राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले क्रिकेटरहरुलाई सरकारले दिने भनेर घोषणा गरेका पुरस्कार रकम खेलाडीले नपाएकोमा संसद्बाट ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा उनले सरकारले यसअघि पटक पटक गरेको घोषणा कार्यान्वयन नभएको भन्दै गम्भीर प्रश्न उठाए।
नेपालले भारतविरुद्ध एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भिड्दै गर्दा शाहीले खेलाडीको दुरावस्थाबारे प्रश्न उठाएका हुन्।
शाहीले नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित खेलमा विजेता बन्दा तीन लाख, नेपाल, यूएई र पपुवान्यूगिनीबीचको खेलमा विजेता बन्दा तीन लाख, प्रधानमन्त्रीले राष्ट्रका तर्फबाट घोाषणा गरेको दुई लाख, एसीसी कप जित्दा जनही ६ लाखलगायत विभिन्न खेलमा विजेता बन्दा घोषणा गरेको जनही १४ लाख पुरस्कार अझै नदिएको भन्दै आपत्ति जनाए।
हालसम्म उक्त पुरस्कार रकम खेलाडीले नपाएपछि शाहीले सरकारको ध्यानाकर्षण गराए। खेलाडीको पीडा संसद्बाटै कवितामार्फत उनले सुनाएका हुन्।
जब देख्छु, जब सुन्छु सरकारका वाचा मनै हर्षित हुन्छ
जब क्रिकेट मैदानमा छिर्छु, रगत पसिना बगाउँछौ ।
गरेथ्यौँ वाचा किन जब निर्वाह गर्न सक्दैनौँ भने,
देखायौं किन आशा जब पुरा गर्न सक्दैनौँ भने।
तिम्रा मिठा र चिल्ला बाचामा हामी भुलेका थियौँ,
भोको र नांगो पेटमा हामी क्रिकेट खेलेका थिथौँ।
‘क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ? पैसा छिटो दिऊँ,’ उनले भने, ‘भोको पेटले राष्ट्रवादलाई कति धान्ने? प्रधानमन्त्री, खेलकुदमन्त्री र सचिवलायले छिटो उक्त पुरस्कार उपलब्ध गराओस्।’
Shares

प्रतिक्रिया