ad ad

खेल


संकटमा फ्रेन्चाइज टिमको लगानी

खेल नहुँदा लगानीकर्तादेखि खेलाडीसमेत निराश
संकटमा फ्रेन्चाइज टिमको लगानी

लक्ष्मी जि.सी
साउन १४, २०७९ शनिबार ८:५५, काठमाडौँ

केही वर्षअघिसम्म घरेलु खेलकुदमा फ्रेन्चाइज लिगको बोलवाला थियो। क्रिकेटमा मात्रै एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) हुन्थे। 

यी प्रतियोगिताबाट क्रिकेटर र प्रशिक्षकले राम्रै आम्दानी गर्थे। कर्पोरेट हाउसहरु क्रिकेटमा लगाती गर्न तयार भएका थिए। अझ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुँदा तीनै फ्रेन्चाइज लिगले घरेलु क्रिकेट थेगेका थिए। 

क्रिकेटमा फ्रेन्चाइज लिगको सफलताकै कारण विस्तारै फुटबल, भलिबल र बास्केटबलमा पनि त्यसको प्रभाव देखियो। क्रिकेटबाहेक खेलमा पनि कर्पोरेट हाउसहरु लगानी गर्न तयार भए। 

तर, तिनै फ्रेन्चाइज लिगहरु धरापमा पर्ने खतरा बढेको छ। आइसीसीले क्यानको निलम्बन फुकुवा गरेपछि परिस्थिति बदिलिएको छ। 

क्यानले नेपाल टी–२० लिग घोषणा गरिसकेको छ। एउटा देशमा एउटा मात्रै आधिकारिक लिग हुन सक्ने भनिएपछि तीन फ्रेन्चाइज लिगको अस्तित्व संकटमा परेको छ। 

क्यानले ६ टोलीको सहभागितामा नेपाल टी २० लिग मिति तोकिसकेको छ। त्यसले तीनवटा फ्रान्चाइजमा लगानी गर्नेलाई झस्काएको छ। 

इपीएलका सहभागी ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियाट्स, पोखरा राइनोज, भैरहवा ग्लाडियर्टस्, चितवन एफसीका मालिकले संयुक्त पत्रकार सम्मेलन गर्दै ईपीएल नरोक्न गरेको आग्रहलाई पनि क्यानले टेरेन। 

त्यस्ता लिगले क्षेत्रीयस्तरमा गर्न चाहेमा गर्न सकिने भन्दै क्यान पन्छिएको छ। ईपीएलका मालिक आमिर अख्तर यो प्रतियोगिता गर्न सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका छन्।

फ्रेन्चाइज क्रिकेटमा विभिन्न कर्पोरेट हाउसहरुले लाखौँ लगानी गरिसकेका छन्। यसरी बीचमै लिगहरु रोकिँदा कर्पोरेट हाउसहरु झस्कनु स्वभाविक हो। विस्तारै खेलकुदमा आउन चाहने व्यापारिक घरानालाई पनि यसले सोच्न बाध्य पारेको छ। 

ईपीएलका टोलीले यो प्रतियोगिता नभए क्रिकेटमा लगानी नगर्नेसम्म चेतावनी दिएका छन्। इपीएलसँग जोडिए पनि क्यानका अन्य प्रतियोगितामा पनि आफूहरुले सहयोग गर्दै आएको फ्रेन्चाइज टोलीका प्रतिनिधिहरुले बताएका छन्।

क्रिकेटपछि फुटबल र भलिबलमा पनि फ्रेन्चाइज लिगको आकर्षण बढेको थियो। चार वर्षअघि भलिबलमा फ्रेन्चाइज लिगका रुपमा भारतिय कम्पनी र नेपाल भलिबल संघ मिलेर आदिआवाधि भलिबल लिग आयोजना गरे। तर, त्यसले निरन्तरता पाउन सकेन। 

नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) गत वर्ष सुरु गर्यो। कोरोना महामारीका समयमा दर्शकबिना आयोजना भएको एनएसएलले चर्चा पाएको थियो। 

पहिलो संस्करणमै ७ टोलीले सहभागिता जनाएका थिए। दोस्रो संस्करणमा नयाँ ३ टोली थपिएर १० टोलीले एनएसएल खेल्ने तयारी गरेका थिए। 

अहिले एनएसएलको दोस्रो संस्करण सकिनुपर्ने थियो। तर एन्फा पदाधिकारी र ए डिभिजन क्लबका कारण एनएसएल विवादमा मात्र परेन, दोस्रो संस्करण हुने नहुने नै शंका बढेर गएको छ। 

एन्फाको नयाँ कार्यसमितिको बैठकमा एजेण्डामा एनएसएल पनि थियो। तर एन्फा बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएपछि एनएसएलको भविष्य पनि अन्योलमा परेको छ। 

अझै ए डिभिजनका ४ क्लब मनाङ मर्स्याङ्दी, थ्री स्टार, एनआरटी र संकटाले एनएसइएमसँगको सम्झौता नै रद्द गर्न एन्फालाई सिफारिस गरेका छन्। एन्फाले कस्तो निर्णय गर्छ एनएसएलको भविष्यमा त्यसैमा निर्भर गर्छ। 

फुटबलको कार्यकारी निकाय एन्फासँगै सम्झौता गरेर आयोजना भएको एनएसएलकै भविष्य अनिश्चित हुँदा अन्य फ्रेन्चाइज लिगको भविष्य झन् संकटमा छ। एनएसएमले भलिबल लिगको घोषणा गरेपछि अहिलेसम्म आयोजना हुन सकेको छैन। 

एनएसएल अनिश्चित भएपछि त्यसमा आबद्ध कर्पोरेट हाउस निराश छन्। लामो समय फुटबलमा लगानी गर्दै जाँदा कुनै बेला आम्दानीको श्रोत हुने आश कर्पोरेट हाउसलाई हुन्छ । तर, दोस्रो सँस्करणमै लगानीकर्ताहरु ढुक्क हुन सक्ने अवस्था छैन। 

आफूहरुले नाफाको लागि मात्रै नभई फुटबल विकासका लागि एनएसएलमा आबद्ध भएको विराटनगर सिटी एफसीका मालिक सुभाशीष कोइराला बताउँछन्। 

‘फ्रेन्चाइज लिगले केही नभए पनि फुटबल क्यालेन्डरमा २ महिना खेल समय थपिन्थ्यो। बिजनेस भन्दा फुटबल विकासका लागि थियो। लगानी मात्रै गर्न ए डिभिजनका टोली पनि थिए’, उनले भने,‘ खेलमा पनि क्रिकेट पनि राम्रो थियो, तर फुटबलको विकास नै गरौँ भनेर हो यसलाई व्यवसायिक बनाउँदै लैजानुपर्छ भनेर हामी सहभागी भएका हौँ।’  

एनएसइएमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप शर्माले फुटबलमा लगानी गर्ने कर्पोरेट हाउसलाई स्वागत गर्दै हौसला बढाउनुपर्ने बेलामा उल्टो अनिर्णयको बन्दीले निराशा छाएको बताउँछन्। अब कसरी अगाडि बढ्ने अन्योल रहेको उनले स्वीकारे।  

शर्माले कोरोना महामारीमा पनि एनएसएलको पहिलो संस्करण गरेको स्मरण गर्दै भने, ‘विषम परिस्थितिमा पनि फुटबललाई व्यवसायिक बनाउन घाटा खाएर पनि लगानी गर्यौँ।’ 
सधैँ अन्योल हुँदा फुटबललाई घाटा हुने शर्मा अनुमान गर्छन्।  

‘कर्पोरेट हाउसको आफ्नै व्यवसाय छ। उनीहरु सधैँ एनएसएल भनेर रोकिएर बस्दैनन्। एकवर्षसम्म निर्णय नभएर पटक पटक प्रतियोगिता सर्दा कर्पोरेट हाउसलाई रोकिराख्न सकिँदैन,’ उनले भने, ‘अहिले उहाँहरु पनि एन्फाका निर्णय कुरिराख्नु भएको छ। उहाँहरुले लामो समयसम्मको सम्झौता हुनुपर्छ भन्नुभएको छ। सहज रुपमा काम गर्ने वातावरण बन्ने आशमा पर्खनुभएको छ। ढिलो गर्दै निर्णय नदिँदा घाटा भनेको खेलाडी र नेपाली फुटबललाई नै हो।’  

पछिल्लो समय व्यवसायिक घरानाहरु खेलकुदमा लगानी गर्न इच्छुक देखिए पनि त्यसलाई जोगाइराख्ने वातावरण अझै खेलकुदमा देखिँदैन। 

दीर्घकालीन सोचका साथ कर्पोरेट हाउसले लगानी गर्न खोज्दा अवरोध भइरहेको छ यसले उनीहरुले विकल्प खोज्न सक्छन्। नियमित प्रतियोगिता नहुँदा लगानीको वातावरण बिग्रँदै जान्छ। आयोजक, लगानीकर्ता र खेल निकायको घाटा एकातिर छ भने अर्कातिर खेलाडी पलायनको जोखिम पनि बढ्न सक्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .