विराटनगर किंग्सले शनिबार जनकपुर बोल्टस्विरुद्ध खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को यात्रा सुरु गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ।
विदेशी प्रशिक्षकको प्रशिक्षण पाएको विराटनगर एनपीएलमा सुखद सुरुवात गर्ने योजनामा छ।
विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ’ब्रायन छन्। टोलीलाई प्रशिक्षण दिन उनी तीन दिनअघि नै नेपाल आइपुगेका हुन्।
सहायक प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा विजय कुमार धिताल छन्।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने एनपीएलमा विराटनगर किंग्सको मार्की खेलाडी छन्। सन्दीपसँग विश्वकपका थुप्रै फ्रेन्चाइज लिग खेलेको अनुभव छ। जुन अनुभवलाई सन्दीपले विराटनगरमा प्रयोग गर्नेछन्।
विराटनगरका विदेशी खेलाडीहरु बिहीबार साँझ मात्र नेपाल आइपुगेका छन्। विराटनगरले विदेशी खेलाडीमा ओमानका अकिब इलियास, स्कटल्यान्डका क्रिस सोल, न्युजिल्यान्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलस कितोर्न र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्ध गरेको छ।
एनपीएलका लागि नेपाल आउनेमा विश्व चर्चित मार्टिन पनि एक हुन्। उनले एकै खेलमा दोहोरो शतक हान्दै विश्व कीर्तिमान बनाएका थिए।
अनुभवी विदेशी खेलाडीलाई अनुबन्ध गरेको विराटनगर एनपीएलमा सुरुवातदेखि नै आक्रामक रुपमा देखिने योजनामा छ।
विराटनगरको टोलीमा सन्दीपसँगै राष्ट्रिय टोलीका अनुभवी खेलाडी लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ छन्।
विराटनगरले अक्सनमा प्रतिश जिसी र लोकेश बमलाई सर्वाधिक समान १५ लाख रुपैयाँमा खरिद गरेको थियो। विराटनगर एमएडी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा छ।
एनपीएल सुरु हुनुअघि नै विराटनगरको हौसला बढाउनका लागि टोलीले उपाधि जिते कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ।

विराटनगर किंग्सको टोली
सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम
Shares

प्रतिक्रिया