खेल


जब रंगशाला रणभूमिमा परिणत भयो (भिडियो)

दशरथ रंगशालामा सोमबार सहिद स्मारक ए डिभिजन लिगको बहुप्रतिक्षित खेल थियो। साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र यस सिजनमा हेभिवेट खेलाडीले भरिएको र उपाधि दाबेदार क्लब मछिन्द्रबीच।

यो खेल किन बहुप्रतिक्षित थियो भने मछिन्द्रले यस सिजनमा मनाङ कप्तानसहित ८ जना खेलाडीहरुलाई अनुबन्ध गरेको थियो। कप्तान विराज महर्जनसहित खेलाडीले आफ्नो पूर्वक्लबविरुद्ध कस्तो प्रदर्शन गर्लान सबैको चासो थियो। त्यसैले दशरथ रंगशालामा सोमबार यस सिजनकै सबैभन्दा बढी दर्शक उपस्थित थिए।

खेल पनि त्यस्तै रोमाञ्चक बन्यो। दोस्रो मिनेटमा नै अपेक्षा विपरित हेभिवेट मछिन्द्रविरुद्ध मनाङले अग्रता बनायो अफ्रिकी खेलाडी आडेवुमी फेमीको गोलबाट। उक्त गोलमा साहयकको भुमिका खेले अन्जन विष्ट। अन्जन ४५ दिनपछि फुटबलमा फर्किएका थिए।

गत मंसिर सुरुवातमा भुटानमा कुवेतविरुद्धको विश्वकप खेल खेल्न जाने अघिल्लो रात ठमेलको डिस्कोमा विताएपछि एन्फाले उनीसहित चार खेलाडीलाई अनुशासनको कारवाही गरेको थियो। ४५ दिने कारवाही सकिएपछि सोमबार पहिलो दिन उनी फुटबलमा फर्किएर एक गोलमा सहायकको भुमिका समेत खेले।

पहिलो हाफमा मनाङले १–० को अग्रता कायम राख्यो। दोस्रो हाफको सुरुवातमै सुजल श्रेष्ठले गोल गरे। सुजल पनि यस सिजन मनाङ छाड्दै मछिन्द्रसँग आवद्ध भएका थिए। १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण विजेता नेपाली टोलीका कप्तान समेत रहेका सुजलको गोलसँगै खेल १–१ को बराबरीमा आएको थियो।

८१औं मिनेटमा मछिन्द्रले खेलमा पहिलो पटक अग्रता बनायो। यस सिजनमा मनाङबाटै आएका विदेशी खेलाडी एडिलाजा सोमिडेले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए। तर, दुई मिनेट बाँकी रहँदा खेल तब रोमाञ्चक बन्यो जब विमल रानाले मनाङका लागि गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याए।

त्यसपछि खेलमा जे भयो त्यसको सबैले आलोचना गरे। रेफ्रीले थपिएको ५ मिनेटको समय सकिएको सिट्ठी फुकेँसँगै मनाङका मिडफिल्डर जगजित श्रेष्ठ मछिन्द्रका फरवार्ड दिपक राई नजिक पुगेनन् मात्रै हात हालाहालकै स्थिति श्रृजना भयो।

उनीहरुबीच हात हालाहाल चलिरहँदा दुई खेलाडीबीच झगडा सुरु भएपछि दुवै टोलीका अन्य खेलाडी र पदाधिकारी पनि मैदानमा पुगे र स्थिती झन् तनावग्रस्त बन्यो। प्रहरी नै मैदानमा गएर उनीहरुलाई छुट्याउनु पर्यो। अन्त्यमा प्रहरीले खेलाडीहरुलाई स्कर्टिङ गराएर ड्रेसिङ रुम प्रवेश गराए।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेलपछिको उत्पन्न परिस्थिती खेलाडीको अनुशासन विपरितको काम भएको बताए।

उनले भने, ‘खेलमा आक्रामक हुनु स्वाभाविक हो तर टेक्निकल रुपमा भएको भए राम्रो हुन्थ्यो। मनाङका धेरै खेलाडीहरु मछिन्द्रमा आएको कारण पनि त्यस्तो हुनपर्छ।’ आप्mना खेलाडीहरु आफुहरुकै नियन्त्रणमा रहेको भन्दै उनले आप्mना अन्य खेलाडीहरु झगडा छुटाउन मात्र मैदान पुगेकोे दावी गरे।

यता मनाङका प्रशिक्षक धनेश्वर प्रजापतीले भने यसबारेमा आफुलाई थाहा नभएको बताए। उनले भने, ‘मैले त सबैलाई ब्लक गरिरहेको थिए। के भएको हो मलाई नै थाहा छैन। हाम्रा खेलाडीहरु हाम्रै नियन्त्रणमा छन् तर खेलाडीलाई मैदानमा गएर सम्हाल्न सकिदैन नी। तर यो दुःख लाग्दो विषय हो।’

खेलाडीको यस्तो व्यवहारमा भने क्लव जिम्मेवार नहुने प्रशिक्षक प्रजापतिले बताए। खेलाडीको व्यक्तिगत व्यवहारमा क्लव जिम्मेबार छैन, यसबारेमा आफुहरुले छलफल गरेर खेलाडीलाई कारवाही भने गरिने उनले बताए। 

पुस २१, २०७६ सोमबार १२:५७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad