ad ad

खेल


खेलाडी कारबाहीपछि तरंगित घरेलु क्रिकेट

खेलाडी कारबाहीपछि तरंगित घरेलु क्रिकेट

लक्ष्मी जि.सी
पुस ५, २०७८ सोमबार ८:२३, काठमाडौँ

विवादका कारण घरेलु क्रिकेट फेरि एकपटक तरंगित भएको छ। विगतमा अनेक किसिमका विवादमा पर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनसम्म भोगेको नेपाल क्रिकेट संघ (क्यान) यसपटक खेलाडीमाथि निर्मम भएको छ। 

खेलाडी आचारसिंहता उल्लघंन गरेको भन्दै क्यानले मंसिर २९ गते तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेपछि मिश्रित प्रतिक्रिया आउने क्रम जारी छ। ज्ञानेन्द्र र दीपेन्द्रलाई जिम्मेवारीबाट हटाउँदै ४ खेलाडीलाई ६ महिनाको सेन्ट्रल कन्ट्रयाक्टबाट अलग राख्ने निर्णय गरेको छ। 

कतिले खेलाडीभन्दा खेल ठूलो हुन्छ, ठूलो खेलाडीले पनि अनुशासन तोड्न मिल्दैन भन्ने प्रतिक्रिया दिइरहेका छन्। क्यानले गरेको कडा किसिमको निर्णय ठीक छ भन्ने उनीहरुको मत छ। कतिले भने यसलाई खेलाडीमाथि अन्याय र क्यानको गलत कदम भएको बताएका छन्। क्रियापछि प्रतिक्रिया हुनु स्वाभाविक नै हो। प्रतिक्रिया सकारात्मक वा नकारात्मक दुवै किसिमको आउँछ। यद्यपि कारबाही गर्नुका साथै स्पिनर सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णयबाट क्यान पछि हट्ने मनसायमा देखिँदैन। 

क्रिकेट खेलाडीहरुमा गुटबन्दी रहेको हल्ला चलेको लामो समय भइसक्यो। कारबाहीपछि नयाँ नयाँ घटनाक्रम पनि विकास भइरहेका छन्। देशको लोकप्रिय खेलमध्येको एक क्रिकेटको कप्तान, उप कप्तानसहित अन्य खेलाडी कारबाहीमा पर्दा खेलप्रति चासो राख्नेको ध्यानाकर्षण हुने नै भयो।    

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही गरेको विषयमा चासो देखाएपछि आन्तरिक क्रिकेट विवादमा धेरैको चासो बढेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडी कारबाहीको बारेमा चासो राखेका थिए। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बालुवाटार पुगेर क्रिकेट खेलाडीमाथि क्यानले गरेको कारबाहीका विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको खबर बाहिरिएपछि क्रिकेटमा फेरि राजनीतिक हस्तक्षेप बढ्न सक्ने आकलन गरिएको थियो। सोही दिन खेलकुदमन्त्री गहतराजले क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीलाई मन्त्रालय बोलाएर कारबाही पुनर्विचार गर्न आग्रह गरेका थिए। 

क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि सही विधि अपनाउनुपर्ने मन्त्री गहतराजले बताएका थिए। खेल क्षेत्रमै आफ्नो ऊर्जावान समय खर्चिएका खेलाडीलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै उनले चिन्तासमेत व्यक्त गरेका थिए।  यो विषयलाई भने तत्कालीन कप्तान मल्लले सकारात्मकरुपमा लिएको बताएका छन्। ‘यसलाई सकारात्मक रुपमा लिनपर्छ कि क्रिकेटको विषयमा सबैले चासो देखाउनुभएको छ’, उनले भने। 

त्यसै दिन कारबाहीमा परेका ज्ञानेन्द्रसहित ४ खेलाडीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सेन्ट्रल कन्ट्याक्ट र आफूहरुमाथि गरेको कारबाहीमा पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका थिए। खेलाडीको वर्गीकरणबारे सुरुवातदेखि नै आफूहरुको असहमति रहेको ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा बताएका थिए। 

यसैबीच देउवाले क्यानका अध्यक्ष चन्दसँग शनिबारको भेटमा खेलाडीको कारबाहीका बारेमा चासो राखेका छन्। चन्दले खेलाडीलाई कारबाही गर्नुपर्ने कारण आफूले प्रधानमन्त्रीलाई जानकारी गराएपछि निर्णय गर्दा विधि विधानअनुसार गर्न सुझाव दिएको बताएका छन्। 

खेलाडीले पत्रकार सम्मेलन गरेको भोलिपल्ट नै चन्दले प्रधानमन्त्री देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपी चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति भएकाले उनले आफ्नो भेटलाई राजनीतिक भेटकारुपमा समेत अथ्र्याउन खोजे। देउवा कांग्रेसको पार्टी सभापति पनि रहेकाले आफ्नो नियमित भेटघाट भइराख्ने र त्यही क्रममा क्रिकेटका विषयमा पनि कुराकानी भएको चन्दले बताए।

चन्दले भने, ‘अनुशासन पनि कायम रहने, क्रिकेट वातावरण पनि नबिग्रने र खेलाडीमाथि पनि मर्का नपर्ने गरी मध्यमार्गी बाटो निकालेर अघि बढ्न प्रधानमन्त्रीले सुझाव दिनुभएको हो।’

छलफलका लागि क्यान तयार
क्यान अध्यक्ष चन्दले पछिल्ला विवादका विषयमा खेलाडी संघ छलफल गर्न क्यान तयार रहेको पनि बताएका छन्। ‘हामी त परिवारका सदस्य हौं। छलफल गरेर अगाडि बढ्छौँ’, उनले भने, ‘त्यसमा अनुशासनको कुरा पनि आउँछ। खेलाडीको सुविधा बढाउने विषयमा हामीले कहिल्यै कन्जुस्याँइ गर्दैनौं।’ तर, छलफलका लागि कसले पहल गर्ने भन्ने विषयमा चन्दले प्रष्ट पारेका छैनन् । 

क्यान-खेलाडी विवाद 

खेलाडीको वर्गीकरण सार्वजनिक गर्दा क्यान हरेकपटक विवादमा तानिने गरेको छ। यसअघि पनि वर्गीकरणको समयमा नै विवाद आएपछि क्यानले वर्गीकरण सच्चाएर सार्वजनिक गरेको थियो। 

यसपटक पनि क्यानले वर्गीकरण सार्वजनिक नहुँदै खेलाडीलाई हस्ताक्षरका लागि बोलाएको थियो। वर्गीकरणका विषयमा तत्कालीन कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्र, सोमपाल र कमलले कार्तिकको अन्तिम हप्ता मिडियामा आफूहरुको असन्तुष्टि पोखेका थिए। 

उनीहरुले वर्गीकरणमा असन्तुष्टि जनाउँदै त्यसको आलोचना गरेका थिए। खेलाडीहरु मिडियामा आएर क्यान र वर्गीकरणको विषयमा बोलेपछि क्यानले चार खेलाडीसँग गत कार्तिक २५ गते स्पष्टीकरण सोधेको थियो। त्यसमा खेलाडीहरुले कार्तिक ३० गते जवाफ दिएका थिए। त्यसको केही दिनपछि ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ गते क्यानलाई नै ७ दिनको समय सिमा दिएर वर्गीकरणबारे स्पष्टीकरण सोधे। खेलाडीहरुले त्यसमा ११ बुँदे माग पनि क्यान सामु राखेका थिए। 

खेलाडीहरुले क्यानलाई दिएको जवाफमा चित्त नबुझेपछि जनाउँदै मंसिर ८ गते दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणमा पुरानै कुरा दोहोर्‍याएर चित्त बुझ्दो जवाफ नआएपछि क्यानले खेलाडीलाई कारबाही गर्न प्रक्रिया अघि बढेको हो। 

क्यान र खेलाडीबीचको विवाद चर्किँदै जाँदा क्यानका केन्द्रीय सदस्य छुम्बी लामासहित कप्तान ज्ञानेन्द्र मल्ल र केही खेलाडीले राखेप सदस्य सचिव टंकलाल घिसिङसँग भेट गरेका थिए। त्यसपछि क्यान र खेलाडीबीचको दुरी झनै बढेको हो।  

विवाद बढ्दै जाँदा कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा रहेको समितिले गरेको सिफारिसका आधारमा ज्ञानेन्द्रसहितका खेलाडीमाथि कारबाही भएको छ। विवादको समाधान कसरी हुन्छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .