ad ad

खेल


क्यान अध्यक्षको त्यो प्रश्न, जसले खेलाडीलाई कारबाहीको मुखमा धकेल्यो

क्यान अध्यक्षको त्यो प्रश्न, जसले खेलाडीलाई कारबाहीको मुखमा धकेल्यो

यज्ञराज जोशी
पुस १, २०७८ बिहिबार ९:९, काठमाडौँ

नेपाल क्रिकेट संघ(क्यान)ले खेलाडीहरुलाई कारबाही गर्न लागेको कुरा अघिल्लो दिन नै थाहा भइसकेको थियो। मिडियामा यसपल्ट खेलाडी ग्रेडिङलगायत विषयमा बोलेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाहीकै उदेश्यले दोहोर्‍याएर स्पष्टीकरण सोधिएको थियो। घटनाक्रम कारबाहीसम्म पुग्नुको एउटा कारण, खेलाडीहरूले साधारण स्पष्टीकरण दिनुको सट्टा ११ बुँदे मागपत्र पेश गर्नु पनि हो।  

टोलीका केही पूर्व र अहिलेको सिनियर खेलाडीले नै योजनाबद्धरुपमा क्यानलाई नीचो देखाउन ११ बुँदे मागपत्र राखेको क्यानको बुझाइ छ। त्यसैले उसले खेलाडीहरुलाई दोहोरो स्पष्टीकरण सोधेको हो। कार्यवाहक सचिव तथा खेलाडी अनुशासन छानबिन समितिका संयोजक प्रशान्तविक्रम मल्लले नेपालखबरसँगको अन्तर्वार्तामै कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो पद र शक्तिको दुरुपयोग गर्दै खेलाडीहरुलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको प्रमाणसमेत भएको समेत बताएका थिए। 

छानबिन प्रतिवेदनमा पनि स्पष्टीकरणसँगै खेलाडीलाई कारबाहीको सिफारिस गर्दै बोर्डमा बुझाइयो। अब पर्खाइ थियो, बोर्डले गर्ने निर्णयको। 

कार्यसमिति सदस्य अमितवीर पाण्डेका अनुसार बुधबारलाई बेलाइएको बोर्ड बैठकबारे बिहान १० बजेसम्म पनि सदस्यहरुलाई जानकारी थिएन। नेपालखबरले कार्यवहाक सचिव प्रशान्तलाई बोर्ड बैठक हुने, नहुनेबारे जिज्ञासा राख्दा उनी हडबडाएको जस्तो देखिएका थिए। बोर्ड बैठकबारे अध्यक्षसँग कुराकानी गरिरहेको भन्दै उनले फोन राखे। 

बिहान १० बजेपछि बल्ल कार्यसमिति सदस्यहरुलाई ३ बजे भर्चुअल माध्यमबाट बस्ने बोर्ड बैठकबारे सूचना गयो। तर, केही दिनअघि नै कार्यसमिति सदस्यहरुलाई बुधबार बैठक बस्नसक्ने र त्यसका लागि तयार हुन अनौपचारिकरुपमा भने भनिएको थियो। बुधबार बिहानसम्म कार्यसमिति सदस्यलाई एजेन्डाबारे थाहा नै थिएन। तर छानबिन समितिले बनाएको प्रतिवेदन नै बोर्ड बैठकको मुख्य एजेन्डा भएकोबारे कार्यसमिति सदस्यहरु जानकार थिए। 
 

यो पनि: 

यद्यपि के कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई उनीहरुको पदबाट नै अटाउनेसम्म कारबाही होला? भन्ने छनक कार्यसमिति सदस्यले नै पाएका थिएनन्। 

बोर्ड बैठकमा कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले छानबिन प्रतिवेदन पढेर सुनाए। प्रतिवेदन सदस्यहरुलाई बाँड्नुपर्ने प्रक्रियासमेत पूरा गरिएन। प्रतिवेदन बाहिर सार्वजनिक हुने डरले एकदमै गोप्य राखेको प्रशान्त बताउँछन्। प्रतिवेदनमा खेलाडीहरुले मिडियामा प्रचारबाजी गरेको, स्पष्टीकरणको ठाउँमा उल्टै क्यानमाथि ११ बुँदे आरोपपत्र बुझाएको, क्यानलाई नीचो देखाउँन खोजेको, खेलाडीहरुलाई जबरजस्ती हस्ताक्षर गर्दै कप्तानले गुटबन्दी गर्ने खोजेको लगायतका कुरा उल्लेख गर्दै कारबाही हुनुपर्ने निष्कर्ष निकालिएको थियो। 

प्रतिवेदन वाचन गरेलगत्तै कार्यवाहक सचिव प्रशान्तले नै कारबाहीको प्रस्ताव अघि सारेका थिए। उनले ज्ञानेन्द्र र दीपेन्द्रलाई क्रमशः कप्तान र उपकप्तानबाट हटाउने र बाँकी दुई खेलाडीहरु सोमपाल कामी र कमलसिंह ऐरीलाई केन्द्रीय सम्झौताबाट ६ महिनाका लागि अलग राख्ने प्रस्ताव अघि सारे। 

क्यानको कार्यसमिति १९ सदस्यीय छ। सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजाबाबु श्रेष्ठले राजीनामा दिएसँगै हाल १७ सदस्य बोर्डमा छन। जसमध्ये महिला सदस्य जयन्ती चन्द भर्चुअल बोर्ड बैठकमा उपस्थित थिइनन्। 

कार्यवाहक सचिवको प्रस्तावसँगै ६ जना बोर्ड सदस्यले कारबाही हुन नहुने माग राखे। कार्यसमिति सदस्यहरु अमितवीर पाण्डे, छुम्बी लामा, ऋषिराम गौतम, दाउद अन्सारी, करण मल्हत्रा र सन्जय सिंहले खेलाडीहरूमाथि कारबाही गर्नुभन्दा पनि मध्यमार्गी बाटो रोज्न सुझाएका थिए। 

कार्यसमिति सदस्य पाण्डे खेलाडी यति ठूलो निर्णय भर्चुअल माध्यमबाट नभएर टेबुलमै बसेर छलफलपछि लिनुपर्ने आवाज उठाएको बताउँछन्। 

‘कारबाही समाधान होइन भनेर हामीले पटकपटक भनेका हौं,’ पाण्डेले नेपालखबरसँग भने, ‘खेलाडी नै भएन भने क्यानको के अस्तित्व भयो र? यति ठूलो निर्णय भर्चुअल मिटिङबाटै गर्नुपर्ने होइन। टेबुलमै बसेर गर्नुपर्ने निर्णय थियो। भर्चअल बैठकमा दोहोरो कुरा पनि गर्न पाएनन्। अन्त्यमा उहाँहरुले आफूसँग बहुमत छ भन्दै निर्णय गर्नुभयो। यसमा हाम्रो असहमति रह्यो।’ 
पाण्डेले बहुमतका आधारमा निर्णय भइसकेपछि मान्नुको विकल्प तत्काल आफूहरुसँग पनि नरहेको बताए। तर, पछि छलफल गरेपछि उपयुक्त कदम उठाउने उनको भनाइ छ। 

क्यानका अर्का केन्द्रीय सदस्य सदस्य छुम्बी लामाले बैठकमा बरु कोषाध्यक्ष रोशन सिंहको अध्यक्षतामा अर्को तीन सदस्यीय समिति बनाएर जित/जितको अवस्थामा जाऔं भन्ने प्रस्ताव पनि राखेका थिए। 

‘नेपाली क्रिकेट यही गतिले कहाँ पुग्छ? अहिले भाषा भनेको क्रिकेट नखेल भनेको हो,’ लामाले नेपालखबरसँग भने, ‘हामीले बीचको बाटो राखौं। कारबाही निकास होइन भनेका थियौं। अर्को कमिटी बनाएर विन/विन सिचुएसनमा जाऔं भनेका थियौं। उहाँहरुले कुरै सुनेनन्।’

छुम्बीको प्रस्तावलाई अध्यक्ष चतुरबहादुर चन्दले ठाडै अस्वीकार गरे। अहिले गठन गरिएको पाँच सदस्यीय कमिटी पनि क्यानले नै निर्माण गरेको र यस कमिटीको निर्णयलाई अर्को कमिटी बनाएर काट्न नमिल्ने तर्क उनले राखे। 

अध्यक्ष चन्दले कार्यवाहक सचिव प्रशान्तको प्रस्तावलाई साथ दिए। उनले क्यानभन्दा ठूलो खेलाडी हुन नसक्ने र आफ्नो नेतृत्वको क्यानमा अनुशासन उल्लंघन गर्न नदिने रटान दोहोर्‍याइरहे। उनले प्रतिवेदनमै ज्ञानेन्द्रले जबरजस्ती खेलाडीको हस्ताक्षर गराएको, खेलाडीहरूबीच गुट उपगुट बनाएको, टोली एक बनाउन बताएकाले कारबाही जायज भएकोमा जोड दिएका थिए।
त्यसबीच पनि कारबाही गर्न नहुने पक्षमा रहेका सदस्यले विरोध जनाइरहेका थिए। अन्त्यमा अध्यक्ष चन्दले बैठक पनि लम्बिँदै गएको भन्दै अब आफ्नो कुरा राख्ने भन्दै सबैलाई माइक म्युट गर्न भने। 

त्यसपछि अन्तिममा अध्यक्ष चन्दले प्रश्न राखे, ‘खेलाडीले अहिले गरेको व्यवहारले अनुशासन उल्लंघन गरेको छ कि छैन? गल्ती गरेको हो होइन?’

‘छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदनमा पनि प्रमाणसहित खेलाडीले गल्ती गरेको स्पष्टै भइसकेको थियो,’ एक बोर्ड सदस्यले भने, ‘विरोध गर्नेहरु पनि कारबाही कडा नगरेर मोडलमात्र परिवर्तन गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो। अध्यक्षको प्रश्नपछि सबैजना चुपचाप रहनुभयो। र कारबाहीको प्रक्रिया अघि बढ्यो।’

त्यसपछि बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उप कप्तानबाट हटाएको बोर्डले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गर्‍यो।

क्यानका कार्यसमिति सदस्य दुर्गाराज पाठकले खेलाडीहरुलाई खेल्ने अधिकारबाट वञ्चित नगरिएको तर सिस्टममा चल्नुपर्छ भनेर जिम्मेवारीबोध गराइएको बताए। 

‘खेलाडीलाई खेल्न पाउने अधिकारबाट वञ्चित गरिएको होइन,’ उनले भने, ‘ कारबाही कडा खालको पनि छैन। खेलाडीलाई जिम्मेवारीबोध गराउने खालको हो। ज्ञोनेन्द्र मेरै प्रदेश(बागमती)का खेलाडी हुन्। यस विषयमा मैले धेरैपल्ट फोन गर्ने प्रयास गरे पनि उनले फोन उठाएनन्। वार्तामा पनि नआउने गरेको पाइयो। क्यान आफ्ना असन्तुष्टिहरू पनि उनीहरु लिखितरुपमा नबुझाइ बाहिरबाहिर बोल्दै हिँडेकाले जिम्मेवारी बोध गराइएको मात्रै हो। कसैलाई खेल्न बाटै प्रतिबन्ध लगाइएको होइन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .