ad ad

खेल


डेढ महिनापछिको फाइनलमा उही प्रतिस्पर्धीविरुद्ध निर्णायक गुलशन झा

डेढ महिनापछिको फाइनलमा उही प्रतिस्पर्धीविरुद्ध निर्णायक गुलशन झा

यूएईविरुद्ध उत्कृष्ट ब्याटिङसहित नेपाललाई जिताएपछि गुलशन झाको सेलिब्रेसन। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:१४, काठमाडौँ

चैत २ गते सर्वाधिक रनको लक्ष्य पूरा गर्दा होस् वा मंगलबार सामान्य लक्ष्य भेट्टाउँदा नेपालका लागि नायक बने गुलशन झा। यी दुवै थिए फाइनल भिडन्त। दुवैमा प्रतिस्पर्धी यूएई नै थियो। 

गत चैतमा लिग २ अन्तर्गतको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो। सिधै विश्वकप छनोटमा पुग्न नेपाललाई जित्नै पर्ने थियो। 

तर नेपालको सुरुवात खराब थियो। मौसम पनि गडबड भइरहेको थियो। त्यो अवस्थामा गुल्शन निर्णायक बन्दा नेपाल सिधै विश्वकप छनौटमा पुग्यो। डिएल मेथोडमा त्यो खेलमा नेपाल ९ रनले विजयी भएको थियो। 

डेढ महिनापछि पनि उही प्रतिस्पर्धी, उही मैदान। र, निर्णायक पनि उनै बने। 

११८ रनको सामान्य लक्ष्य पाएको नेपालका सुरुवाती ब्याटर नटिक्दा दबाब बढ्यो। दोहोरो अंकमा रन छुन नपाउँदै दुवै ओपनर आउट भए। ८ बल खेलेका कुशल भुर्तेल दोस्रो ओभरमा जम्मा १ रन जोडेर एलबीडब्लु धरापमा परे। 

नेपालले १९ रन जोड्दा आशिफ शेख ८ रनमै अर्को धरापमा परे। त्यसपछि गुल्सनसँग इनिङ सम्हाल्ने जिम्मेवारी लिएर मैदान प्रवेश गरे कप्तान रोहित पौडेल। 

९ बल खेलेका रोहित पनि १ रनमै बोल्ड भए। जतिबेला नेपाल ८ औं ओभरको समाप्तिमा ३ विकेट गुमाएर २२ रनको स्थितिमा थियो। 

कुशल मल्लजस्ता भरपर्दा ब्याटरलाई बेन्चमा राखेर मैदान पठाइयो भीम सार्कीलाई। त्यसपछि भने नेपालको इनिङ सम्हालियो। गुल्सन रन बटुल्न थाले। 

भीम डट खेल्दै भए पनि क्रिजमा टिकेर उनलाई साथ दिन थाले। रन बढ्दै गयो। विकेट रोकियो। 

यूएई दबाबमा पर्दै गयो, नेपाल हौसियो। अन्ततः गुल्सनले आफ्नो करियरकै सर्वाधिक स्कोर बनाए। एकदीवशीय मान्यताप्राप्त यूएईविरुद्ध अर्धसतक पूरा गर्दा मौसमले पनि साथ दियो। र नेपालले यूएईविरुद्ध शानदार जित हात पार्यो। 

खुसियाली साट्ने क्रममा अन्य खेलाडीसँग गुलशन झा। तस्बिर : सरोज नेपाल
गुलशनले ८४ बलमा अविजित ६७ रन बटुले। उनको इनिङमा ३ चौका र ६ छक्का समावेश छन्। उनलाई दरिलो साथ दिएका भीमले ३६ रन जोडे। 

उनले ४ चौकाको मद्दतमा सम्मानजनक स्कोर बनाएका हुन्। ३०.३ ओभरको खेल सकिँदा नेपालले लक्ष्य भेटायो।

दुई दिन लगाएर सकिएको एसीसी प्रिमियर कपको फाइनलमा नेपाली बलरको प्रदर्शन झनै शानदार रह्यो। 

ब्याटिङमा गुलशन नायक बन्नुअघि बलरहरुले युएईलाई सस्तैमा समेटे। चैतमा यही मैदानमा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको यूएईलाई ११७ रनमा अलआउट गर्दा ललित राजवंशीले ४ विकेट लिए। करण र सन्दीपले २÷२ विकेट लिए। सोमबार ९ विकेट गुमाएको यूएईले बाँकी खेल आज खेलेको थियो। 

यूएईका लागि आशिफ खानले ४६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक रन जोड्न सकेनन्। 

गुलशनको त्यो ओभर
यसअघि चैतमा लिग २ को फाइनलमा पनि गुल्शनले एउटा ओभर यस्तो ब्याटिङ गरे जसले नेपाललाई विश्वकप छनोटको बाटो देखायो। 
यूएईले नेपाललाई अहिलेसम्मकै सर्वाधिक ३११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। 

विशाल लक्ष्य पछ्याएको नेपालले सुरुका दुई ओभरमै दुई विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो। १ रन बनाउँदा ओपनर आशिफ शेखलाई गुमाएको नेपालले ६ रन बनाउँदा कुशल मल्ल आउट भए। 

दबाबबीच आएका कप्तान रोहित पौडेलले त्यतिबेला पनि नेपालको इनिङ सम्हाल्न सकेनन्। नेपालको ३७ रन हुँदा रोहित पनि १६ रनमै क्याचआउट भए। 

त्यसपछि कुशल भुर्तेल र भीम सार्कीले इनिङ सम्हाले। ३५ बलमा ५० रन बनाएर कुशल पनि आउट भए।

तर नेपालले त्यसपछि पनि लय छाडेन। जितको आशा जीवित नै राख्यो। कुशलबाहेक सुरुका ब्याटर लगातार आउट हुँदा पछिल्लो क्रमका ब्याटरले नेपालको इनिङ सम्हाले। 

भीमले ९ चौकाको मद्दतमा ६७ रन बनाउँदा आरिफले पनि उनलाई साथ दिए। आरिफले पनि गुल्सनसँग सम्हालिएको प्रदर्शन गर्दै अर्धसतक पूरा गरे।

६२ बलमा ५२ रन बनाएर उनी पनि आउट भए। त्यसपछि नेपालको इनिङ धान्ने जिम्मा गुल्सन झामा पुग्यो। उनलाई साथ दिइरहेका आरिफ गएपछि दीपेन्द्र सिंह ऐरी क्रिजमा आए। 

आरिफ ४० औं ओभरको पहिलो बलमै क्याचआउट भएका थिए। जतिबेला मौसम पनि खराब हुँदै गएको थियो। त्रिवि क्रिकेट मैदान अँध्यारो बन्दै जाँदा खेल डीएल मेथोडबाट निर्णायक हुने अवस्था तर्फ धकेलिँदै थियो। 

नेपाललाई जिताएपछि गुलशन झा। तस्बिर : सरोज नेपाल

नेपालका लगातार ब्याटरले अर्धशतक पूरा गर्न थालेपछि युएईका बलर पनि दबाबमा आउँदै गए। ४० ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा नेपालले २२९ रन मात्रै बनाएको थियो।

नेपालको त्यतिबेला रनरेट ५।७२ थियो। अब नेपाललाई हरेक ओभरमा ८।२० को रेटमा रन आवश्यक थियो। 

तर ४१ औं ओभरमा पनि नेपालले आवश्यकता अनुसार रन बटुल्न सकेन। गुल्सन र दीपेन्द्रले त्यो ओभरमा मात्रै ६ रन जोडे।    

डीएल मेथोडअनुसार नेपालका लागि ४१ औं ओभरमा २४४ रनको लक्ष्य हुन्थ्यो। तर नेपालले बनाएको थियो मात्रै २३५ रन। यो अभरमै खेलको निर्णय गरिएको भए नेपाल ९ रनले पराजित हुने अवस्थामा थियो। 

रन नजाँदा युएई पनि दबाबमा थियो। ४२ औं ओभर बलिङ गर्न यूएईका कप्तान मोहम्मल असिम आफैं आए। उनको यो पहिलो ओभर थियो। 

क्रिजमा थिए गुलशन झा। पहिलो बलमा उनले रन लिन सकेनन्। दोस्रो बलमा २ रन लिए। तेस्रो बलमा छक्का प्रहार गर्दै गुल्सनले नेपालको इनिङ उकासे। त्यसपछि पनि गुल्सनको ब्याट रोकिएन।

चौथो, पाँचौं र छैटौं बलमा लगातार चौका प्रहार गर्दै उनले एउटै ओभरमा २० रन बटुले। अन्ततः नेपालको जितमा गुल्सनको त्यही ओभर निर्णायक बन्यो। 

यो ओभरको समाप्तिसँगै नेपालले २५५ रन बनायो। डीएल मेथोड अनुसार नेपाललाई २४९ रन आवश्यक थियो। ४३ औं ओभरमा ६ रन र ४४ औं ओभरमा ८ रन जोडेसँगै नेपालले जित पक्का गर्यो।

यो ओभरको समाप्तिसँगै खराब प्रकाशका कारण रेफ्रीले डीएल मेथोडबाट निर्णय लिए। जतिबेला नेपालले २६९ रन बनाएको थियो।

तर नेपाललाई ६० रन मात्रै आवश्यक थियो। एक दिवशीयमा पहिलो अर्धसतक बनाएको गुल्सनको ४२ औं ओभर नै निर्णायक बन्यो र नेपालले ऐतिहासिक यात्रा तय गर्यो। त्यसको डेढ महिनापछि विश्व क्रिकेटका हस्ती भारत र पाकिस्तान सहभागी हुने एसियाकपमा नेपाल छनौट भयो। 

शानदार इनिङ खेलेका गुलशन मंगलबार पनि कीर्तिपुर मैदानमा म्यान अफ द म्याच घोषित भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .