नेपाल टेलिकम नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रायोजक बन्ने भएको छ। बुधबार भएको दुई पक्षीय सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार नेपाल टेलिकम आगामी एक वर्षसम्मका लागि नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक बनेको छ। प्रायोजन स्वरुप टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउनेछ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले प्रहरी महानिरीक्षक खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन्। सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागि हुनेछन्।
जर्सीको अगाडिको मागमा माथि दाहिने पट्टि नेपाल टेलिकमको लोगो रहनेछ भने बीच भागमा नेपाल टेलिकमको नाम लेखिनेछ। त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँ पट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो रहनेछ। त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवर्धनात्मक सामग्रीमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिम तथा फुटबल खेलाडीको नाम निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछ।

प्रतिक्रिया