ad ad

खेल


त्रिकोणात्मक क्रिकेट शृंखलाः अमेरिकामाथि ओमानको शानदार जित

त्रिकोणात्मक क्रिकेट शृंखलाः अमेरिकामाथि ओमानको शानदार जित

नेपालखबर
माघ २८, २०७६ मंगलबार १०:५६,

अकिव लियासको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा ओमानले अमेरिकामाथि शानदार जित निकालेको छ।

मगंलबार भएको सिरिजको पाँचौ खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्‍यो। जितसँगै ओमानले लिग २ को त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकालेको हो।

 लिग २मा ओमान १० खेलमा ८ जित निकाल्दै अंकतालिकामा १६ अंकसहित शीर्षस्थानमा छ। त्यस्तै ६ खेलमा जित निकालेकाे अमेरिका १२ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ।

ओमानका उपकप्तान अकिव लियासले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए। ६.१ ओभर बलिङ गरेका विलाल खानले २३ रन खर्चेर ३ विकेट लिए। जिसान मक्सुदले २ र मोहम्मद नदिमले १ विकेट आफ्नो नाममा लेखाए। ओमानले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिका ३९.१ ओभरमा १ सय ८४ रन जोड्दा अलआउट भयो।

लगातार विकेट पतनपछि दबाबमा आएको अमेरिकाका ६ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। अमेरिकाका निसार्ग पटेलले अर्धशतक प्रहार गरे। ३६ बलमा ५२ रन जोडेका पटेल अकिव लियासको बलमा बादल सिंहबाट क्याच आउट हुन पुगे। आरोन जोन्स ४७ रनमा नटआउट रहे। लान होल्याण्डले २८ रन जोडेको इनिङस्मा ओपनर जेभिएर मार्सलले २३ रनको योगदान दिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रनको योगफल तयार पारेको थियो। ओमानले ओडीआईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो। कप्तान जिशान मकसुद १ सय ९ बलमा १० चौका र ४ छक्का सहित १ सय ९ रनमा क्याच आउट भए। जिशानले १ सय ३ बलमा आफ्नो ओडीआई करिअरको पहिलो शतक पुरा गरेका थिए।

उपकप्तान अकीब इलियासले आफ्नो ओडीआई करिअरको लगातार दोस्रो शतक प्रहार गरे। अकीब १ सय २३ बलम ११ चौका र १ छक्का सहित १ सय ५ रनमा क्याच आउट भए। अकीबले आफ्नो ओडीआई दोस्रो शतक १ सय १८ बलमा पुरा गरेका हुन्। तेस्रो विकेटका लागि जीशान र अकिबले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेपछि ओमानले विशाल योगफल बनाएको थियो।

ओमानबाट पहिलो पटक ओडीआईमा दोहोरो शतकीय साझेदारी भएको हो। यस अघि आइतबार नेपालसँग तेस्रो विकेटका लागि जीशान र अकिबले नै १ सय ६७ रनको अविजित साझेदारी गरेका थिए। एकै इनिङमा ओमानबाट ओडीआईमा पहिलो पटक दोहोरो शतक बनेको हो।

अमेरिका कप्तान सौरभ नेत्रवालकरले आफ्नो स्पेलमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । रस्टी थेरनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए।

त्रिकाेणात्मक शृंखलामा बुधबार नेपाल र अमेरिकाले खेल्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .