खेल


महायज्ञबाट रंगशालालाई ३५ करोड संकलन

महायज्ञबाट रंगशालालाई ३५ करोड संकलन

नारायण अधिकारी
माघ २७, २०७६ सोमबार ११:१४,

यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी संकलन भएको छ। महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु २० करोड संकलन हुने अपेक्षा गरिएको छ। यससँगै महायज्ञबाट रंगशालालाई रु ५५ करोड संकलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए।

रंगशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक संकलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम संकलन गरी महायज्ञमा बुझाएका छन्।

मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले रु १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ। यसैगरी जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले रु एक करोड बराबर सहयोग गर्ने जनाएको छ।

यसैगरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन्। चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रमा रहेको छ।

निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा दान गरेका छन्। पोल्ट्री व्यवसायीहरुले रु एक करोड घोषणा गरेका छन्। उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसंघलगायतका संघसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन्।

महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गरेका छन्। जसले अरूलाई पनि उत्साहित बनाएको छ।

जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शंकर कँडेलले बताए। उनले भने, ‘भरतपुर महानगरभित्रका धेरैले धेरथोर महायज्ञमार्फत रंगशालालाई सहयोग गरेका छन्।’ जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम संकलन भएको उनले जानकारी दिए।

नगदसँगै हालसम्म रु ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत संकलन भएको छ। सहकोषाध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा यति धेरै उत्साहका साथ महायज्ञ भएको बताए।’

महायज्ञ स्थल नजिकै रंगशाला निर्माणको काम धमाधम भइरहेको छ। रंगशाला निर्माणमा पनि स्वयंसेवी रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन्। महानगर प्रमुख रेनु दाहालले चितवनवासीमात्रै नभएर धेरैले रंगशालालाई अपनत्व ठानेकै कारण महायज्ञमार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताइन्। उनले रंगशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुने बताइन्।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माण भइरहेको छ। रगशाला निर्माण गर्न करिब रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ। जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रंगशाला हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad