यसपालि पनि हङकङ सरकारले कोभिडबाट पर्न गएको आर्थिक असर कम गर्न यहाँका जनतालाई जनही दस हजार डलर बाँड्यो। अठार वर्ष उमेर पुगेका स्थायी परिचय पत्रवाहक सबै नागरिकले आधाआधा गरी दुई किस्तामा पाउने यो रकमको पहिलो किस्ता सबैले लिइसके। दोस्रो किस्ता अगस्ट महिनाको पहिलो हप्तामा पाउनेछन्।
तर यो रकम पहिलेजस्तो बैंक खातामा सिधै हालिदिएको नगद भने होइन। नागरिकका विभिन्न विद्युतीय क्रेडिट कार्ड वा अक्टोपसमा आउने यो रकमले आफ्नै तजबिजमा खर्च गर्न सक्नेछन्। सर्वेक्षणकर्ताहरूका अनुसार अधिकांशले पहिलो पटकको रकम पदयात्रा वा खेलकुदसम्बन्धी पोसाक, जुत्ता वा अन्य सामान किन्नमा खर्च गरेछन्। त्यसैमध्ये म पनि एक रहेछु। दिनदिनै स्कुल जान आउन दुई घण्टा हिँड्नै पर्ने बाध्यताबाट सुरु भएको जिन्दगीमा यस्ता पोसाक र जुत्ताको कल्पनै हुँदैनथ्यो, आजभन्दा ४५ वर्षअघि। अझ जुत्ता फाट्यो भने दसैँमा लगाउन पाइन्न भनेर पानी परेका बेला जुत्ता हातमा बोकेर खाली खुट्टा हिँडिन्थ्यो।
संसारकै अत्याधुनिक, सुविधासम्पन्न, महङ्गो र व्यस्त मानिने हङकङ सहरका बासिन्दाहरु प्रकृतिमा यति धेरै रमाएको यसअघि मैले कहिल्यै देखेको थिइनँ। अझ सप्ताहन्त र सार्वजनिक बिदामा त हरेक पदमार्गमा जन्तीको जस्तो ताँती लाग्छ मान्छेको। मैले पनि हङकङ बसाइको तीन दशकपछि पछिल्ला दुई वर्ष भने अधिकांश हङकङको भूगोल पैतालाले नाप्दै गाउँले जनवजीवन र इतिहास बुझ्ने र हेर्ने मौका पाएँ। हरेक पटक नयाँ मार्ग वा ठाउँमा जान रमाइलो लाग्छ मलाई।
हङकङका प्रकृतिप्रेमी मित्रहरु इन्द्र लक्सम र गोकर्ण ढकालले सामाजिक सञ्जालमा निकै सुन्दर तस्बिरहरू पोस्ट गरेपछि लान्ताउ द्वीपको सुदूर दक्षिणस्थित फानलाउ गढीको बाटो हुँदै हङकङको ऐतिहासिक माझीगाउँ ताइ ओ जाने सोचमा थियौँ त्यो दिन हामी बाउछोरा।
तुङ्ग चुङ्गको बस बिसौनीमा अधिकांश पछाडि झोला, लौरो, छाता पानीका बोतल र पदयात्राको पोसाकमा लाम लागेका स्थानीय चिनियाँहरूसँगै उभिएको केही समयमा नै बस आइपुग्यो। तुङ्ग चुङ्ग हिललाई पछाडि छाडेर बस पामे गाउँ, वाईएमसीए विद्यालय हुँदै उकालो लाग्यो। सनसेट र लान्ताउ पिकतिर पैदल उक्लिने भञ्ज्याङको दोबाटो पाक कुङ आउपछि बस जब तलतिर ओर्लिन थाल्छ, तब मलाई नागढुङ्गा कटेर नौबिसे जाने बाटोको सम्झना आउँछ। तर, दृश्य भने फरक।
उता महेशखोला, धुनिबेसी, लामिडाँडा, केवलपुर, जीवनपुर, देउराली, नुवाकोट पेटारेको लेक, वैद्यको वन, पछाडिको गणेश हिमाल, थाँक्रे, किरान्चोकको डाँडो, इत्यादि। यता भने आँखाले नभ्याउने निलो विशाल दक्षिण चीन सागर, ससाना टापुहरु, सागर नाप्दै गरेका माछा मार्ने डुङ्गादेखि साना यात्रुवाहक र विशाल मालबाहक पानीजहाजहरू। वरिपरि हरियो पहाडी जङ्गलको छेउमा मौसममा लटरम्मै फुल्ने सेता र गुलाबी कोइरालाको फूलले जहिल्यै आमाले गाउँमा साँधेको आचारको स्वादको सम्झना दिलाउँछ।
तलको दोबाटोबाट मुइ ओ जाने बाटो छोडेर बस दायाँतर्फ मोडियो। समुद्री तटका हरिया चौरमा यहाँको कृषि तथा मत्स्य विभागको हेरचाहमा पुच्छर हल्लाउँदै चरिरहेका गाईभैँसीको बथानले एकैछिन भए पनि उही जन्मस्थान धादिङ केवलपुर पुर्यायो। अझ चङ्सा बस बिसौनीको छेवैमा धम्का मारेर दूध चुस्दै गरेको बाच्छो अनि सञ्चो मानेर बाच्छातिरै मुन्टो बटारेर उभिइरहेकी लैनो गाई देखेर आमालाई सम्झिएँ मैले। मलाई पनि दूध चुसाएर स्याहार गरेर हुर्काउने आमा घरको भित्तामा माला लगाएर टाँसिएको दुई दशक नाघिसकेछ। अब त मात्र फोटोमा छुने र हेर्ने बानी परिसक्यो।
यहाँ यी गाईभैँसी मासु, दूध वा गोबरगहुँतका लागि पालिएका होइनन्। बिरामी गाईभैंसीलाई मलहम लगाउँदै औषधि खुवाउँदै हिँडेका लान्ताउ बफेलो एसोसिएसनका एक जोडी युरोपेली अभियन्ताहरूसँग भलाकुसारी भएथ्यो मेरो केही महिनाअगाडि चङ्सा बिचमा। दुवै भेगन रहेछन्।
यहाँ यी गाईभैँसी वा हङकङका केही जङ्गल इलाकामा छ्यापछ्यापती पाइने बँदेल वा तित्रा, कालिज कसैले मारेर खाँदैन। यदि कसैले त्यसो गरेमा कानुन लाग्छ। धार्मिक कारण भने पटक्कै हैन।
दायाँपट्टि चिटिक्क परेका दुईतीन तले घरहरु र बायाँपट्टि तल्लो चङ्सा र माथिल्लो चङ्सा तटमा अग्लाअग्ला छाल एकनास आउँदै ठोक्किँदै गरेको हेर्दाहेर्दै सेक पिक जलकुण्डको बस बिसौनी आइपुगेछ।
बसबाट ओर्लिएर मास्क निकालेर खुल्ला ठाउँमा लामो सास लिइयो। छोरालाई बाल्यकालको कुरा सुनाएँ– उहिल्यै जब म बाको पछि पछि हिँडेर सहर जान्थेँ, कहिले पिच सडक आउला, बस चढेर सहर पुग्न पाइएला भन्ने हुन्थ्यो। अझ पेट्रोल, डिजेलको गन्ध समेत मन पर्थ्यो। हर्न सुन्दा रमाइन्थ्यो। अहिले कतिबेला बसबाट ओर्लन पाइएला, घाँस पात र माटोको बास्ना सुँघ्र्द हिँडौँजस्तो हुन्छ। छोरो खिसिक्क हाँस्यो।
सिकपेक जलकुण्डमुनि ब्रिटिसकालीन सुधारगृहको खेलकुद मैदानमा कैदीहरु भलिबल खेलिरहेका छन्। त्यसबाहेक चहलपहल छैन। भलै, कोभिडले संसारका न्यायाधीश, वकिललाई समेत बन्दी जीवनको अनुभव दिलायो, छोटै समय भए पनि।
जलकुण्डको विशाल डिलबाट तीनतिर चर्चित कुकुर दाँते पहाड (डग टिथ हिल)को माथि उभिएको लान्ताउ पिकलाई हेरेँ। अझ यो विशाल पहाडको छाया २४ लाख क्युबिक मिटर पानी अटाउने जलकुण्डमा पर्दा जहिल्यै गोसाइँकुण्ड वा फेवातालको याद आउँछ। कल्पना गर्छु, यो पहाड हिउँले ढाकेको भए कति राम्रो हुन्थ्यो होला? प्रकृतिले हामीलाई पहाडमाथि हिउँको बाक्लो थुप्रो पनि दियो। तर राजनीतिले गतिलो शासक कहिल्यै दिएन। हङकङको यो पहाडलाई प्रकृतिले हिउँको लेपन दिएन। तर राजनीतिले जहिल्यै राम्रो शासक दियो।
हुन त हाम्रो देशमा केही हुँदै नभएको होइन। निरन्तरता नभएको चाहिँ पक्कै हो। सन् १९५७ मा सुरु भएर १९६३ मा सम्पन्न भएको बृटिसकालीन हङकङको यो सेक पिक जल सङ्कलन परियोजना बन्नुभन्दा करिब पचास वर्षअगाडि अर्थात् सन् १९०७ मा सुरु भएर १९११ मा निर्माण सम्पन्न गरिएको नेपालको चन्द्रज्योति विद्युत एसियाकै दोस्रो ठूलो लघुजलविद्युत योजना थियो त्यो बेला। जसको उद्घाटन तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहले टुँडिखेलमा स्विच थिचेर गरेका थिए भनेर पल्लोघरका ठुलाबाले भन्नुहुन्थ्यो।
एक सय १० वर्षअगाडि सो बिजुली उद्घाटन मन्तव्यमा चन्द्र शमशेरले भनेका थिए, ‘ईश्वरबाट दया भयाको आफ्नो देशमा पाइने वस्तुबाटै मिलन सक्ने फायदा उठाउन सकेनौँ भने त्यसभन्दा अपसोचको कुरा के छ र?’
तर, उनको पनाति पुस्ताका शासकहरू कुर्सी, पद र धनसम्पत्तिसँग देशको जे साट्न परे पनि तयार देखिन्छन् आजकल।
उनै चन्द्र शमशेरले सन् १९१७ मा बारा र मकवानपुर जोड्ने चुरिया सुरुङ बनाउन लगाएका थिए। तर, हाम्रा अधिकांश पुराना संरचना अहिले खण्डहरमा परिणत भएका छन्। हङकङमा भने ती जस्ताको तस्तै र उपयोगी छन् अझैसम्म।
यस्तै मनोविनोद गर्दै करिब एक किलोमिटर जलकुण्डको डिल हुँदै ताइ ओ र बिग बुद्ध जाने मोटरबाटो काटेर देब्रेतिर फानलाउ गढीको बाटो लागियो।
कोइलीको कुहुकुहु, काकाकुल र जङ्गली किराहरुको एकोहोरो आवाज सुन्दै तलपट्टि समुद्र हेर्दै करिब ६ किलोमिटर पिच सडकपछि गोरेटो तिर झरियो। करिब साठी वर्षअगाडि बनेको जलभण्डारका शाखा कुला, सुरुङ मार्ग र बाढी व्यवस्थापनका कलपुर्जा इन्जिनियरिङमा चाख लाग्नेहरुले हेर्नैपर्ने प्राविधिक संग्रहालयनै हो।
करिब पौने घण्टाको हिँडाइपछि ताइ ओ पुग्ने अर्को लामो उकालो बाटो दायाँ छोडेर अझै दक्षिणतिर ओर्लियौँ। अझै पर डाँडा पुगेपछि फानलाउ गढी, गाउँ र विशाल समुद्री तट एकैचोटि हेर्दा चन्द्रागिरिबाट काठमाडौँ उपत्यका हेरेझैँ लाग्यो।
ठाउँठाउँमा समुद्रको विशाल छालले हरिया पहाडको फेदीमा दूधे बच्चाले आमाको काखमा लात्ती हानेझैँ ठोक्किँदै जाँदै गरेको दृश्यले मन्त्रमुग्ध गरायो। म हेरेको हेर्यै भएछु। छोराले भन्यो– ‘बाउ छिटो जाऊँ बाटो आधा पनि भाछैन।’ उसले फोनमा गुगल पण्डितको आखत देखायो मलाई।
टलटल टल्कने बालुवाको विशाल बिस्कुनजस्तै देखिने फानलाउ तटमा कोही पौडिँदै घाम ताप्दै गरिरहेका थिए भने कोही क्याम्पिङमा रमाइरहेका देखिन्थे। यति टाढा समुद्रको किनारमा पनि असरल्ल पाखा लागेका प्लास्टिकजन्य फोहोरहरु देख्दा भने मन चस्कियो। हामी गढीतिरको उकालो सोझियौँ। करिब पौने घण्टाको हिँडाइपछि गढीको थुम्कोमा पुग्यौँ।
डाइनोसर युगकै प्रलय हुँदा विभिन्न आकृतिमा पछारिएका विशाल ढुङ्गाहरुको आकृति अचम्मलाग्दो छ। अझै माथि गढीको भग्नावशेषका ढुङ्गाको पर्खाल जिर्णोद्धार गरिएको रहेछ। सत्रौँ शताब्दीतिर ग्वाङझाउ र ग्वाङ्सी अन्तर्गत पर्ने हङकङको यो भूभागमा चीनका मिङवंशी शासकहरुले समुद्री डाँकु र विदेशी आक्रमणकारीबाट जोगिन यो गढी निर्माण गरेका रहेछन्। समुन्द्र सतहबाट ११६ मिटर अग्लो यो थुम्कोको भूबनोट हेर्दा यहीँबाट दक्षिण चीन सागरदेखि पर्ल नदी र मकाउसम्म रेखदेख गर्न मिल्ने रहेछ।
जति हेरे पनि नअघाइने चौतर्फी दृश्य क्यामरामा कैद गरेर ओरालो लाग्यौँ ऐतिहासिक फानलाउ गाउँतिर।
ससाना भुइँतले टिन र टायलले छाएका झुरुप्प घरहरुको बीचमा सफा बाटो। ठाउँठाउँमा अंग्रेजीमा बियर, कोकाकोला, नुडल्स पाइन्छ भन्ने हस्तलिखित साइनबोर्ड भए पनि मान्छेको नामोनिसान छैन। नजिकैको केराबारीमा पसाउँदै बुङ्गो झुन्डिएकोदेखि पाक्न ठिक परेका मालभोग र झप्री केरा, सखरखण्ड, अदुवा, बदाम, लसुन प्याजको खेती देखि बारमा झुन्डिएको तने बोडी देखेपछि मन थामिएन। तारजालीबाहिर निस्किएका दुई वटा बोडी चुँडेर चपाएँ। आहा!
‘ल हेर, के गरेको सीसीटीभी छ जताततै, फेरि नपखाली!’ बिराजले प्रश्न गर्यो।
‘अर्गानिक हो यो, सानो बेलामा मकैबारीमा पसेर यसैगरी खाइन्थ्यो मन थामिएन छोरा,’ मैले जवाफ दिएँ।
फानलाउ गाउँको घेरो मारेर ताइओतिर सोझिँदै गर्दा पाँचवटा कुकुर अघिपछि लगाएर एकजना वृद्ध बा आउँदै थिए। बिराज ‘बाउ कुकुर कुकुर’ भन्दै मेरो कुम समाएर पछाडि उभियो।
बाले भनिहाले, ‘नो वरी, दे विल नट बाइट यु। दे लाइक पिपुल।’
नभन्दै कुकुर अझै हामीनजिकै आएर सुँघ्न थाले। उनले ठूलो स्वरले चिनियाँ भाषामा केही भनेपछि पुच्छर हल्लाउँदै फर्किए। हाउभाउ हेर्दा वृद्ध बोलक्कड र फरासिला लागे।
मैले सोधेँ, ‘तपाईं यहीँ बस्नुहुन्छ?’
‘हो म जन्मिएकै यहीँ। ७८ वर्ष पुगेँ।’
‘अनि परिवार?’
‘श्रीमती बितिन् चार सालपहिले। चारभाइ छोरा सहरमा बस्छन्। कहिलेकाहीँ भेटन आउँछन्,’ कुकुहरुतिर हेर्दै उनले भने, ‘मेरा बुढेसकालका साथी। यिनैसँग रमाइलो लाग्छ। कोभिडपछि भने धेरै भयो छोराहरु नआएका मलाई कोभिड सर्ला भनेर। फोनमा मात्रै कुरा हुन्छ। सहरमा आउनू, सँगै बसौँ भन्छन्। म त सहरमा आत्तिन्छु।’
‘अनि गाउँ किन सुनसान? घर हेर्दाखेरि त मान्छे बसेझैँ देखिन्छ नि!’
‘यतिबेला धेरै समुद्रमा माछा मार्न गएका छन्। बेलुकी फर्किन्छन्। नयाँ पुस्ताका धेरै सहरमै बस्छन्, काम गर्छन्। सप्ताहन्त र लामो सार्वजनिक बिदामा धेरै चहलपहल हुन्छ।’
यी बाको जीवनी अरु कोट्याउन मन लाग्यो मलाई। मूलभुमि चीनबाट करिब तीन सय वर्षअगाडि हाक्का मूलका उनका पुर्खा साइकुङ हुँदै यहाँ बस्न आएका रहेछन्। बेलायती शासनकालमै माध्यमिक तह सम्म पढेका उनलाई अरुको जागिर खानुभन्दा पुर्ख्यौली कृषि र माछा मार्ने पेसामै मन बसेछ। अहिले सरकारी वृद्धभत्ता र ग्रामीण क्षेत्रमा बसोबास गर्नेलाई दिइने विशेष सुविधा, सहुलियत र छोराहरुको सहयोगले भविष्यप्रति निश्चिन्त देखिन्थे उनी।
‘आजकल जति लामो सार्वजनिक यात्रामा पनि दुई डलर मात्र लाग्छ, निशुल्क स्वास्थ्यसेवा छ, अझ आपतकालीन स्थितिमा ९९९ घुमाएपछि नजिकैको हेलिप्याडमा हेलिकोप्टर आइहाल्छ,’ उनले थपे।
यी बालाई बेलायतीहरु फर्केपछिको हङकङ सरकारबारे कुनै गुनासो छैन। बरु उतिबेला गोराहरुले मात्र खान पाउने उच्च पदमा जेठो र साँहिलो छोरो पुगेकोमा गर्व रहेछ उनलाई। त्यो पद बताउन भने चाहेनन् उनले। हाम्रो बारेमा पनि जिज्ञासा राखे। मैले हङकङ टेकेदेखि अहिलेसम्मको विवरण छोटकरिमा सुनाएँ। हाम्रो वार्तालाप चाखपूर्वक सुनिरहेको छोराले फेरि गुगल पण्डितको आखत देखाउँदै समय घर्किएको इसारा गर्यो।
‘थ्यांक यु सो मच अङ्कल, नाइस टकिङ टु यु’ भन्दै हामी बाटो लाग्यौँ।
‘यु वेलकम, सि यु नेक्स्ट टाइम,’ भन्दै उनले हात हल्लाए। मलाई ठूलो भएपछि सहर जानलाग्दा गाउँमा आँगनको डिलबाट बाले बिदा गरेको सम्झना आयो।
हामी अब ताइ ओतिर सोझियौँ। सागर किनारा, ससाना माझी र कृषक बस्ती, खेतबारी, जङ्गल थोरैथोरै उकालो ओरालोबाटो हिँड्दै बाउछोराको वार्तालापले समय कटेको पत्तै भएन। उ, रानी कमिला, झ्यालिन्चा, रङबिरङका पुतली, गड्यौलाको फोटो खिच्दै मलाई देखाउँथ्यो। करिब तीन घण्टाको हिँडाइपछि ताइ ओ ऐतिहासिक माझी गाउँ आइपुगियो।
पटकपटक पुगिसकेको यो ठाउँलाई म हङकङको प्राकृतिक ‘भेनिस सहर’ भन्छु। समुद्री खाडीको छेउमा पानीमाथि तलबाटै अग्राखको निदालमा टेकिएका टिनले छाएका एकतले घरहरू यहाँको विशेषता हो। पश्चिम लान्ताउ द्वीपमा पर्ने ताङ्का समुदायका आदिवासी बाहुल्यता भएको यो ऐतिहासिक माझी गाउँमा सोह्रौँ शताब्दीमा छोटो समय भने पोर्चुगिज आधिपत्य रह्यो।
अहिले पनि अधिकांशले माछा मारेरै जीवन यापन गर्छन् भने पछिल्लो पुस्ता सहरप्रेमी भएको छ। सुकाएका र ताजा माछाका चिनियाँ परिकारका लागि यो ठाउँ प्रसिद्ध छ। यो ठाउँ पैदलबाहेक डुङ्गा, बस र निलो रङको लान्ताउ ट्याक्सीबाट पनि पुग्न सकिन्छ। पर्यावरणलाई ध्यानमा राख्दै यीबाहेक अरु कुनै पनि निजी सवारी साधन लिएर जान पाइन्न। तर यहाँ स्थायी बसोबास गर्नेहरुले भने विशेष पास लिएका हुन्छन्।
करिब ७ घण्टामा १६ किलोमिटर हिँडाइपछि लखतरान हुँदै खुला चिनियाँ भोजनालयमा पस्यौँ। खाना अर्डर गरेर चिसो चिन्ताउ बियर चियर्स गर्दैगर्दा पहेँलो सूर्यले आकाश, बादल र निलो समुद्रलाई नै पहेँलपुर पार्दै समुद्रमा डुबुल्की मार्यो।
केही बेरमा अजङ्गको हवाइजहाज आकासिँदै थियोे। मैले आँखाले भ्याइन्जेल हेरिरहेँ। ‘ए बाउ के हेरेको?’ छोराले कोट्यायो। मैले भनेँ, ‘हवाइजहाज! अन्तरिक्षमा गएर पृथ्वी हेर्ने ईच्छा छ मेरो। एउटा आँखाले कर्मभूमि हङकङ, अर्को आँखाले जन्मभूमि नेपालको धादिङ केवलपुर एकैपटक। अलि चाँडै पो जन्मिएछ गाँठे।’
‘अन्तरिक्ष पर्यटनको सुरुआत भइसक्यो त, अब पन्ध्रबीस वर्षमा सायद टिकट पनि सस्तेला। मैले जागिर खाएर पैसा कमाएँ भने म लैजाउँला,’ छोराले भन्यो।
हङकङमा जन्मेर हुर्केर माध्यमिक शिक्षा र लन्डनबाट उच्चशिक्षा लिए पनि उसको भनाइले पैतृक नेपाली गुण जीवितै रहेको आभास भयो।
‘अब पन्ध्रबीस वर्ष बाँचिएर टिकट सस्तिए पनि सायद स्वास्थ्यले साथ नदेला,’ मैले भनेँ, ‘तिमी त पक्कै अन्तरिक्ष जान पाउँछौ। आफ्नो आँखाबाट एकपटक मेरो आँखा सम्झेर आफ्नो पुर्ख्यौली थातथलो र हङकङलाई हेर्नू।’
मेरो कुराले ऊ केही भावुक भयो।
मैले सम्झाएँ, ‘उहिले म बासँग सहर जान रमाउँथेँ। अहिले तिमी मसँग गाउँ र जङ्गल घुम्न रमाउँछौ। सायद अब तिम्रो सन्तानले तिमीसँग अन्तरिक्षमा जान रमाउनेछन्। यो श्रृष्टिको निरन्तर प्रक्रिया हो।’
उसले मुन्टो हल्लाउँदै दह्रोगरी मेरो कुम समायो। झम्के साँझमा दिनभरिको रमाइलो सम्झना बोकेर हामी बस चढेर तुङचुङ फर्कियौँ।
प्रतिक्रिया