एकहप्ता अघिको शनिबार (फागुन ३) आत्मघाती गोलबाट मछिन्द्र क्लबसँग पराजित हुँदै ए डिभिजन लिगको उपाधि गुमाएपछि सबैभन्दा निराश कोही देखिन्थे भने ती थिए, आर्मीका प्रशिक्षक नवीन न्यौपाने।
लिगभरि नै उत्कृष्ट खेल पस्किएको विभागीय टोली अन्तिम खेलमा स्तब्ध भएपछि न्यौपानेले भने, ‘यो नेपाली सेना र मेरो लागि एकदमै ठूलो अवसर थियो।’
खेलाडीका रुपमा आफुले चारपटक लिग जितिसकेको उल्लेख गर्दै उनले थपे, ‘प्रशिक्षकका रुपमा जित्ने ठूलो सपना थियो। त्यो सपना अधुरो नै रह्यो।’
खेलाडी जीवनको दुई दशक लिग खेल्दा यी बहुप्रतिभाशाली अलराण्डर (दायाँ–बायाँ मिडफिल्ड, साइड डिफेन्स आदि भुमिका) ले २०५७, ०६०, ०६२ र ०७० गरि मनाङ–मस्र्याङ्दी क्लबलाई चार पटक लिग च्याम्पियन बनाए।
२०७० को लिगमा थ्रीस्टारविरुद्धको खेलमा दुव्र्यवहारको आरोपमा रातोकार्डसहित एकवर्षको प्रतिबन्ध भोगेपछि नवीनको यात्रा प्रशिक्षणतर्फ मोडिएको थियो। एएफसी सी, बी हुँदै उनी ए लाइसेन्स लिने उनी नेपालको पहिलो ब्याचका प्रशिक्षक हुन्।

२०७२ मा त्रिभुवन आर्मी क्लबका तत्कालिन प्रशिक्षक मेघराज केसीले छाडेपछि उनले क्लब सम्हाले। भुकम्पले दशरथ रंगशालामा क्षति पुग्नुका साथै एन्फाभित्रको किचलोका कारण यी वर्षमा ए डिभिजन लिग हुन सकेन। एन्फाले सोहीवर्ष आयोजना गरेको राष्ट्रिय लिगमा उनले आर्मीलाई उपविजेता बनाए।
ए डिभिजन लिग नभएपछि आर्मी मोफसलका गोल्डकपमा बढि ब्यस्त हुन्थ्यो। नवीनकै प्रशिक्षकत्वमा २०७३ सालमा आर्मीले मोफसलका ११ वटा गोल्डकपको फाइनलको यात्रा तय गरेको थियो। जसमा तीनको उपाधि उचाल्यो।
अर्कोवर्ष (२०७४) मा सात गोल्डकपको उपाधि उचाल्दै सबै क्लबलाई उछिनेको थियो।
२०७५ बाट भने रोकिएको लिग पुनः सुरु भएपछि नवीनको ध्यान त्यसैमा केन्द्रीत भयो। त्यसवर्ष रेलिगेसन बिनाको लिगमा आर्मीले ४ खेल बराबरी खेलेपछि चौथो स्थानमा सीमित हुनुपर्यो।
यो सिजन भने आर्मीका लागि निकै राम्रो रह्यो। सुरुदेखि उपाधि दाबेदारको रुपमा अघि आएको आर्मीलाई अन्तिम खेलमा मछिन्द्रसँग बराबरीको नतिजाले मात्रै च्याम्पियन बनाउँथ्यो। तर, विकास तामाङको आत्मघाती गोल नै आर्मीका लागि दुर्भाग्य बन्यो।
‘हामीले मोफसलका लगभग सबै प्रतियोगिता जितेका थियौं। राष्ट्रिय लिग पनि जितेका थियौं। यो एउटा च्याम्पियन (लिग) भएको भए ओभरअलमा सबै च्याम्पियन हुन्थ्यौं,’ दबिएको स्वरमा प्रशिक्षक न्यौपानेले भने, ‘यसपटक उपाधिका लागि नै धेरै फोकस थियौं। तर त्यो अवसर गुमायौं।’

मंसिर २८ बाट सुरु भएको लिग फागुन ३ गते सकिँदा १३ राउण्डमा १४ क्लबले एकअर्कासँग खेलेका थिए। १३ मध्ये ७ राउण्डमा आर्मी यसपाली शीर्ष स्थानमा रह्यो। उसले ९ खेलमा जित हात पार्दा दुईमा हार र दुईमा बराबरीको नतिजा निकालेको थियो। आर्मीले १३ खेलमध्ये ६ खेलमा त विपक्षीलाई आफ्नो पोस्टमा गोल नै गर्न दिएन।
प्रशिक्षक न्यौपाने आफ्नो क्लबको यस सिजनको प्रदर्शनलाई उत्कृष्ट भएपनि फिनिसिङमा आफ्ना खेलाडीहरु चुकेको मान्छन्।
‘केटाहरुले यहाँसम्म आइपुग्न धेरै कडा मिहिनत गरेका हुन्। जुन हामीले आधुनिक फुटबलमा पेस गेमको रणनीति अपनाएका थियौं। त्यो अन्तिम खेलमा देखिएन’, उनी भन्छन्, ‘केटाहरु धेरै नै दबाबमा खेलेको जस्तो अनुभव भयो। जुन ड्युटी दिएको थियो। त्यसमा नै उनीहरु चुकेँ।’

लिगमा मनाङ मस्र्याङ्दीसँग १–० को हारलाई सन्तोषजनक मानिए पनि संकटा र एनआरटीसँगको बराबरीको खेल आर्मीलाई उपाधिबाट रोक्ने दुई नकारात्मक परिणाम बने।
यसअघि पनि आर्मी २०६३ सालको लिगको अन्तिम खेलमा पुलिसविरुद्ध बराबरीको नतिजा आएपनि च्याम्पियन बन्ने अवस्थामा चुकेको थियो। त्यसबेला पुलिससँग २–० को हार र अहिले मछिन्द्रसँग १–० को हारबाट आर्मीले दुईपटक नयाँ च्याम्पियन बन्ने मौका गुमाएको छ।
तर, प्रशिक्षक न्यौपाने भने अर्को लिगमा आफूहरु झनै परिष्कृत भएर आउने बताउँछन।
‘जे हुन्छ, राम्रैका लागि हुन्छ भन्छन्। यस सिजनमा धेरै कुराहरु सिकेर आइएको छ,’ उनी भन्छन्, ‘नयाँ सिजनमा यसलाई झनझन तिखार्दै अझै राम्रो भएर आउने सोच छ।’

प्रतिक्रिया