सहिद स्मृति राष्ट्रिय यू-२० पुरुष तथा महिला सेभेन्स रग्बी प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेश र महिलातर्फ बागमती प्रदेश च्याम्पियन बनेका छन्।
पुरुषतर्फको फाइनल खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशमाथि १५-१० को रोमाञ्चक जित निकाल्दै उपाधि जितेको हो। त्यस्तै, महिलातर्फको फाइनलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ५-० ले पराजित गर्दै च्याम्पियन बनेको हो।
पुरुषतर्फ कर्णाली प्रदेशका मनोज ताम्राकार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। महिलातर्फ बागमती प्रदेशकी पूजा डंगोल उत्कृष्ट खेलाडी घोषित भइन्।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका खेलाडीलाई एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य-सचिव टंकलाल घिसिङले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका छन्।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोग र बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा सहिद स्मृति स्पोर्ट्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ चार प्रदेशीय टोलीले प्रतिस्पर्धा गरेका थिए।
Shares

प्रतिक्रिया