालीको आइकोनिक खेलाडीमा विपिनप्रसाद शर्मा छन्। 

मैदानमा कर्णालीको प्रर्दशन कस्तो हुनेछ त्यो केही दिनमा नै हेर्न पाइनेछ। तर एनपीएल अघि चर्चा बटुल्न भने कर्णाली सफल भएको छ।

कर्णालीले आफ्नो ब्राण्ड एम्बासडर नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गरेको छ। यस्तै य्ुथ ब्रान्ड एम्बेस्डरमा सिसन बानियाँलाई पनि कर्णालीमा जोड्न सफल भएको छ। 

कर्णाली याक्सको टोली
सोमपाल कामी, गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, दीपक डुम्रे, विपिनप्रसाद शर्मा, शिखर धवन, चादविक वाल्टन, बाबर हायात, हुसेन तलात, जिसन मक्सुद

यो पनि - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad