खेल


काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर

काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर

नेपालखबर
असार १६, २०८३ मंगलबार १७:२३, काठमाडौँ

काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ।

शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए। अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनीति, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लागेका हुन्।

शरदको आगमनले काठमाडौँ गोर्खाजको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ मजबुत हुने विश्वास गोर्खाज व्यवस्थापनले लिएको छ।

‘प्रत्येक सिजन हामीले आफ्नो क्रिकेट व्यवस्थापनलाई अझ चुस्त बनाइरहेका छौँ, क्रिकेटमा लामो समय बिताउनु भएका शरद जस्तो अनुभवी व्यक्तिको साथमा हामी मैदानभित्र र मैदान बाहिर अझ राम्रो गर्न सक्छौँ जस्तो लाग्छ। शरदसँगैं काम गर्न पाउँदा निकै उत्साहित छौँ,’ काठमाडौं गोर्खाजले विज्ञप्तिमा भनेको छ।

शरदले सन् २००२ मा यूएईमा भएको एसीसी यू–१५ एसिया कपमा खेल्न सुरु गरेका थिए। त्यसपछि नेपालको यू–१७, यू–१९ हुँदै शरदले २००४ मा पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका थिए।

शरदले २०१४ मा नेपाललाई पहिलोपटक टी–२० विश्वकपमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

नेपालले २०१८ मा नेदरल्यान्ड्स गएर पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा शरद त्यो टोलीका सदस्य थिए।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ८९ रन रहेको छ, जुन शरदले २००५ मा कीर्तिपुरमा यूएईविरुद्ध इन्टर कन्टिनेन्टल कपमा बनाएका थिए।

गत वर्ष हङकङ सुपर सिक्समा नेपालको कप्तानी गर्दै शरदले आफ्नो रंगीन खेल जीवनलाई टुंग्याएका थिए।

घरेलु क्रिकेटमा शरद निकै सफल खेलाडी तथा कप्तान थिए।

नेपालका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा शरदको कप्तानीमा ३ उपाधि जितेको थियो भने ३ मा उपविजेता बनेको थियो।

यसको साथै शरदको नेतृत्वमा नेपाल एपीएफ क्लबले टी-२० र ५० ओभरमा गरी दुई घरेलु प्रतियोगिता जितेको थियो।

शरद भेषावकरले काठमाडौँसँग छुट्टै सामिप्यता रहेको बताएका छन्। ‘काठमाडौँ मेरो आफ्नै घरेलु सहर हो, यही सहरको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु, बाल्यकालमा काठमाडौँमा धेरै खेलेको स्मरणहरु छन्,’ उनले भने।

आफ्नो तर्फबाट शतप्रतिशत दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad