ad ad

खेल


पारसलाई नफर्काउने क्यानको चाहना

पारसलाई नफर्काउने क्यानको चाहना

यज्ञराज जोशी
कात्तिक ४, २०७६ सोमबार ८:१६,

नेपाल क्रिकेट संघ (क्यान)को चाहना राजीनामा दिएका पारस खड्कालाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा पुनः नफर्काउने देखिएको छ।

गत सोमबार(असोज २७) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद (आईसीसी)ले क्यानमाथि साढे ३ वर्षदेखि लगाएको निलम्बन फुकुवा गरेको २४ घण्टा नबित्दै पारसले नेतृत्व छाड्ने घोषणा गरेका थिए।

त्यसको ५ दिनपछि आइतबार बसेको क्यानको पहिलो बैठकको मुख्य एजेन्डा पारसको राजीनामा हुने धेरैको अपेक्षा थियो। तर, अपेक्षाविपरीत गत असोज ११ गते नव–निर्वाचित क्यान कार्यसमितिले पारसको राजीनामालाई खासै महत्व दिएन। विविध शीर्षकमा बैठकको अन्त्यमा उक्त विषयमा छोटो छलफल भएको बैठकमा सहभागी एक सदस्यले बताए।

‘नेपाली क्रिकेटलाई लामो समय सफल नेतृत्व गरेका पारसबारे बैठकमा गम्भीर छलफल हुने ठानेको थिए। तर, राजीनामा बारे अन्त्यमा विविध शीर्षकमा सामान्य छलफलमात्रै भयो,’ ती सदस्यले नेपालखबरसँग भने, ‘पारसले लिखित राजीनामा नदिइसकेकाले उनलाई फर्कन आग्रह गर्न सकिन्थ्यो तर ध्यानाकर्षणमात्रै गरेर क्यानले पारसलाई नफर्काउने चाहना प्रष्ट पारेको छ।’

क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले पारसले लिखित रुपमा राजीनामा नबुझाएकाले बैठकमा सामान्य छलफलमात्रै भएको बताए। उनले भने, ‘पारसको राजिनामाबारे बैठकमा ध्यानाकर्षण भएको छ। राजीनामाको आधिकारिक पत्र क्यानलाई प्राप्त भएको छैन। त्यसबारे आधिकारिक बुझ्ने निर्णय बैठकले गरेको छ।’

क्यान निलम्बनमा रहँदा नेपाली टोलीका सम्पूर्ण कार्यक्रमहरु प्रेश विज्ञप्तिमार्फत सार्वजनिक गरिन्थ्यो। पारसले राजीनामा दिँदा क्यानले आधिकारिकता प्राप्त गरिसकेको थिएन। त्यसैले पहिले जसरी नै मिडिया म्यानेजरमार्फत पारसले प्रेश विज्ञप्ति पठाउँदै राजीनामाको घोषणा गरेका थिए। त्यस लगत्तै उनले सामाजिक सञ्जालमा पनि राजीनामा दिएको उल्लेख गरे।

पारसले त्यसलाई नै आधिकारिक मानेका छन्। उनी भन्छन्, ‘यसअघि जसरी राष्ट्रिय टिमको घोषणा गर्छौँ त्यसरी नै मैले मिडिया म्यानेजरबाट प्रेश विज्ञप्ति जारी गर्दै राजीनामा दिएको हुँ। त्यो मेरो औपचारिक निर्णय हो।’

नवनिर्वाचित क्यान कार्यसमितिको आइतबार बसेको बैठक

बैठकमा सहभागी सदस्यका अनुसार पारसको राजीनामा बारे आधिकारिक बुझ्ने जिम्मा पनि सचिव प्याकु¥याल नै दिइएको छ। तर, प्याकु¥यालले भने बैठकले व्यक्ति नै तोकेर आफूलाई नै पारसको राजीनामाबारे बुझ्ने जिम्मेवारी नतोकेका बताउँछन्।

‘बैठकले पारसको राजीनामाबारे ध्यानाकर्षण ग¥यो। सत्यतथ्य बुझेर कारबाही अघि बढाउने कुरा गरेको हो,’ उनले भने, ‘एउटा पर्टिकुलर मान्छेलाई त्यसको जिम्मा दिएको भन्ने छैन। हाम्रो संयन्त्रका जोसुकैले पनि त्यो काम गर्न सक्छन्।’

उनले राजीनामाबारे सत्यतथ्य जानकारी गराइदेउ भनेर लिखित रुपमा पारसको धारणा क्यानले माग्ने बताए। त्यसका लागि दुई तीन दिनको समय लाग्ने उनको भनाई छ।

अधिकांशले पारसलाई पुनः नेतृत्वमा फर्काउनु पर्ने चाहना राखिरहँदा आधिकारिक निकाय क्यानको बोर्ड बैठकले भने पारसलाई फर्काउने विषयमा पनि केही बोलेन। व्यक्तिगत रुपमा पनि नेपाली क्रिकेट राजनीतिका प्रभावशाली नेता प्याकु¥यालले पारसको राजीनामा बारेमा केही प्रतिक्रिया दिन मानेनन्।

‘बोर्डमा फर्काउने विषयमा केही कुरा भएन। सत्यतथ्य बुझ्ने कुरोमात्रै भएको छ,’ उनले भने, ‘मेरो त्यसमा केही कमेन्ट छैन। उहाँ (पारस)ले किन दिएको हो? के हो नबुझेसम्म मेरो त्यसमा व्यक्तिगत रुपमा केही कमेन्ट छैन।’

पारसको पनि नफर्कने चाहना

paras main 2
पछिल्लो समय विभिन्न भूमिकामा रही काम गरेकाले केही समय विश्राम चाहेको पारसले बताएका छन्। उनले राजीनामा पछि राहात महसुस गरेको भन्दै कप्तानीमा पुनः नदोहोरिने बताउँदै आएका छन्।

खेलाडी, कप्तान, छनोटकर्ता, व्यवस्थापक, मेन्टर, समन्वयको भूमिकामा पारसले पछिल्लो समय नेपाली क्रिकेटमा निभाइरहेका थिए। राजीनामा दिएपछि ती सबैबाट राहात पाएको र खेलाडीका रुपमा मात्रै आगामी दिनमा खेल्ने पारसको प्रतिक्रिया छ।

‘खेलाडी, कप्तान, छनोटकर्ताका रुपमा धेरै कामहरु गरे। आईसीसी, क्यानसँग समन्वयन गरे, अन द फिल्ड र अफ द फिल्डको व्यवस्थापन गर्नुपर्यो। राजीनामा पछि केही राहात महसुस गरिरहेको छु,’ उनले भने, ‘नेपाली क्रिकेट भनेको पारसमात्रै हैन। अब यी सबै कुराको जिम्मेवारी अरुले पनि लिनुपर्यो। मैले सोचविचार गरेर राजीनामाको निर्णय गरेको हुँ। अब फर्कन्न।’

राजीनामा पछि उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पनि कप्तानीमा नफर्कने निर्णय सुनाइसकेका छन्। पारसले पटक–पटक यही कुरा दोहोर्याएपछि आइतबारको क्यान बैठकका अधिकांश सदस्यले राजीनामाको कुरा उनले लिखित रुपमा राखुन भन्ने चाहका छन्। उनले नै नफर्कने जनाईसकेपछि क्यानले उनको विकल्प खोज्नुपर्ने बैठकमा सहभागी क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले बताए।

‘अध्यक्षज्यू र अन्य साथीहरुसँग पनि कुरा गर्दा पारसले नफर्कने कुरो नै दोहोर्याइरहेका छन्,’ पाठकले भने, ‘बुझे अनुसार पारसले पनि पत्र कहाँ पठाउने? के पठाउने भन्ने बुझिरहेका छन। उसले आज–भोलि नै पत्र पठाउने कुरो भएको छ। कसलाई छोडेर र कसैलाई लगेर हिड्ने हाम्रो चाहना हैन। तर उसले जर्बजस्ती खेल्दै खेल्दिन, अब म राजीनामा दिन्छु भनेपछि त्यसको विकल्पमा केही न केही त चाहियो। भोलि एमसीसीको टिम आउँदैछ। सेलेक्सन गर्दा कप्तान चाहिन्छ।’

पारसले आफू नफर्केपछि अबको कप्तानका रुपमा ज्ञानेद्र मल्ल उपर्युक्त विकल्प हुनसक्ने सुझाब समेत दिए। ‘मेरो विचारमा अबको उत्कृष्ट विकल्प भनेको ज्ञानेन्द्र मल्ल हो। पारस दश वर्ष कप्तान हुँदा ज्ञानेन्द्र त्यति नै वर्ष उपकप्तान हो,’ उनले भने, ‘टोलीमा अनुभवी र सबैभन्दा सम्मानित खेलाडी पनि ज्ञानेन्द्र हो। तर, अन्ततः निर्णय क्यानले नै गर्ने हो।’

यो पनि: आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा

यो पनि: कप्तानीका लागि म तयार भएर बस्नुपर्छ भन्ने लाग्दैनः ज्ञानेन्द्र मल्ल(अन्तर्वार्ता)

 यो पनि: सपना पूरा भएको दिन

यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार

यो पनि: छायाँमा परेको एउटा प्रदर्शन

यो पनि: पारसले ट्विस्ट देलान्?

यो पनि: सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा

यो पनि: च्याम्पियन श्यान्टुले खोजेको एक माैका

यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ

यो पनि- क्यान विवाद सुल्झाउन पर्दा पछाडि खटेका राजेश्वर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .