खेल


फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

यज्ञराज जोशी
पुस ७, २०७६ सोमबार १२:४२,

शरद भेषावकर नेपाली फ्रेन्चाइजी क्रिकेटका सफल कप्तान हुन्। सोमबारसम्म आफूले खेलेका हरेक फ्रेन्चाइजी क्रिकेटको उनी फाइनलमा पुगेको इतिहास थियो। उनी तीन फ्रेन्चाइजी उपाधि र ४ वटामा उपविजेता बनेको थिए।

तर, मंगलबार भने शरदको फ्रेन्चाइजी फाइनलिस्टको यात्रामा ब्रेक लाग्यो। अब उनी खेलेका सबै फ्रेन्चाइजीको फाइनलमा पुग्ने सफल खेलाडी रहेनन। मंगलबार पोखरा प्रिमियर लिग(पीपीएल)को समूह चरणबाटै बाहिरिएपछि शरदको सदावहार फाइनलको छविमा पूर्णविराम लागेको हो।

नेपालमा हालसम्म भएका फ्रेन्चाइजी प्रतियोगितामा शरदको टोलीले ५० ओभरको नेपाल प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग(ईपीएल)को पहिलो संस्करणको उपाधि र पीपीएलको पहिलो संस्करणको उपाधि जितेको छ। यस्तै उनी इपीएलको दोस्रो र तेस्रो तथा धनगढी प्रिमियर लिग(डीपीएल)को पहिलो र तेस्रो संस्करणको उपविजेता कप्तान पनि हुन्।

सन् २०१४ मा जोहरा स्पोर्टसले नेपालमा पहिलोपटक नेपाल प्रिमियर लिगका रुपमा फ्रेन्चाइजी क्रिकेटको सुरुवात गरेको हो। ६ वटा व्यवसायिक प्रतिष्ठानहरुको नाममा बनाइएको टोलीमध्यृृे शरदको पञ्चकन्या तेजले फाइनलमा शक्ति गौचनको टोली जगदम्बा जाइट्सलाई पराजित गर्दै देशमा भएको पहिलो फ्रेन्चाइजी क्रिकेटको उपाधि जितेको थियो।

टी–२० फ्रेन्चाइजी भने जोहराले नै एभरेष्ट प्रिमियर लिग(इपीएल)का रुपमा २०१६ मा गरेको थियो। तिनै ६ वटा टोलीहरु यसमा पनि भिडेका थिए। फाइनलमा पञ्चकन्या तेजले नै ज्ञानेन्द्र मल्लको टोली कलर्श एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दा शरद लगातार नाममा दोस्रो फ्रेन्चाइजी लिग जित्ने कप्तान बने।

यस्तै गतवर्ष भएको पीपीएलको पहिलो संस्करणको फाइनलमा पारस खड्काको टोली चितवन राइनोजलाई शरद भेषावकरको घरेलु टोली पोखरा पल्टनले हरायो। त्योसँगै शरद नेपाली फ्रेन्चाइजी क्रिकेटमा सर्वाधिक सफल कप्तान बनेँ। जुन अहिलेपनि कायम छ। शरद पनि पारस फ्रेन्चाइजी लिगमा सफल दोस्रो कप्तान हुन। उनका नाममा दुई उपाधि छन।

sharad 111

शरदको फाइनलिस्ट छवि तथा साविक विजेता पोखरा पल्टनलाई यसपटक पनि उपाधि दाबेदार मानिएको थियो। तर, सबैको अपेक्षा विपरित पाँचमध्ये चार खेलमा पराजय भोगेपछि पोखरा समूह चरणबाटै मात्रै बाहिरिएन, शरदको फाइनलिस्टको छविको असोचनीय अन्त्य समेत भयो।

शरद आफ्ना लागि यो सिक्ने मौका भएको बताउँछन। ‘हरेक प्रतियोगितामा फाइनल पुग्न पनि सजिलो छैन्। टि–२० गेम सोचेको जस्तो हुँदैन्,’ शरदले भने, ‘म सकरात्मक नै छु। मेरो लागि यो सिक्ने मौका बनेको छ। हार्दाखेरि केके मा सुधार ल्याउनुपर्ने रहेछ, सिक्ने मौका पाए। मेहनत गरेर अर्को वर्ष नयाँ टिम बनाएर आउनेछौं।’

नेपाली फ्रेन्चाइजी क्रिकेटमा शरदको फाइनल यात्रा

नेपाल प्रिमियर लिग(५० ओभर)- उपाधि

एभरेष्ट प्रिमियर लिग - पहिलो संस्करणः उपाधि, दोस्रो संस्करणः उप-विजेता, तेस्रो संस्करणः उप-विजेता

धनगढी प्रिमियर लिग- पहिलो संस्करणः उप-विजेता, दोस्रो संस्करणः व्यक्तिगत कारणले नखेलेको, तेस्रो संस्करणः उपविजेता

पोखरा प्रिमियर लिग- पहिलो संस्करणः विजेता, दोस्रो चरणः समूह चरणबाटै बाहिर

प्लेअफ मै डिजर्भ नगर्ने टिम
साविक विजेता पोखराले लिग चरणको पहिलो खेलमा अर्को उपाधि दाबेदार टोली काठमाडौं गोल्डन्स वारियर्शलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि यात्रा थालेको थियो। तर त्यसपछिका चार खेलमा भने पोखरा थला पर्यो।

कप्तान शरदकै भाषामा बाँकी चार खेलमा उनको टोलीको प्रदर्शन मुल्यांकन गर्ने हो भने त्यो प्लेअफमा पुग्न डिजर्भ गर्ने खालको थिएन। टिमको ब्याटिङ, बलिङ, फिल्डिङ केही चलेन।

प्रतियोगितामा पोखराका खेलाडीहरुको स्कोर हेर्ने हो भने टिठ लाग्दो छ। अलराउण्डर कुशल भुर्तेल सबैभन्दा बढि रन स्कोरर रहे। उनले ५ खेलको ५ इनिङ्समा बनाएको सय रन नै पोखराका खेलाडीले हिर्काएको सर्वाधिक रन हो।

कप्तान शरद भेषावकर ५ खेलको चार इनिङ्मा ५६ रनमा रोकिए। अर्का अनुभवी खेलाडी विनोद भण्डारीको प्रदर्शन झनै दयनीय रह्यो। उनले पाँच खेलको चार इनिङ्समा २६ रनमात्रै जोड्न सकेँ। राष्ट्रिय टिमबाट खेलिरहेका रोहित पौडेलले ५ खेलको चार इनिङ्मा ५१ रनमात्रै जोडे।

‘यो प्रतियोगितामा जसरी खेल्यौं त्यसले हामी प्लेअफ डिजर्भ गर्दैनथ्यौं। मेहनत गरेर अर्को वर्ष नयाँ टिम बनाएर आउनेछौं,’ शरद चित्त बुझाउँछन।

दोस्रो खेलमा पारसको टोली चितवनसँग ६ विकेट, तेस्रो खेलमा विराटनगर टाइटन्ससँग ४५ रन, चौथो खेलमा बुटवल ब्लास्टरसँग ८ विकेट र अन्तिम खेलमा धनगढी ब्लुजसँग ५ विकेटले पराजित हुँदा कुनैपनि खेलाडीको सम्झन लायक प्रदर्शन रहेन।

मंगलबार धनगढीविरुद्धको अन्तिम खेलमा पनि राम्रो रन रेटमा जित्न सकेको भए टोलीको प्ले अफ सम्भावना रहन्थ्यो। तर, प्रतियोगिताकै सबैभन्दा कम ७९ रनमै समेटिएपछि पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो।

‘रनरेट राम्रो बनाउँन पहिले ब्याटिङ गर्दै कम्तिमा दुई सय रन हान्नुपर्नेमा हामी क्लियर थियौं। तर, चाडैँ विकेटहरु गएका कारण सजिलो भएन। हामी ७९ मै रोकियौं,’ अन्तिम खेलमा हिट विकेट भएका शरदले भने।

टोलीमा नबनेको विश्वासको वातावरण


यसपटक पोखराका खेलाडीहरुलाई मैदानबाहिरका इस्युहरुले पनि प्रभावित पार्यो। टोली मालिकले अन्तिम समयसम्म पनि खेलाडीसँग कुनै किसिमको सम्झौता नगर्दा शरदकै भाषामा खेलाडीहरुले असुरक्षित महशुस गरे।

‘टिम व्यवस्थापनमा पनि व्यवसायिकता देखिएन। प्लेयरलाई अनुबन्ध गर्ने प्रक्रियाहरु यसपटक केही पनि भएन,’ शरदले भने, ‘त्यसले विश्वासको वातावरण पनि बनेन्। खेलाडीहरुले पनि असुरक्षित महशुस गरे। टुर्नामेन्ट अघिसम्म पनि एउटा औपचारिक कुरा भएको थिएन। साविकको च्याम्पियन टिम भइकन पनि खेलाडीहरुलाई त्यो चित्त बुझेको थिएन।’

शरद आफैले टिम सञ्चालकसँग खेलाडीको सम्झौताका विषयमा कुरा पनि उठाएका थिए। तर सञ्चालकले सम्झौता गर्ने वचन दिएपनि टोली बाहिरिसक्दा समेत खेलाडीको सम्झौता भएको छैन।

‘यसलाई नै हारको कारण भन्न त मिल्दैन तर सबै कुराहरु एकअर्कासँग जोडिएका हुन्छन्। अन द फिल्ड अफ द फिल्ड पनि धेरै इस्युहरु भए। मैदानमा पनि त्यही कुरा देखियो’ शरदले भने, ‘खेलाडीलाई सेक्यूरिटी पार्ने नै यस्ता टुर्नामेन्टले हो। यसपटक जे कमिकमजोरी भएको छ। त्यसलाई सकरात्मक रुपमा लिएर सुधार्ने कोशिश गर्नुपर्छ। यो सबैको लागि सिक्ने अवसर भयो।’

अन्तिम समयमा विदेशी खेलाडीहरु नआउँदा...
पोखराले यसपटक अन्तिम दिन हतार हतार विदेशी खेलाडी अनुबन्ध गरेको थियो। कारण, त्यसअघि ड्राफ्ट गरिसकेका मुम्बईका ओपनिङ ब्याट्सम्यान प्रयाग र गत सिजन पनि खेलिसकेका यूएईका मोहम्मद नाभेद अन्तिम समयमा प्रक्रिया नमिलेपछि पोखरा नआउने भएका थिए।

‘हामीले ड्राफ्ट गरेका खेलाडीहरु अन्तिम समयमा नआउने थाहा भयो। हामीलाई ब्याट्सम्यान चाहिएको थियो। तर, खेलाडीको प्रक्रिया नमिलेपछि अन्तिम समयमा रातारात बलर भएपनि विदेशी खेलाडीका रुपमा ल्याइयो,’ पोखराका सहायक प्रशिक्षक रिजन प्रज्युले भने, ‘त्यसले हाम्रो टिम ब्यालेन्स भएन। टुनामेन्ट भरि नै ब्याटिङमा कमजोरी देखियो।’

यसपटक पोखराले ल्याएको विदेशी ब्याट्सम्यानमा पञ्जाबका रणजी खेलाडी रविइन्दर सिंह हुन्। उनको ब्याट पनि खासै चलेन। ५ खेलको ५ इनिङ्समा उनले ९३ रनमात्रै जोड्न सकेँ। यस्तै बलरका रुपमा ल्याइएका मुम्बईका प्राथमेस डाकेले ४ विकेटमात्रै लिन सकेँ। यस्तै दिल्ली डेयरडेभिल्स, कोलकत्ता नाइट राइडर्शबाट इण्डियन प्रिमियर लिग खेलिसकेका खेलिसकेका सर्बजित लड्डाको प्रदर्शन पनि स्तर अनुसार रहेन। उनले ५ खेलमा ६ विकेटमात्रै लिन सके।

सहायक प्रशिक्षक प्रजु नेपाली खेलाडीको प्रदर्शनबाट पनि निराश देखिए। ‘पेपरमा हाम्रो टोली बलियो थियो। आठ जना त अन्तर्राष्ट्रिय खेलाडीमात्रै थिए। उनीहरुले पनि चलेनन। गत सिजनमा उपाधि उचाल्दा हामीले प्रत्येक खेलमा १५०–६० को औषतमा रन बनाएका थियौ। तर, यसपटक १०० को औषतमा पनि रन बनेन। नाम चलेका खेलाडी पनि विकेटमा टिक्नै सकेनन्,’ प्रजुले गुनासो पोखे।

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .