उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले हाल (बिहीबार बिहान) देशभर साधारणतया बादल लागेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार,
दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थान साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, मधेस र बागमती प्रदेश लगायत सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान साथै गण्डकीू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
काठमाडौँ उपत्यकामा आज कत्रो होला वर्षा?
काठमाडौँ उपत्यकामा आज दिनभर मौसम बदली भइरहने अनुमान मौसमविद्ले गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ।
‘कतै कतै छिपटपुट पानी पनि परिरहेको छ’, उनले बिहीबार बिहान ७:४० बजे नेपालखबरसँग भने, ’आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
मौसमविद् लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा राम्रोसँग घाम लाग्ने सम्भावना छैन।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया