ad ad

खेल


च्याम्पियन छविलाई शरदले दिएको निरन्तरता

च्याम्पियन छविलाई शरदले दिएको निरन्तरता

यज्ञराज जोशी
माघ ५, २०७८ बुधबार २०:३४, काठमाडौँ

२०७६ पुसमा भएको पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणमा अनपेक्षित रुपमा शरद भेषावकरको टोली पोखरा पल्टन समूह चरणबाटै बाहिरियो। 

उपाधि दाबेदार मानिएको टोली समूह चरणबाटै बाहिरिँदा कप्तान शरदको फाइनलिस्टको छविमा समेत ब्रेक लाग्यो। त्यसअघि फ्रेन्चाइज घरेलु क्रिकेटमा शरदको टोली फाइनल नपुगेको उदाहरण नै थिएन। 

सन् २०१४ मा जोहरा स्पोर्टसले नेपालमा पहिलोपटक नेपाल प्रिमियर लिगका रुपमा फ्रेन्चाइजी क्रिकेट भित्र्यायो। सोही संस्करणमा पञ्चकन्या तेजलाई च्याम्पियन बनाउँदै शरदले सफल यात्रा सुरु गरे।

त्यसयता शरदले चार घरेलु क्रिकेटका उपाधि र पाँच वटामा उपविजेता बन्दै आफ्नो फाइनलिस्ट छविलाई निरन्तरता दिएका थिए। 

पीपीएलको दोस्रो संस्करणमा आफ्नो फाइनलिस्ट छविमा धक्का लागेपछि भने उनले आफ्ना लागि सिकाइ भएको प्रतिक्रिया दिएका थिए। 

‘हरेक प्रतियोगितामा फाइनल पुग्न सजिलो छैन। टी–२० गेम सोचेको जस्तो हुँदैन,’ त्यसबेला शरदले भनेका थिए, ‘म सकारात्मक नै छु। मेरो लागि यो सिक्ने मौका बनेको छ। मेहनत गरेर अर्को वर्ष नयाँ टिम बनाएर आउनेछौं।’

तर, कोरोनाका कारण शरदले भनेजस्तो भएन। २०२० मा नेपाली घरेलु क्रिकेट ठप्प हुँदा चार महिनाअघि कोरोनाको असर केही साम्य भएका बेला एभरेस्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आयोजना त भयो, तर शरदले आफ्नो फाइनलिस्ट छविलाई ब्युँताउन सकेनन्। उनको टोली भैरहवा ग्लाडियटर्स दोस्रो क्वालिफायर्सबाट बाहिरिएको थियो। 

No description available.

ईपीएलपछि शरदले यसपल्ट नेपाल एपीएफ क्लबको कप्तानी गर्दै प्रधानमन्त्री(पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा उत्रिएका थिए। बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधि जित्यो। उपाधि जितेसँगै शरदले आफ्नो च्याम्पियन छविलाई निरन्तरता दिन सफल भएका छन्। 

नेपाली क्रिकेटलाई व्यावसायिक चरणमा धकेल्ने फ्रेन्चाइजी क्रिकेटको सुरुवात भएदेखि शरदले उचालेको यो चौथो ट्रफी हो। 

यसअघि उनले ५० ओभरको नेपाल प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग (ईपीएल)को पहिलो संस्करणको उपाधि र पीपीएलको पहिलो संस्करणको उपाधि जितेका थिए। यस्तै उनी ईपीएलको दोस्रो र तेस्रो तथा धनगढी प्रिमियर लिग (डीपीएल)को पहिलो र तेस्रो संस्करण तथा पीएम कपको चौथो संस्करणको उपविजेता कप्तान पनि हुन्।​

नेपाल क्रिकेट संघ(क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निलम्बनमा राखेपछि राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले पीएम कप सुरु गरेको हो। पीएम कपको सुरुवाती तीन संस्करणमा क्रमशः ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी र पृथु बास्कोटाले एपीएफको कप्तानी सम्हालेका थिए। 

तर अघिल्लो वर्षदेखि टोलीको नेतृत्व सम्हालेका शरदले लगातार दुई वर्ष एपीएफलाई फाइनल पुर्याएका छन्। अघिल्लो संस्करणको फाइनलमा आर्मीसँग ३३ रनले पराजित हुँदै एपीएफ उपविजेता बनेको थियो। यस संस्करणमा उनले टोलीलाई च्याम्पियन नै बनाए। जितको श्रेय आफ्ना खेलाडीलाई दिन उनी पछि परेनन्।  

‘धेरै पछि फाइनल जित्न पाउँदा पुरै टिम एकदमै खुसी छौं,’ उपाधिपछि त्रिवि मैदानमा सञ्चारकर्मीसामु शरदले भने, ‘बिहान टियू मैदानमा ब्याटिङ गर्न गाह्रो हुन्छ। १० नम्बरसम्मकै खेलाडीले योगदान गरेर चुनौतीपूर्ण लक्ष्य पेस गरौं। प्रदीप ऐरी, आशिफ शेख, किशोर महतो, अविनाश बोहरालगायत खेलाडीले प्रतियोगिताभरि नै उत्कृष्ट प्रदर्शन गर्नुभयो।’

No description available.नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बेस्ट फिनिसरको उपाधि पाएका शरदले झण्डै डेढ दशक निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहेका छन। जारी प्रतियोगिताबाट युवा खेलाडीहरुले डररहित क्रिकेट खेलेको र त्यसले नेपाली क्रिकेट टोलीमा रन नबन्ने समस्यालाई समाधान गर्ने उनको विश्वास छ।    

‘युवा खेलाडीहरु आएका छन्। उनीहरुले डररहित क्रिकेट खेलिरहेका छन्,’ विश्वकप छनोटका खेल नजिकिँदै गर्दा उनले भने, ‘यसअघि नेपाली क्रिकेटमा यो ट्रेन्ड देखिँदैनथ्यो। अहिले ठूलो परिवर्तन देखिएको छ। यसले आउने प्रतियोगिताका लागि टप अर्डरसँगै नेपालले राम्रो ब्याट्सम्यान पाउने निश्चित छ।’ 

घरेलु क्रिकेटमा फ्रेन्चाइज क्रिकेट सुरु भएयता शरदको यात्रा
नेपाल प्रिमियर लिग(५० ओभर)– उपाधि

एभरेस्ट प्रिमियर लिग– पहिलो संस्करणः उपाधि, दोस्रो संस्करणः उप–विजेता, तेस्रो संस्करणः उप–विजेता, चौथो संस्करणः क्वालिफायर

धनगढी प्रिमियर लिग– पहिलो संस्करणः उप–विजेता, दोस्रो संस्करणः व्यक्तिगत कारणले नखेलेको, तेस्रो संस्करणः उपविजेता

पोखरा प्रिमियर लिग– पहिलो संस्करणः विजेता, दोस्रो चरणः समूह चरणबाटै बाहिर

पीएम कप– तेस्रो संस्करणः उपविजेता, चौथो संस्करणः विजेता।

यो पनिः फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .