कप्तान केन विलियम्सनले विश्वकपमा एउटा उत्कृष्ट इनिङ खेलेपछि दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले बुधबार राति जित हात पारेको छ।
अन्तिम ओभरमा ८ रन बाँकी भएका बेला विलियम्सनले दोस्रो बलमा छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरेका थिए। लगत्तै अर्को बलमा चौका प्रहार गर्दै उनले ३ बल बाँकी रहँदै २४२ रनको लक्ष्य पूरा गराए।
विलियम्सनले १ सय ३८ बलमा ९ चौका र १ छक्कासहित १०३ रन बनाए। यस्तै कोलिन डी ग्राण्डहोमे ६० रन, मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो।
उसका भान डेर डुसनले अविजित रहदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए।
जितसँगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ। दक्षिण अफ्रिकाको यो चौथो हार हो। ६ खेल खेलेको दक्षिण अफ्रिकाको ३ अंक रहेको छ।

प्रतिक्रिया