विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ। यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ।
विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को २५औँ वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियो।
नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट सहभागी नेपालगन्ज म्याराथन ६७ मत प्राप्त गर्न सफल भयो।
भियतनामको हनोइमा जारी २४औँ वर्ल्ड कंग्रेसका दौरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसौँ वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरिएको छ।
‘दस मिनेटको भिडिओ प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो’, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदोरहेछ, त्यसमा हामी चुक्यौँ।’
नर्वेले आसन्न कंग्रेस आयोजनाको अवसर पाए पनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीको भनाइ छ।
‘नेपाललाई विश्व मञ्चमा नोटिस गराउन सफल भइयो, यसमा खुसी लागेको छ’, ठकुरीले भने, ‘प्रयास गर्नेले नै जित्ने हो, हामीले एक कदम अगाडि बढेका छौँ, सबैको मायाले यो ऊर्जा मिलेको हो, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु।’
संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो।
एम्समा आबद्ध हरेक देशका म्याराथन आयोजक यतिबेला हनोइमा छन्। चारदिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पोखरा म्याराथनले सहभागिता जनाएका छन्।
धारा नेपालगन्ज म्याराथनको दसौँ संस्करण यही मंसिर २२ गते शनिबार हुँदै छ।
थप तस्बिर-
Shares

प्रतिक्रिया