वेष्ट इण्डिजलाई १ सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित भारत इंग्ल्याण्डमा जारी क्रिकेट विश्वकप २०१९ को सेमिफाइनल नजिक पुगेको छ।
म्यानचेस्टरमा बिहीबार राति भएको खेलमा भारतले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले ३४.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनमात्रै बनाउँन सक्यो।
वेष्ट इण्डिजका कुनैपनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। उसका सुनिल अम्ब्रासले सर्वाधिक ३१ रन जोडे। त्यसबाहेक निकोलस पुरनले २८, सिमरेन हटमेयरले १८ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
भारतका मोहम्मद सामीले ४ तथा जसप्रित बुम्राह र यूजभेन्द्र चाहालले २–२ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो। भारतका कप्तान विराट कोहलीले ७२ तथा पूर्वकप्तान महेन्द्रसिंह धोनीले नटआउट ५६ रनको अर्धशतकीय पारी खेले।
त्यसबाहेक केएल राहुलले ४८ तथा हार्दिक पाण्ड्याले ४६ रन जोडे। वेष्ट इण्डिजका किमोर रोचले ३ तथा सिल्दोन क्याटरोल र जोसन होल्डरले समान २–२ विकेट लिए।
६ खेलमध्ये ५ खेलमा जित हात पारेको भारत ११ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। अब उसलाई सेमिफाइनलमा स्थान बनाउँन ३ खेलमा एक अंकमात्रै आवश्यक छ।
७ खेल खेलेको वेष्ट इण्डिज भने पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। वेष्टइण्डिजले ७ मध्ये एक खेलमा मात्रै जित हात पार्न सकेको छ।

प्रतिक्रिया