राजनीति


नेकपा सचिवालय बैठक : एमसीसी परिमार्जनपछि मात्रै अनुमोदन गर्ने सहमति

नेकपा सचिवालय बैठक : एमसीसी परिमार्जनपछि मात्रै अनुमोदन गर्ने सहमति

नेपालखबर
फागुन १०, २०७६ शनिबार १३:७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगकाे सम्झौता परिमार्जन गरेर मात्रै संसदबाट अनुमोदन गर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि परिमार्जनका पक्षमा सहमत भएका हुन्।

एमसीसी जसरी पनि पारित गर्नुपर्छ, यो नेपालको अहितमा छैन भन्ने ओली पार्टी केन्द्रीय समितिले बनाएको अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि संशोधनको पक्षमा देखिएका हुन्। शुक्रबार साँझ सो कार्यदलले आफ्नो प्रतिवेदन दुबै अध्यक्षलाई बुझाएको थियो।

सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए। संयोजक खनालले त्यसमा रहेका 'गम्भीर र आपत्तिजनक कुराहरु' सुनाएपछि एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने विषयमा सचिवालयमा सहमति भएको उपाध्यक्ष वामदेव गौतमले बताए।

उपाध्यक्ष गौतमले कुनै ठोस सहमति नभए पनि परिमार्जन गर्नुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको र सबैले सो प्रतिवेदन अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्ने बताए।

‘अध्ययन कार्यदलको सुझाब सुनिसकेपछि जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पुगेका छौँ’, उपाध्यक्ष गौतमले भने, ‘सचिवालयका सबैले कार्यदलको प्रतिवेदन सबै अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्छौँ।’

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नेकपाभित्र विवाद उत्पन्न भएपछि त्यस विषयमा अध्ययन गर्न खनालको अध्यक्षतामा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। नेकपाको माघ १५–१९ सम्म राजधानीमा बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले एमसीसीबारे अध्ययन गर्न सो कार्यदल गठन गरेको हो।

कार्यदलमा स्थायी कमिटीका सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad