राजनीति


निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा

निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १४:२६,

जिल्ला निर्वाचन कार्यालय दाङले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा आज पठाएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर बिदाइ गरिएको हो। आज नै कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन्।

कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटिका, मतपत्र, आवयश्क पर्ने अन्य सामग्री प्रदान गरेर पठाइएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। जिल्लामा हुने उपनिर्वाचनमा ३४ मतदानस्थल र ८२ मतदान केन्द्र छन्।

प्रत्येक मतदान केन्द्रमा पाँच जना कर्मचारी र स्वयंसेवक रहने भएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा दुई स्थानमा उपनिर्वाचन हुँदैछ। प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं ३ (ख) मा उपनिर्वाचन हुँदैछ भने घोराही उपमहानगरपालिकाको वडा नं १६ मा उपनिर्वाचन हुँदैछ। मंसिर १४ गते हुने निर्वाचनमा ७३ हजार १७२ जना मतदाता छन्। महिला ३७ हजार ३०५, पुरुष ३५ हजार ८६६ तथा एक जना तेस्रो लिंगी रहेको निर्वाचन कार्यालयले जनाएको छ। घोराही उपमहानगरपालिकाको वडा नं १६ मा चार हजार ४५३ जना मतदाता छन्।

प्रदेशसभा निर्वाचनअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं १, २, १०, ११ मा १६ हजार ७१ मतदाता रहेका छन्। त्यस्तै दंगीशरण गाउँपालिकामा १५ हजार ६९६, बबई गाउँपालिकामा १८ हजार ८४९ र शान्ति नगरगाउँपालिकामा १८ हजार १३ मतदाता छन्।

उपनिर्वाचन हुने क्षेत्रका छ मतदान केन्द्र अति संवेदनशीलमा राखिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचन क्षेत्र ३ ‘ख’ का छ वटा मतदान केन्द्र सुरक्षा दृष्टिले अति संवेदनशीलमा राखेको हो। जिल्लाका ३४ मतदान केन्द्रमध्ये छ वटा केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad