खेल


सागकी स्वर्ण विजेता जुनीसहित तीन जनाले पूरा गरे अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण

सागकी स्वर्ण विजेता जुनीसहित तीन जनाले पूरा गरे अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण

नेपालखबर
असार २१, २०८३ आइतबार १७:३४, काठमाडौँ

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुनी राईसहित नेपालका तीन उसु निर्णायकले चीनमा आयोजित अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण तथा प्सर्टिफिकेसन कोर्स सफलतापूर्वक पूरा गरेका छन्।

राईसँगै निर्णायकहरू मञ्जुर महर्जन र दिलीप लामाले हाइनान प्रान्तको हाइकोउमा जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन भएको साताव्यापी प्रशिक्षणमा सहभागिता जनाएका थिए।

अन्तर्राष्ट्रिय उसु महासंघ (आईडब्लुईएफ), एसियाली ओलम्पिक काउन्सिल(ओसीए) र एसियाली उसु महासंघको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एसियाका ३९ देशका १६६ निर्णायकको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय स्तरमा उसु निर्णयका मापदण्डलाई एकरूप बनाउने तथा निर्णायकहरूको सैद्धान्तिक ज्ञान र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको थियो।

नेपाल प्रहरी क्लबको उसु टोलीकी प्रशिक्षकसमेत रहेकी राईका अनुसार प्रशिक्षणले आधुनिक उसुको प्राविधिक पक्षबारे गहिरो ज्ञान हासिल गर्न महत्वपूर्ण सहयोग पुगेको छ।

‘अन्तर्राष्ट्रिय उसुमा लागू भएका नियम परिवर्तन तथा प्रयोगमा आएका नयाँ प्रविधिबारे विस्तृत जानकारी प्राप्त गर्ने अवसर मिल्यो,’ राईले भनिन्।

उनले आगामी एसियाली खेलकुदका लागि नेपालको तयारीमा समेत यो प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गरिन्।

‘यो निकै फलदायी प्रशिक्षण रह्यो। विशेषगरी नियमहरूमा भएका महत्वपूर्ण परिवर्तनलाई बुझ्दै टोलीलाई आगामी एसियाली खेलकुदका लागि अझ प्रभावकारी रूपमा तयारी गराउन यसले ठूलो सहयोग पुर्‍याउनेछ,’ राईले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad