बुधबारबाट सर्लाहीको बागमतीमा सुरु भएको सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगताको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।
काठमाडौंबाट हेलिकप्टरमा सर्लाही गएर मन्त्री श्रेष्ठले स्थानीय बागमती युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गरेका हुन्।
बुधबार दिउँसो चार बजे सशस्त्र प्रहरीको एपीएफ क्लव र जावलाखेल फुटबल क्लवबीच उद्घाटन खेल चलिरहँदा मन्त्री श्रेष्ठ सवार मनाङ एयरको हेलिकप्टर स्थानीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा अवतरण भएको थियो।
क्लवले हेलिकप्टर चार्टर गरेर मन्त्री श्रेष्ठलाई प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी गराएको हो।
एपीएफ र जावलाखेल क्लवबीच उद्घाटन खेलको पहिलो हाफ चलिरहँदा मन्त्री श्रेष्ठ सवार हेलिकप्टर खेल मैदान नजिकै अवतरण भएको थियो।
त्यसक्रममा रेफ्रीले करिब पाँच मिनेट खेल रोकेका थिए। मन्त्री श्रेष्ठलाई खेलाडीसँगै बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, प्रदेश सांसद जबाहरलाल कुशवाहा, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतले स्वागत गरेका थिए।
प्रतियोगिताको पहिलो हाफ सकिएपछि खेलको उद्घाटन गरिएको थियो। पानसमा दीयो बालेर प्रतियोगिता उद्घाटन गरेका मन्त्री श्रेष्ठले मैदानमा प्रवेश गरेर रेफ्रीलाई फुटबल हस्तान्तरण गरेपछि दोस्रो हाफको खेल सुरु भएको थियो। दोस्रो हाफ खेल सुरु भएपछि मन्त्री श्रेष्ठ सवार हेलिकप्टर काठमाडौंको लागि उडेको थियो।

उद्घाटन समारोमा शुभकामना मन्तव्य व्यक्त गर्दै श्रेष्ठले खेलकूदको विकासमा राज्यका तीनै तहका सरकारले काम गर्नुपर्ने बताए।
उनले खेलाडीको हित र खेलकूदको विकासमा सरकारले विषेश योजना बनाएर काम गरिरहेको दाबी गरे। मोफसलमा राष्ट्रिय स्तरको फुटबल प्रगियोगिता आयोजना गरेको भन्दै उनले मेयर थापा र वागमती युवा क्लवको प्रशंसा गरे।
आज भएको उद्घाटन खेलमा जावलाखेल फुटबल क्लव विजयी भएको छ। जावलाखेलले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो।
खेलको ६३ औँ मिनेटमा जावलाखेलका विनोद केसीले गरेको एक गोल नै आजको खेलमा निर्णयक गोल बन्यो। फुटबल प्रतियोगिता उद्घाटन अघि मन्त्री श्रेष्ठ हेलिकप्टरमै सर्लाहीको हेमपुर, सुन्दरपुर र हिरापुमा पुगेर आयोजनाहरुको अवलोकन गरेका थिए।
श्रेष्ठ आजै महोत्तरीको बर्दिबासमा अवस्थित आधारशीलाको २० औँ वार्षिकोत्सव कार्यक्रममा पनि सहभागि भएका छन्।
मधेश प्रदेशकै सर्वाधिक राशीको राजर्षिक जनक कप फुटबल प्रतियोगिता आयोजक बागमती युवा क्लवसहित १२ वटा फुटवल क्लवको सहभागिता छ।

प्रतियोगितामा यूनाइटेड किङ्गडम फूटबल क्लव दार्जेलिङ, संकटा क्लव, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल यूथ क्लब, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम–११, मच्छिन्द्र फूटबल क्लव, धरान यूवा क्लव, जन–जागृति युवा क्लब सीमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले यूथ क्लब हेटौँडाले सहभागिता जनाउने आयोजक बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।
फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यसैगरी हरेक विधाका उत्कृष्ट खेलाडीलाई २५ हजार नगद र आयोजक बागमती युवा क्लवका एक जना उत्कृष्ट खेलाडीलाई एक थान मोटसाइकल प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए।
फुटबल प्रतियोगिताको उद्घाटनको अवसरमा बुधबार बागमती नगरपालिकाले स्थानीय बिदासमेत दिएको थियो।
Shares

प्रतिक्रिया