विचार


४० प्रतिशत आत्महत्याको कारण ‘पर्सनालिटी डिसअर्डर’

आफैँलाई हानि पुर्‍याउने यस्तो रोग, जसले आत्महत्यासम्म लैजान्छ
४० प्रतिशत आत्महत्याको कारण ‘पर्सनालिटी डिसअर्डर’

उमंगजंग शाह
फागुन ९, २०८० बुधबार १७:५७, काठमाडौँ

आत्महत्या वर्तमान विश्वको लागि जटिल समस्याको रुपमा देखापरेको छ। हरेक वर्ष ७ लाखको हाराहारीमा मानिसहरू आत्महत्याको माध्यमबाट मृत्युवरण गर्छन्, जसमा आधाभन्दा बढी ५० वर्षमुनिका छन्।

यो सङ्ख्यालाई अझ केलाउने हो भने विश्वमा १५ देखि २९ वर्षसम्मका युवाको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या नै रहेको पाइन्छ। वृद्धावस्थामा आत्महत्याको समस्या त छ, तथापि यस उमेर समूहमा मृत्युको कारणमा आत्महत्या दसौँ नम्बरभन्दा पनि तल पर्छ।

माध्यमिक विद्यालय र विश्वविद्यालयका विद्यार्थीले अधिकतम आत्महत्या गर्छन् भन्नलाई शोधहरूले पर्याप्त आधारहरू निर्माण गरेका छन्।जसले यो समस्या कति चिन्ताजनक छ भन्ने पनि देखाउँछ। खासगरी किशोरावस्थाका शारीरिक तथा विचार प्रक्रियामा आउने उतारचढाव, पहिचानको संकट, अन्योलका अवस्थाहरू आदिले जटिलता थप्दछ।

समग्रमा मृत्युका कारणहरूमध्ये आत्महत्या १५ औँ मुख्य कारणको रूपमा देखिएको छ र निम्न एवं मध्यम आय क्षमता भएका राष्ट्रहरूले विश्वमा हुने आत्महत्याको करिब ८० प्रतिशत बोझ उठाएको देखिन्छ, जसमा पुरुषको सङ्ख्या महिलाको तुलनामा दोब्बर छ।

आत्महत्याका विफल प्रयासहरूलाई हेर्ने हो भने यो समस्या कति विकराल छ भन्ने अनुभव हुन्छ, जसले आत्महत्याको तुलनामा बीसौँ गुणा ठूलो चित्र प्रस्तुत गर्छ। हरेक १ लाखमा १० जनाका हाराहारी मानिसले आत्महत्या गर्छन् भने एक हजारमा तीनजनाको प्रयास विफल हुन्छ।

यति अंकको जालो बुझिसकेपश्चात् आत्महत्याको कारण र अवस्थालाई समेत बुझ्ने आवश्यकता महसुस हुनु स्वाभाविक हो। आत्महत्याको प्रमुख कारण मानसिक समस्या हो। करिब ९० प्रतिशत हाराहारी आत्महत्याका पछाडि विद्यमान मानसिक समस्या वा कुनै समय मानसिक समस्याबाट गुज्रिएको अवस्था जोडिएको हुन्छ।

मानसिक समस्याहरूमध्ये पनि डिप्रेसन आत्महत्याको मुख्य कारण हो। तर डिप्रेसनले आत्महत्या हुन्छ भन्ने समाजमा चलिआएको साधारण भाष्य भने पूर्ण सत्य होइन। तर पनि ५० देखि ६५ प्रतिशत आत्महत्याको कारण डिप्रेसन रहेको पाइन्छ। तसर्थ हामीलाई वा हाम्रा कसैलाई डिप्रेसन छ भने हेलचेक्र्याइँ नगरी सजगता अपनाउनैपर्छ।

प्रायः डिप्रेसनको कडापन बढ्दै गएपछि आत्महत्याका सोचहरू बढ्दै जान्छन्। डिप्रेसनमा आत्महत्याको कडा लक्षण हुनैपर्छ भन्नेचाहिँ होइन। मनोवैज्ञानिकहरूले डिप्रेसनको परीक्षण गर्दासमेत आत्महत्याका लक्षणहरू कति छन् भनेर हेरिन्छ, जसको आधारमा हामीले डिप्रेसन र आत्महत्याको साइनोलाई प्रष्ट बुझ्न सक्छौँ।

डिप्रेसन हुँदा खासगरी आत्महत्याका सोच आउनेबाहेक दुःखी भइराख्ने, पहिले मन पर्ने कुरामा रुचि कम हुने, निन्द्रा नलाग्ने अथवा अति धेरै सुत्ने, यौन इच्छामा कमी हुने, शरीरमा शक्ति नभएजस्तो महसुस हुने, आत्मग्लानि भइराख्ने, टाउको तथा जिउ दुख्ने, झमझमाउनेजस्ता शारीरिक लक्षणहरू देखिन्छन्।

आत्महत्याको अर्को मुख्य कारण पर्सनालिटी डिसअर्डर पनि हो। ३० देखि ४० प्रतिशतको हाराहारीमा आत्महत्याको कारण पर्सनालिटी डिसअर्डर रहेको पाइएको छ। पर्सनालिटी डिसअर्डरअन्तर्गत बोर्डर लाइन पर्सनालिटी डिसअर्डर तथा एन्टिसोसल पर्सनालिटी डिसअर्डर बढी आत्महत्यासँग जोडिएको पाइएको छ।

आफूलाई चोट पुर्‍याउने  खालका जोखिमपूर्ण कार्यहरूमा निरन्तरता, अरूबाट अस्वीकार हुने अत्यधिक डर, अस्थिर सम्बन्ध, अत्यधिक भावनात्मक उथलपुथल, खालीपनको महसुस तथा अत्यधिक क्रोध व्यक्त गर्नेजस्ता व्यवहार आदि बोर्डरलाइन पर्सनालिटी डिसअर्डरका सामान्य लक्षण हुन्। पर्सनालिटी डिसअर्डरका लक्षणहरूमा स्थिर सम्बन्ध राख्न नसक्ने, आफूलाई वा अरूलाई चोट पुर्‍याउनेजस्ता कार्यहरू गर्ने, जीवनका विविध पक्षहरूमा उत्तरदायित्व निभाउन नचाहने, अरूप्रति सद्भाव जागृत नहुने अथवा आफ्ना गल्तीमा आत्मग्लानि नहुने, तथा बारम्बार सामाजिक व्यवस्था र कानुनविरोधी कार्यहरू गरिरहने आदि जस्ता व्यवहार पर्छन्।

सामान्य इटिङ डिसअर्डर एन्जाइटी तथा कडा खालका स्किजोफ्रेनियाजस्ता समस्याहरू समेत आत्महत्याका कारणको रूपमा देखापरेका छन्। तर यही कारणले आत्महत्याको सम्भावना भने संख्यात्मक रूपमा न्यून देखिएको छ।

एकभन्दा बढी मानसिक समस्या भएको अवस्थामा जटिलता अझ थपिन्छ र आत्महत्याको सम्भावना अझ बढ्न जान्छ। कुनै परिवारमा पहिले नै आत्महत्याका प्रयासहरू भएका छन् भने त्यस्ता परिवारका व्यक्ति आत्महत्याप्रति प्रेरित हुन सक्छन्। यसले आत्महत्याको सम्भावना चार गुणा बढाएको हुन्छ। र, आत्महत्याका साधनहरू सहज रूपमा प्राप्त हुने अवस्थामा समेत आत्महत्याको प्रयासको सम्भावना बढ्छ।

आत्महत्याको मनोवैज्ञानिक कारणहरूलाई अझ गहिराइमा नियाल्ने हो भने कुनै पनि व्यक्तिको आन्तरिक र बाह्य वातावरणलाई केलाएर हेर्न जरुरी छ। कुनै व्यक्तिको अन्तरमनको अवस्था कस्तो छ? समाजसँगको उसको सम्बन्ध कस्तो छ? यी प्रश्न महत्त्वपूर्ण हुन्छन्।

कुनै पनि व्यक्तिको अस्तित्व समाजसँग गहिरो रूपमा जोडिएको हुन्छ। समाजले मानिसलाई अग्रसर हुन र जीवनमा आशा जगाइराख्न मद्दत गर्दछ। यस्तो अवस्थामा उसले समाजबाट विच्छेद भएको महसुस गर्छ भने आत्महत्याको बाटो रोज्न सक्छ।

कुनै पनि व्यक्तिका लागि चाहिने सामाजिक आधारहरू, चाहे त्यो आर्थिक पाटो होस् वा सामाजिक संरचनाको स्थिरता, आदिमा अनपेक्षित संकटले समेत आत्महत्याको विचारलाई बल दिन्छ। अझ सामाजिक वातावरण व्यक्तिको प्रतिकूल छ भने वा यसका संरचनाहरूबाट व्यक्ति पीडित छ भने उन्मुक्तिका लागि समेत आत्महत्या रोजाइको बाटो बन्न सक्छ।

एउटा सानो परिवारदेखि राष्ट्र हुँदै विश्वव्यापी वातावरणको प्रतिकूलतामा कुनै पनि व्यक्ति आत्महत्यासम्बन्धी सोचको सिकार बन्न सक्छ। यसमा व्यक्तिको सामाजिकरणसम्बन्धी कौशलका साथै उक्त समाजको व्यक्तिप्रतिको उत्तरदायित्वलाई समेत नजरअन्दाज गर्न मिल्दैन। यस अवस्थामा सामाजिक चेतनाको स्तरले ठूलो महत्त्व राख्छ।

कुनै पनि समस्या वा रोगको पहिचानको भार के कुनै एक व्यक्तिले मात्र बोक्नुपर्छ वा यो समग्र समाजको उत्तरदायित्व हो भन्ने प्रश्न आज विश्वव्यापीरूपमा निकै महत्त्वपूर्ण बनेको छ।

कुनै पनि व्यक्तिको अन्तरमनको अवस्था निकै महत्त्वपूर्ण हुन्छ। आर्थिक समस्या, झैझगडा, विभिन्न क्षेत्रमा विफलता आदिका कारण यदि मानिसले आफू अरूमाथि भारको रूपमा रहेको महसुस गर्छ भने यसले आत्मग्लानिको भावना विकास हुन्छ। आफ्नो अस्तित्वको औचित्यहीनताको भावनालाई जागृत गर्छ। कालान्तरमा आत्महत्याको सम्भावनालाई यसैले बढाउँछ।

यदि मानिसले अरूबाट एक्लिएको महसुस गर्छ र अरूसँग अर्थपूर्ण सम्बन्ध विकास गर्न नसकेको अवस्थाले ग्रसित हुन थाल्छ भने यसले पनि जटिलता थप्छ। साथसाथै आफ्नो अन्तरपीडालाई दबाउनका निमित्त आत्मघाती व्यवहारहरू विकास गर्छ। यसले पनि कालान्तरमा मानिसलाई आत्महत्यातिर उन्मुख गराउन सक्छ।

यदि कुनै पनि व्यक्तिको अन्तरमनमा यस्ता सोचहरू छन् वा यस्ता व्यवहारहरु झल्किन थालेका छन् भने यसलाई उच्च जोखिमको रूपमा लिई पर्याप्त कदम चाल्नु आवश्यक हुन्छ। मनोवैज्ञानिक उपचारात्मक पद्धतिमा आधारित भएर हेर्ने हो भने कुनै पनि समस्याभन्दा पनि त्यस समस्यालाई मानिसले कसरी हेर्छ, त्यो महत्त्वपूर्ण हुन्छ। यस्तै पृष्ठभूमिमा विकसित विचारहरू जुन मानिसलाई सुन्दर लाग्छ, कालान्तरमा त्यसैले ठूलो समस्याको जग गाड्छ। आज म कुनै कुरा दबाउँछु, त्यो भोलि विस्फोटन हुन्छ। आज सानो कुराबाट बच्छु, भोलि त्यो बाघ भएर निस्कन्छ। यस्ता अनेक कुराहरू छन्, जसमा हामीले विचार गर्न जरुरी छ।

समाधान के त?
खासगरी मानसिक समस्यासँग सम्बन्धित सामाजिक चेतनामा वृद्धि आजको दिनमा अत्यन्तै आवश्यक भइसकेको छ। आर्थिक रूपमा गरिब राष्ट्रहरूले आत्महत्याको अधिकतम संख्याको भार उठाउनुपरेको छ। यसको कारण पनि मानसिक समस्यासम्बन्धी सामाजिक चेतनाको कमीलाई नै मान्न सकिन्छ।

मानसिक समस्याबाट गुज्रिरहेका व्यक्ति एक्काइसौँ शताब्दीमा पनि समाजबाट कुण्ठित भएर बस्नुपरेको अवस्था व्याप्त छ। तपाईँ हाम्रो समाजमा खुलेर आफूलाई मानसिक समस्या रहेको बताउन आजको दिनमा पनि कठिन छ, खासगरी महिलाहरूलाई।

कडा समस्या देखिए मात्र उपचार खोज्ने मनोवृत्तिले गर्दा अधिकांश समस्यामा परेका व्यक्तिले उचित उपचार प्राप्त गर्न सकेका छैनन्। तसर्थ, सामाजिक चेतनामा वृद्धि अहिलेको मुख्य आवश्यकता हो।

मानसिक समस्या भएका व्यक्तिहरूलाई समाजले स्वीकार गर्ने पर्याप्त आधार बन्नुपर्छ। कस्तो समस्यामा कस्तो उपचार खोज्ने, उपचार पद्धतिहरू कस्ताकस्ता हुन्छन्, सम्बन्धित विशेषज्ञहरू कस्ताकस्ता हुन्छन् आदि ज्ञानको प्रचारप्रसार हुनुपर्छ।

समस्या सानो हुँदा त्यसलाई निराकरण गरे आत्महत्याजस्तो जोखिम अवस्थामा पुग्नुपर्दैन। यसका अलावा पर्याप्त मात्रामा उपचारको व्यवस्था, मनोविद्, मनोविमर्शदाता तथा मनोचिकित्सकहरूको व्यवस्था, जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरूको पहिचान तथा संरक्षण, पर्याप्त हेल्पलाइनहरूमा पहुँच, इमर्जेन्सी उद्धार सेवा, समस्यामा भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक पाटोको उचित व्यवस्थापन आदिलाई ध्यान दिनुपर्ने हुन्छ।

विष, ड्रगजस्ता प्राणघातक वस्तुहरूको सहज वितरणमा रोक लगाउने तथा हाम फालेर मृत्युवरण गर्ने ठाउँहरूमा बारबन्देज लगाउनेजस्ता कार्यहरूले समेत आत्महत्यामा कमी आएको अध्ययनहरूले देखाएका छन्।

अन्त्यमा, विश्वमा आत्महत्या अत्यन्तै जटिल विषय बन्दै गएको छ। चिन्ता केवल संख्यात्मक वृद्धि मात्र होइन, संसारबाट ठूलो युवाशक्ति गुम्दै जानु थप पीडाको विषय हो। यसले परिवार, समाज र देशको भविष्यमा कस्तो असर पर्छ भन्ने प्रश्न उब्जाएको छ।

खासगरी मानसिक समस्या भएका व्यक्तिहरूको उचित उपचार, पुनर्स्थापना तथा अपनत्वको साथ व्यवस्थापनको आवश्यकता देखिन्छ। जनचेतनाको स्तरलाई वृद्धि गर्नु पनि उति नै आवश्यक छ।

आत्महत्याको सोच आउँदैमा कुनै पनि मानिसले आत्महत्या गरिहाल्दैन। प्रायः लामो समयको विचारपश्चात् मानिसले आत्महत्याको प्रयास गर्ने विभिन्न अध्ययनले देखाएका छन्। मानव जीवनजस्तो संवेदनशील विषयमा हेलचक्र्याइँ भने पक्कै गर्नुहुँदैन।

कुनै व्यक्तिले आत्महत्याको विचार व्यक्त गर्छ भने त्यसमा तुरुन्त कदम चाल्नु उचित हुन्छ। कमसेकम आत्महत्याको विचार आउँदा यसलाई वरिपरि जोसँग भए पनि व्यक्त गर्नुपर्छ भन्ने ज्ञान र वातावरण सबैले प्राप्त गर्नुपर्छ। एउटा विचार वा भावना व्यक्त गर्नाले मात्र पनि अमूल्य जीवन गुम्नबाट बच्न सक्छ।

(मनोपरामर्शदाता उमंगजंग शाह नेपाल एकेडेमी अफ साइकोलोजीसँग आबद्ध छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .