ad ad

खेल


विश्वकप खेल्ने महिला टोलीको सपना फेरि पनि अधुरै

विश्वकप खेल्ने महिला टोलीको सपना फेरि पनि अधुरै

लक्ष्मी जि.सी
मंसिर १३, २०७८ सोमबार ८:५२, काठमाडौँ

दशकयता  राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानी गरिरहेकी रुबिना क्षेत्री बेलवासेले आइसीसी टी–ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोट खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) जानु अघि भनेकी थिइन्, ‘व्यक्तिगत जीवनको लागि पनि महत्वपूर्ण प्रतियोगिता हो।’

टोलीमा रहेका केही सिनियर खेलाडीमध्येकी एक रहेकी रुविनाको कुरा सुन्दा व्यक्तिगत जस्तो लागेपछि त्यो उनको पुस्ताकै प्रतिनिधि आवाज थियो। रुबिनाले एकपटक विश्वकप खेल्ने आफ्नो पुस्ताले सपना देखेको पटकपटक बताउने गर्थिन्।
तर, रुबिना र उनको पुस्ताले विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको छ।

विश्वकप त टाढाको कुरा यसपटक टोली विश्वकपको सिँढीको रुपमा रहेको ग्लोबल छनोटसम्म पुग्न असफल रह्यो। यूएईसँगको अन्तिम तथा निर्णायक खेल ४८ रनले गुमाएसँगै नेपाली टोलीको सन् २०२३ मा हुने टी–ट्वान्टी विश्वकप खेल्ने सम्भावना एसिया क्षेत्र छनोटबाटै समाप्त भएको छ। शीर्षस्थानमा रहँदै यूएईले अर्को वर्ष हुने ग्लोबल छनोटमा स्थान बनाएको छ।

त्यसो त नेपालले पहिलोपटक यस्तो मौका गुमाएको भने होइन। नेपाली टोलीले अहिलेसम्म ग्लोबल छनोटमा स्थान बनाउन सकेको छैन। महिला टोलीले विश्वकप खेल्ने सपना देखेको भने धेरै पहिलेदेखि नै हो। क्रिकेट विश्लेषक र समर्थकले पनि पुरुष टोलीले भन्दा महिला टोलीले पहिले विश्वकप खेल्न सम्भावना रहेको बताउँदै आएका थिए। तर, पुरुष टोलीले ७ वर्ष अघि नै टि ट्वान्टी विश्व कप खेलिसक्दा महिला टोली भने त्यसको बाटोमा पनि अघि बढ्न असफल भएको छ।  

विश्वकपसम्मको यात्रा तय गर्न महिला टोलीले पहिला एसिया क्षेत्रको छनोट पार गर्नुपर्ने हुन्छ, जुन नेपालको लागि कठिन परीक्षा बन्दै आएको छ। 

यसपटक नेपाल ग्लोबल छनोटमा पुग्ने धेरैले आशा गरेका थिए। तर, छनोट चरणको पहिलो खेलमा नै कमजोर मानिएको टोली हङकङसँग पराजित हुनु नेपालका लागि निकै महँगो पर्न गयो। पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि टोलीको दुर्भाग्य त्यहीँबाट सुरु भएको थियो।

त्यसपछि नेपालले भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। तर, महत्वपूर्ण अन्तिम खेलमा घरेलु टोली यूएईसँग पराजित भएपछि नेपालको ग्लोबल छनोट पुग्ने सपनामा एकपटक फेरी धक्का लागेको छ।
यसअघि सन् २०१९ मा भएको छनोट प्रतियोगितामा थाइल्याण्डसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अपुरो रहेको थियो।

खेल जीवनको उत्तरार्धमा रहेकी रुबिनाले अब खेल्नका लागि आफूहरुसँग धेरै समय नभएको भन्दै सिनियर खेलाडीले यसलाई मनन गरेर तयारी गरिरहेको सुनाएकी थिइन्। रुबिनासँगै राष्टिय टोलीका उनका पुस्ताका सीता रानामगर, करुणा भण्डारीलगायत सिनियर खेलाडीका लागि यो विश्वकप छनोट खेल्ने अन्तिम प्रतियोगिता हुन सक्ने सम्भावना पनि छ।

महिला टोलीका पूर्व प्रशिक्षक राजु बस्न्यात तयारीमा पर्याप्त ध्यान नदिँदा र प्रतिस्पर्धात्मक टोली नबेका कारण सफलता प्राप्त गर्न नसकेको बताउँछन्। ‘हामीले नै पुरुषभन्दा पहिला महिला टोलीले विश्वकप खेल्छ भन्थ्यौँ। त्यो कुरा सत्य हो, हुनुपर्ने पनि हो’, उनले भने, ‘तर जुन हिसाबले हामीले कुरा गरिरहेका थियौँ, त्यो अनुसारको तयारी र टोली भएन। हचुवाको भरमा तयारी गर्दा हाम्रो खेलाडीको लागि दुर्भाग्य भएको छ।’

बस्न्यात यूएईसँग पराजित भएका कारण मात्र नभई छनोटका लागि तयारीमै चुकेको बताउँछन्। ‘यूएईसँग हामी पहिलो पटक हारेका होइनौं। यसअघि पनि हारेका थियौं’ , उनले थपे, ‘हामी पहिला एसियामा राम्रो टोली थियौँ। सबैभन्दा अघि थियौँ। तर, अघिल्लो छनोटमा हामीभन्दा राम्रो थाइल्याण्ड भयो। अहिले युएई राम्रो भएको छ। यूएईसँग हार्नु संयोग हैन हामीभन्दा बलियो टोली भएकै कारण हारेका हौं।’

टोलीले पर्याप्त तयारी नपाएका कारण ग्लोबल छनोटको नजिक पुगेर पनि बाहिरिनुपरेको बस्न्यातले बताए। ‘राम्रो टोली बनाउने र तयारी गर्ने समय नै कम भएका कारण हारेका हौँ। यो वर्षको विश्वकप खेल्ने यहाँसम्म पुग्ने भन्ने तयारी नै छैन’, उनको गुनासो छ, ‘प्रतियोगिता आउने बेलामा खेलाडी बोलायो। १०/१५ दिन क्याम्प राखेर यस्तो तरिकाले हामीले कहिल्यै विश्वकप खेल्दैनौं।’

हङकङसँगको पहिलो खेलको हारलाई बस्न्यात बिडम्बना मान्छन्। ‘हङकङसँग हामी पराजित हुन नपर्ने हो। हामी र त्यो टोलीसँग खासै फरक छैन’, उनले अगाडि भने, ‘पहिलो खेलमा पराजित हुनु बिडम्बना हो। पहिलो खेलमा पराजित हुँदा हाम्रो लेभल झन् पछाडि धकेलिएका जस्तो देखिएको छ।’

ग्लोबल छनोटसम्म पुग्न नेपाल क्रिकेट संघ (क्यान) ले पहिला योजना बनाउनुपर्ने बस्न्यात सुझाउँछन्। भन्छन्, ‘यो वर्षको विश्वकप खेल्नका लागि यस्तो गछौँ भनेर कम्तीमा १ वर्ष देखि ३ वर्षसम्मको तयारी गर्नुपर्छ।’

‘तयारी गर्दा पनि आफूभन्दा बलियो टोलीसँग अभ्यास म्याच खेल्नुपर्छ। हामी राम्रो टोलीसँग अभ्यास खेल्दैछौँ भनेर नेपालको क्लबभन्दा पनि कमजोर टोलीसँग खेलाएर हुँदैन’, बस्न्यात भन्छन्, ‘देश घुम्ने रहर गरेर मात्र हुँदैन। लामो भिजन बनाएर मात्र अघि बढ्न पर्छ।’ 

अहिलेको सिनियर पुस्ताले देखेको विश्वकप खेल्ने सपना फेरि एकपटक अधुरो रहेको छ। नयाँ पुस्ताले आगामी दिनमा विश्वकप खेल्नुपर्छ भन्ने हो भने क्यानले त्यहीअनुरुपको योजना र तयारी गर्नुको विकल्प छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .