नेपालगञ्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टीसीएल लन्डन म्याराथनमा भाग लिने भएका छन्।
नेपालगञ्ज म्याराथन आयोजक क्रियटिभ ह्यान्ड्सले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गोपीले लन्डन म्याराथनमा भाग लिने जनाएको हो।
लन्डन म्याराथन अप्रिल २१ मा हुँदैछ।
नेपालगञ्ज म्याराथनको रनिङ पार्टनर नेपाल रन युकेको सहकार्यमा लन्डनमा गोपीको सहभागिता पक्का भएको हो।
गोपीले यो प्रतियोगिता आफ्नो लागि ठूलो अवसर रहेको बताएका छन्। गोपीले नेपालगन्ज म्याराथन आफ्नो लागि सधैँ विशेष रहने बताए।
नेपालगन्ज म्याराथनमा पहिलो पटक विजेता बन्दा गोपीले ओलम्पिकका लागि सहभागिता पक्का गरेका थिए। तर नेपाल ओलम्पिक कमिटि र नेपाल एथलेटिक्स संघको कमजोरीका कारण उनी सहभागिताबाट बन्चित भएका थिए।
लन्डन म्याराथन विश्वको शिर्ष ६ भित्र पर्ने उत्कृष्ट म्याराथन हो। गोपी नेपालगञ्ज म्याराथनको दुई पटकको विजेता हुन्। यसअघि उनले छैटौं र नवौँ म्याराथनको उपाधि जितेका थिए।
लन्डन म्याराथन अघि गोपीको तयारीदेखि सहभागिता सम्मको जिम्मा नेपाल रन युकेले गर्नेछ।
यो वर्षको विजेतालाई मात्र पठाउने र अर्को वर्ष देखि महिलातर्फको विजेतालाई पनि पठाउने प्रयास भैरहेको नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपालगन्ज म्यारानथका आयोजक र गोपीलाई बधाई दिदैँ आफुहरुको तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए।
Shares

प्रतिक्रिया