ad ad

खेल


प्रशिक्षकलाई देखाउन सन्दीप अन्तरिम कप्तानमात्रै!

प्रशिक्षकलाई देखाउन सन्दीप अन्तरिम कप्तानमात्रै!

नेपालखबर
पुस १, २०७८ बिहिबार ११:२५, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई केवल अन्तरिम कप्तानको रुपमा नियुक्त गरेको खुलेको छ। 

क्यानको बुधबार बसेको बोर्ड बैठकले अनुशासन उल्लंघन गरेका भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै उनको स्थानमा सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गर्ने निर्णय गरेको थियो। 

क्यानका कार्यसमिति एक सदस्यका अनुशासन यू–१९ टोलीका अनुसार तत्काल नयाँ प्रशिक्षक आउने भएकाले कप्तानको स्थान खाली नराख्ने भन्दै सन्दीपको नाम अन्तरिम कप्तानमा चयन गरिएको हो। 

यो पनि: 

अघिल्लो सातामात्रै क्यानले क्यानडेली नागरिक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। 

‘सन्दीप अहिले अन्तरिम कप्तानमात्रै हुन्,’ ती सदस्यले नेपालखबरसँग भने, ‘तत्काल प्रशिक्षक आउन लागेकाले टोलीमा को कप्तान भन्ने प्रश्न नरहोस् भनेर सन्दीपको नाम अगाडि सारिएको हो। कोच आएपछि उहाँको सल्लाहपछि को कप्तान हुने टुंगो लाग्नेछ।’

पुबुदु दासानायके अर्को साता नेपाल आउने कार्यक्रम छ। उनको वर्कपरमिट लगायत कागजी प्रक्रिया अझै बाँकी छ। 

पुबुदुसँगको सल्लाहपछि सन्दीपलाई नै निरन्तरता दिने कि अर्को कप्तान चुन्ने निर्णय हुने ती सदस्यले जनाए। 

क्यानका कार्यसमिति सदस्य अमितवीर पाण्डेका अनुसार बोर्ड बैठकमा सन्दीपलाई कप्तान नियुक्त गर्ने ठाडो प्रस्ताव राखिएको थियो। उक्त प्रस्तावलाई विरोधका बाबजुद बहुमतले पारित गरियो। 

‘३ बजेका लागि भनेर बोलाइएको बैठकको जानकारी नै १० बजे गराइएको थियो। हामीलाई बैठकका एजेन्डाहरूबारे कुनै जानकारी दिइएको थिएन,’ पाण्डेले नेपालखबरसँग भने, ‘सन्दीपलाई नयाँ कप्तान नियुक्त गर्नेबारे पहिले कुनै छलफल नै भएको थिएन। सिधै ठाडो प्रस्ताव ल्याएर बहुमत देखाउँदै पारित गरिएको छ।’ 

मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै स्पष्टीकरण सोधिएको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। 

त्यहीँबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिले अनुशासन छानबिन समिति बनायो। 

उक्त समितिले तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो। 

उक्त प्रतिवेदनका आधारमा बोर्ड बुधबार बसेको बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारबाहीको डण्डा चलाएको हो। 

ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट हटाएको बोर्डले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .